arrow

मापदण्ड विपरीतका कीट : नेगेटिभ नतिजा आएका युवाको ओछ्यानमै मृत्यु, समुदायमा त्रास

logo
प्रकाश अधिकारी,
प्रकाशित २०७७ जेठ २३ शुक्रबार
dead2.jpg

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–९ अलायाचौरका २६ वर्षीय, धरमपुर टोलका ४० वर्षीय र अर्का १४ वर्षीय पुरुषमा मङ्गलबार कोरोना पुष्टि भयो । कोरोना पोजेटिभ देखिएपछि बुधबार बिहान उनहरुलाई आइसोलेसनमा ल्याउन प्रदेश अस्पताल र नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले घरमै पुग्यो । 

भारतबाट यही जेठ ६ गते सुर्खेत आइपुगेका उनहरू वीरेन्द्रनगरको जन नमूना माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । जेठ १५ गते पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो तर नगरपालिकाले नतिजा नआउँदै घर पठाइदियो । घरमा गएर समुदायसँग घुलमिल भएका उनहरुको कोरोना पोजेटिभको नतिजा आएपछि अहिले ती टोलका बासिन्दा त्रासमा छन् । 

नगरपालिकाले क्वारेन्टाइन अवधि पूरा नहुँदै पठाएका ११ मध्ये तीन जनामा कोरोना पोजेटिभ देखियो । स्थानीय बखत शाहीले क्वारेन्टाइन बसेकालाई पिसिआर नतिजा नआउँदै घर पठाउनु नगरपालिकाको गम्भीर लापर्बाही भएको बताए । “यो ठूलो लापर्बाही हो, यसले संक्रमण समुदायमा फैलिन खतरा देखिएको छ”, उनले भने, “कम्तीमा स्वाब परीक्षणका लागि पठाइसकेपछि रिपोर्ट नआउञ्जेल क्वारेन्टाइनमै राख्नुुपथ्र्यो ।” 

स्थानीय तहले क्वारेन्टाइन व्यवस्थापन गर्न झन्झटले र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) परीक्षण गर्दै घर पठाउने गरेका छन् । जसलाई कोरोना परीक्षणमा भरपर्दो मानिँदैन । पिसिआर परीक्षणबिनै घर पठाउँदा समुदायस्तरमा संक्रमण फैलिने चिन्ता गरिएको छ । वीरेन्द्रनगरका व्यवसायी विशाल ढकालले भने, “कम्तीमा १४ दिन क्वारेन्टाइनमा राख्नुपथ्र्यो, स्थानीय तह पन्छिएको पाइयो, ख्यालख्यालमै कोरोना समुदायमा पुगिसक्यो ।” 

संक्रमितले रिपोर्ट नआउँदासम्म घर नजाने भने पनि नगरपालिकाले पठाइदिएको बताएका छन् तर नगरपालिकाको स्वास्थ्य शाखाले क्वारेन्टाइन अवधि पूरा भएपछि मात्रै होम क्वारेन्टाइन बस्ने शर्तमा घर पठाएको जिकिर गरेको छ । “वडाध्यक्षको समन्वयमा होम क्वारेन्टाइनमा बस्ने गरी पठाएका हौँ”, स्वास्थ्य शाखा प्रमुख भूपेन्द्रदेव गिरीले भने, “पिसिआर जाँच गर्ने मेशिनसमेत बिग्रिएकाले रिपोर्ट ढिला आयो ।” 

पिसिआर परीक्षण नगरी घर पठाउने प्रदेश राजधानी रहेको सो नगरपालिका मात्र एक्लो छैन । कर्णालीका अधिकांश स्थानीय तहले क्वारेन्टाइन व्यवस्थापन गर्न नसक्दा आरडिटी परीक्षण गर्दै नेगेटिभ नतिजा आएकालाई धमाधम घर पठाउँदै आएका छन् । दैलेखको भैरवी गाउँपालिकाले पनि आफैँ आरडिटी कीट खरिद गरेर परीक्षण गर्‍यो । यतिबेला अधिकांश स्थानीय तह मापदण्डविपरीतका कीट किन्दै धमाधम परीक्षण गर्न थालेका छन् ।

बुधबार पश्चिम सुर्खेतको विद्यापुर क्वारेन्टाइनमा आरडिटी नेगेटिभ नतिजा आएका पञ्चपुरी नगरपालिका–१ का २० वर्षीय युवाको बिहीबार बिहान ओछ्यानमै मृत्यु भयो । मृत्युपश्चात् उनको स्वाबको पिसिआर परीक्षण गरिँदा कोरोना पोजेटिभ देखियो । पिसिआर परीक्षण नगरेरै क्वारेन्टाइनमा रहेका उनलाई  आरडिटी परीक्षणका भरमा घर पठाउँदा मृत्यु भएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । पछिल्ला घटनाले पिसिआर परीक्षणपछि मात्र घर पठाउन दबाब परेको छ । 

कोरोनाको केन्द्र बनेको दैलेखको नारायण नगरपालिकाले पनि आरडिटी परीक्षणकै भरमा क्वारेन्टाइन अवधि पूरा नभएकालाई घर पठाउने गरेको छ । पिसिआर परीक्षणको नतिजामा अहिले तीमध्ये कतिपयमा कोरोना पोजेटिभ देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार उक्त नगरमा १९४ जनामा कोरोना पोजेटिभ देखिएको छ भने बिहीबारमात्रै १०८ जनामा संक्रमण देखियो । नगर प्रमुख रत्नबहादुर खड्काले जिल्ला विपद् व्यवस्थापन समितिबाट प्राप्त भएको निर्देशनअनुसार होम क्वारेन्टाइनमा बस्ने शर्तमा घर पठाइएको बताए । सोमबारसम्म एक हजार ४२० क्वारेन्टाइनमा रहेकामा पछिल्ला तीन दिनयता ४०० जना बढीलाई घर पठाइएको छ । 

नगरपालिकाले एउटा प्रतिबद्धता पत्रमा हस्ताक्षर पनि गराउने गरेको छ । जसमा लेखिएको छ, “म होम क्वारेन्टाइनको मापदण्ड पूरा गरेर घरमा सुरक्षित बस्नेछु, निश्चित अवधिभर पूरा नहुँदासम्म कसैसँग पनि भेटघाट र घुमफिर गर्नेछैन ।” आरडिटी पोजेटिभलाई मात्र क्वारेन्टाइनमा राखी पिसिआर जाँच गर्ने र पोजेटिभ देखिएकालाई आइसोलेसनमा राख्नु हाम्रो बाध्यता भएको नगर प्रमुख खड्काको भनाइ छ । उनले भने, “क्वारेन्टाइनको क्षमताभन्दा दोब्बर सङ्ख्यामा नागरिक गाउँ फर्किएपछि व्यवस्थापन गर्न समस्या भयो ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ