arrow

बाँकेमा ६७ लैङ्गिक हिंसा घटना दर्ता

logo
रासस,
प्रकाशित २०७७ जेठ १७ शनिबार
woman-voilance-1.png

नेपालगञ्ज। कोरोना भाइरस सङ्क्रमणको अवधिमा बाँकेमा महिलामाथिको लैंगिक हिंसा रोक्न सरोकार पक्षसँग आवश्यक समन्वय, संवाद र सहजीकरणको प्रक्रिया अघि बढाइएको छ। जिल्लामा घरेलु हिंसा, जबर्जस्ती करणी, यौन दुव्र्यवहारलगायत घटना वृद्धि भएपछि संवाद समूह, बाँकेले भर्चुअल (अनलाइन) छलफलमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउनाका साथै घटना न्यूनीकरण र न्यायका लागि यस्तो पहल गरेको हो।

जिल्ला प्रहरी कार्यालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्जका अनुसार गत चैत ११ देखि  मसान्तसम्म १७, वैशाखमा ३६ र जेठ १५ गतेसम्म १४ लैङ्गिक हिंसाका घटना दर्ता भएका छन्। बन्दाबन्दी अवधिमा सबैभन्दा बढी घरेलु हिंसाका घटना दर्ता भएका छन्। यसबाहेक जिल्ला प्रहरी कार्यालयमा महिलामाथि गाली बेइज्जती, कुटपिट र बेपत्ताका घटना पनि दर्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, अधिकारकर्मीलगायतको सहभागिता रहेको भर्चुअल छलफलमा महिला हिंसाका घटना, स्वरुप तथा प्रवृत्ति र नियन्त्रणका लागि भएका साझा प्रयासका विषयवस्तुमाथि संवाद गरिएको थियो। समूहका जिल्ला सहजकर्ता शुक्रऋषि चौलागाईँद्वारा सहजीकरण गरिएको संवादमा सहभागीले कोरोना सङ्क्रमणका समयमा सरकारका मौजुदा संयन्त्रले सहज र प्रभावकारी काम गर्न नसक्ने जिकिर गर्दै नयाँ संयन्त्रमार्फत न्याय सम्पादन गर्नुपर्नेमा जोड दिएका थिए।

बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर ओलीले कोरोना सङ्क्रमणको सन्त्रास र लकडाउन अवधिमा लैङ्गिक हिंसाका घटनामा कमी नआएको बताउँदै बन्दाबन्दी लागू भएदेखि हालसम्म जिल्ला प्रहरी कार्यालयमा ६७ लैङ्गिक र महिला हिंसासँग सम्बन्धित घटना दर्ता भएको जानकारी दिए।

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, अधिकारकर्मी कमला पन्त, प्रल्हादबहादुर कार्कीलगायतले प्रहरीको एकल प्रयासले मात्र महिलामाथिको हिंसा रोक्न नसकिने भएकाले सबै पक्षको सहकार्यमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ