arrow

कांग्रेसको ‘सबै समस्याको समाधान लोकतान्त्रिक मार्गबाट’ कार्यक्रम

logo
प्रकाशित २०७७ जेठ २१ बुधबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गणतन्त्र दिवसका अवसरमा ‘सबै समस्याको समाधान लोकतन्त्रकै मार्गबाट’ विषयक कार्यक्रम सातै प्रदेशमा सम्पन्न गरेको छ । यही जेठ १५ गते केन्द्रमा उद्घाटन गरी आरम्भ गरिएको कार्यक्रम १६ गते गण्डकी प्रदेश र प्रदेश नं १ मा, १७ गते वागमती प्रदेश, १८ गते प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश, जेठ १९ गते कर्णाली र प्रदेश नं ५ मा जुम प्रविधिमार्फत सम्पन्न भएको प्रतिष्ठानले जनाएको छ । केन्द्र र प्रदेशमा गरी कार्यक्रममा करिब ६०० को सहभागिता थियो ।

प्रदेशहरुमा सहभागी पार्टीका सम्बन्धित जिल्ला सभापति, उपसभापति, शुभेच्छुक संस्थाका सदस्य तथा जनसम्पर्क समितिका सदस्य, केन्द्रीय समितिका सदस्य, प्रतिष्ठानका सदस्यले लोकतन्त्रविरुद्ध उदाउन लागेको अधिनायकवादविरुद्ध सशक्तरूपमा विचार बहस गर्दै जनसमक्ष पुग्नुपर्ने विचार प्रस्तुत गरेका प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा पुरुषोत्तम दाहालले जानकारी दिए ।

कार्यक्रममा भूअखण्डता र सार्वभौमिक एकतालाई सबल बनाउन दक्षिण र उत्तरतिरका छिमेकीहरुसँगको सीमा समस्याको समाधान हुनुपर्ने, सीमाको अतिक्रमण रोक्नुपर्ने, शान्तिपूर्ण तरिकाले उच्च राजनीतिक तथा कूटनीतिक पहल हुनुपर्ने विषयमा बहस केन्द्रित भएको थियो । यसैगरी सहभागीले लोकतन्त्र, स्वतन्त्रता, समानताका मूल्यका पक्षमा सक्रिय हुनुपर्ने, सङ्घीयताको कार्यान्वयनबारे सचेत रहनुपर्नेलगायत विषयमा आफ्ना धारणा व्यक्त गरेको उनले बताए ।

कोरोना सङ्क्रमण फैलिँदै गएको अवस्थामा सरकारले विभिन्न देशबाट स्वदेश फर्कनेका लागि उचित सहयोग र राहतको प्रभावकारी व्यवस्था, खाद्यान्न र अन्य आवश्यक सामानको आपूर्तिमा अव्यवस्था, लकडाउन नै उपचार विधि बनाउने तर तत्काल कृषि उत्पादनमा हुनसक्ने समस्या, शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग, व्यापार व्यवसायमा आउने समस्याबारे सबै दल र नागरिक समाजले समेत विचार गर्नुपर्ने विषयमा बहस भएको थियो । रुकुमको चौरजहारीमा भएको हत्याको घटनाका दोषीलाई कारवाही र पीडितलाई न्याय प्रदान गर्न सामूहिकरूपमा आवाज बुलन्द गर्नुपर्ने विषयमा समेत बहस भएको थियो । 

सबै प्रदेशहरुमा काँग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख उपसभापति विमलेन्द्र निधिले सम्बोधन गरेका थिए भने बाग्मती प्रदेशमा शिक्षाविद् एवं त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, प्रदेश नं २ मा केन्द्रीय सदस्य एवं समाजवादी विचारक प्रदीप गिरीले विशेष मन्तव्य प्रकट गरेका थिए । 

प्रविधिको उपयोगबारे सेन्टर फर डेमोक्रेटिक इञ्जीनियर्स नेपालका पूर्वमहासचिव ई दीपेश विष्टले सहजीकरणसहित विशेष जानकारी गराएका थिए भने सञ्चारमा लोकतन्त्रवादीको भूमिका सन्दर्भमा पत्रकार रामजी दाहालको प्रस्तुति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ