स्याङ्जा र पर्वतका दश जनामा कोरोना पुष्टि

प्रकाशित मिति : २०७७ जेठ २० मंगलबार

स्याङ्जा । गण्डकी प्रदेशमा कोभिड–१९ का संक्रमितको सङ्ख्या ३७ पुगेको छ ।  पछिल्लोपटक मंगलबार  स्याङ्जाको चापाकोट नगरपालिका ठेगाना भइ सोही नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका वर्ष २२, २६, ३२ र ४० का पुरुष र बिरुवा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष २० का एक पुरुष गरी थप पाँच जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

त्यसैगरी पर्वतको फलेवास घर भइ कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष २० र ४० का  दुई पुरुष र महाशीला गाउँपालिका वर्ष १९, २० र २१ का तीन पुरुष गरी पाँच जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । नयाँ पुष्टि भएका सबै जनालाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको उनले बताए।

 हालसम्म स्याङ्जामा १२, बाग्लुङमा आठ, नवलपरासीमा नौ, पर्वतमा पाँच, तनहुँ, लमजुङ तथा म्याग्दीमा एक–एक गरी कूल ३७ जना संक्रमित छन् । हालसम्म तीन जना उपचार गराएर निको भएपछि घर फर्किएका र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा हालसम्म तीन हजार ७०१ जनाको पिसीआर परीक्षणका लागि नमूना सङ्कलन गरिएकामा तीन हजार ३०१ मा संक्रमण देखिएको छैन । परीक्षणका लागि नमूना लिइएकामध्ये ३६३ जनाको नतिजा आउन बाँकी रहेको बताइन्छ । 

नयाँ