पहिले मृत्यु त्यसपछि कोरोना भएको रिपोर्ट, नागरिकको स्वास्थ्यमा गम्भिर लापरबाही
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १८ आइतबार
567
Shares
काठमाडौं। नागरिकको स्वास्थ्यमा सरकारले गम्भिर लापरबाही गरेको कोरोना संक्रमित व्यक्तिको मृत्युले देखाएको छ। निधन अघि आफ्नो स्वास्थ्य परिक्षणको रिपोर्ट थाहा पाउनु पर्ने विरामी र विरामीका परिवारका सदस्यहरूको अधिकारमा सरकारले गम्भिर खेलवाड गरेको आरोप लागेको छ। पहिला कोरोना संक्रमित विरामीको मृत्यु र त्यसपछि रिपोर्ट दिइएका घटनाले सरकारको लापरवाही र निकम्मा उजागर गरेको छ।
कोरोनाबाट निधन भएका ८ नेपाली नागरिक मध्ये ७ नागरिकको रिर्पोट मृत्य पछि मात्र आएको छ । पछिल्लो पटक जीवन गुमाएकी बाजुराको २ बर्षिया बालिकाको पनि आइतवार विहान निधन भयो अपरान्ह मात्र उनको कोरोना भएको पुष्टी भयो। यो भनेको स्वास्थ्यमा गम्भिर खेलवाड हो–विज्ञहरू भन्छन । निधन अघि आफ्नो स्वास्थ्य रिपोर्टबारे जानकारी पाउने नागरिकको नैसर्गिक अधिकार पनि हो । तर सरकारले कोभिढ १९को उपचारमा आवश्यक पिसिआर मेशीन, चाहिने जति जनशक्ति, पर्याप्त किट तथा स्वास्थ्य सामाग्री लगायतको व्यवस्थापन गर्न नसक्दा स्वाब परिक्षण गरेको एक हप्तासम्म पनि रिपोर्ट हेर्न पर्खनु परेको घटना देखिएको छ। पर्सामा त विरामीको निधन भइ अन्तिम संस्कार सकिएको एक हप्ता पछि मात्र रिपोर्ट आयो।
सरकारले लकडाउन लगाएको दुई महिना पूरा भएको छ। विश्वमा कोराना संक्रमण देखिएको ४ महिना पूरा भएको छ । यस अवधिमा सरकारको तयारी अत्यन्त ढिलो छ । जसबाट सरकार आफ्ना नागरिकको स्वास्थ्य सुरक्षामा चुक्दै गएको छ ।
स्रोतको भनाइ छ, टेकुस्थित केन्द्रीय प्रयोगशालामा आइतारसम्म करिब २ हजार ५ सय स्वाब परिक्षणकोलागि लाइनमा छन् । एक लट परिक्षण गर्न ७ देखि ८ घण्टा लाग्छ । एक लटमा ९६ स्बाब परिक्षण हुने गर्छ । देशभर २० ठाउँमा स्वाब परिक्षणकोलागि पिसिआर मेशीन जडान भएका छन तर पनि हाल १८ ठाउँमा मात्र स्वाब परिक्षण हुन्छ।
जेठ १७ गते कोरोनाबाट निधन भएका दैलेखका ३५ वर्षीय युवकको स्वाब परिक्षणको रिपोर्ट निधन पछि मात्र आयो । ती युवकको स्वाब १५ गते निकालिएको थियो रिर्पोट निधन पछि मात्र आयो । स्रोत भन्छ, निधन भइसके पछि हतार हतारमा फास्ट ट्रयाकमा स्वाबको रिपोर्ट बनाइएको थियो । गुल्मी मदानेका ४५ वर्षीय युवकको रिपोर्ट मात्र निधन अघि आएको थियो । उनी मात्र एक्ला व्यक्ति हुन, जसले निधन अघि आफूले रिपोर्ट थाहा पाए ।
कोरोनाबाट पहिलो निधन भएकी सिन्धुपाल्चोक बाह्रविसे–२ की २९ वर्षीय महिलाको रिपोर्ट पनि निधन पछि मात्र आएको थियो । केही दिन अघि ललितपुरमा निधन भएकी अर्की एक महिलाको रिपोर्ट पनि निधन भएको ३ दिन पछि आएको थियो । ललितपुरको सुविधा सम्पन्न भनिएको एक अस्पतालमा उनी भर्ना भएकी थिइन ।
नेपालगञ्जको क्वारेन्टाइन र वीरगञ्जमा निधन भएका दुइ नागरिकको रिपोर्ट पनि निधन पछि आएको छ । नेपालगञ्जमा त यतीसम्म लापरबाही गरियो कि, क्वारेन्टाइनमा बस्दा उनको सामान्य उपचार समेत गरिएन । जेठ १७ गते दैलेखमा निधन भएका युवक निधन हुन अघि अचेत भएका थिए । उनी ४ घण्टासम्म अचेत हुँदा पनि स्वास्थ्यकर्मी पुगेका थिएनन । जब कि क्वारेन्टाइन निर्देशिकमा १ सय जनासम्म व्यक्ति राखिएका क्वारेन्टाइनमा फोन गर्दा तुरुन्त उपलब्ध हुने गरी एक जना डाक्टरको व्यवस्था हुनुपर्ने ,क्वारेन्टाइनमा एक जना नर्स र एक जना अहेव या एचए चौविसै घण्टा बस्नु पर्ने व्यवस्था गरिएको छ । प्राय सबै क्वारेन्टाइनमा सरकारले बनाएको नियम पालना गरिएको छैन ।
कोरोना रिपोर्ट ढिलो आउनुको मुख्य कारण भनेको नागरिकको स्वास्थ्यप्रति राज्य गम्भिर नहुनु नै मुख्य कारण मान्छन स्वयं स्वास्थ्यकर्मीहरु । स्वास्थ्य सामग्री तथा जनशक्तिको व्यवस्थापन समयमा गर्न नसक्नु अर्को कारण हो । ‘स्वाब परिक्षण गर्न ४ दिन लाइनमा बस्नु पर्छ भने ४ दिन पछि स्वाब निकाल्दा हुन्छ नि, नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे भन्छन, कोरनाको रिपोर्ट ढिलो आउनुमा प्रमुख कारण पिसिआर मेशीन र किटको अभाव तथा जनशक्तिको अभाव नै हो ।’
निधन अघि नै कोरोनाको रिपोर्ट उपलब्ध गराउनु पर्ने उनको सुझाव छ । उनी भन्छन,‘मानवीय नाताले पनि निधन अघि रिपोर्ट आउनु पर्छ ।’
'सरकारले आफै स्वास्थ्य समाग्री खरिद गर्न नसकी सेनालाई जिम्मेवारी दिएको छ । समयमा स्वास्थ्य सामग्री पुर्याउन नसक्दा कोरोनाको विरामीहरू सामान्य उपचार समेत नपाइ थला पर्नुपर्ने स्थिति नआओस ’अर्का एक स्वास्थ्यकर्मी सुझाव दिन्छन् ।
सरकारले कोरोनाको रोकथाम र नियन्त्रणकोलागि लकडाउनलाई एक मात्र बिकल्पको रुपमा प्रयोग गरिरहेको छ । कोरोनाको परिक्षणलाई फराकिलो बनाउँदै लैजानु पर्नेमा सरकारले परिक्षणको दायरा बढाउन सकेको छैन । सरकारले एकातिर परिक्षणको दायरा बढाउन सकेको छैन भने अर्कोतिर परिक्षणलागि निकालिएका स्वाबको रिपोर्ट पनि ढिलो दिने गरेको छ,यसबाट कोरोनाको जोखिम नियन्त्रण र रोकथामकालागि सरकार असफल भइरहेको संकेत हो—विज्ञहरू भन्छन् ।