arrow

कोरोना : मृतकका परिवारले एक लाख पाउने

logo
प्रकाशित २०७७ जेठ २० मंगलबार
woman-dead-body.jpg

बुटवल । प्रदेश नं ५ सरकारले प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु भएमा मृत्यु हुनेको परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले  कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट मृतकका परिवारलाई रु एक लाख उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

बैठकले बाँकेमा र दाङमा शववाहन खरिद गर्न नेपालगञ्ज उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकालाई रु १५–१५ लाख अनुदान उपलब्ध गराउने र ती शववाहन दुवै उपमहानगरपालिका मातहत रहने व्यवस्था गरिएको छ । ती शव वाहनले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष अस्पताल र दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा कोरोना संक्रमित बिरामीको मृत्यु भएमा शवको व्यवस्थापन गर्ने जिम्मेवारी तोकिएको छ ।

बैठकले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष (स्थापना र सञ्चालन) निर्देशिका पहिलो संशोधन २०७७ लाई स्वीकृत गर्ने निर्णय गरेको छ । संशोधित निर्देशिकामा कोरोना नियन्त्रण कार्यमा परिचालन हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको जनशक्तिको सेवासुविधाको व्यवस्था गर्नेसमेत निर्णय गरेको उनले जानकारी दिए ।

संशोधित निर्देशिकामा कोरोना भाइरसको परीक्षणका लागि प्रयोगशाला स्थापना तथा सञ्चालनमा लाग्ने आवश्यक उपकरण, औषधि, सामग्री, स्वाब सङ्कलन तथा सञ्चालनमा आवश्यक खर्चका लागि बजेट व्यवस्थापन, कोरोना उपचारका लागि आइसोलेशन केन्द्रमा रहने लक्षण नदेखिएका संक्रमित व्यक्ति, उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई खाना खर्चको व्यवस्था गरिएको प्रवक्ता चौधरीले जानकारी दिए ।

यस्तै बैठकले लैङ्गिक सम्पर्क विन्दु व्यवस्थापन र परिचालन कार्यविधि २०७७ र प्रदेश बाल क्लब सञ्जाल गठन तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७७ समेत पारित गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ