arrow

रुपन्देही हत्या प्रकरणः आफन्तद्वारा क्षतिपुर्ति नभएसम्म शव नवुझ्ने अडान, घटना रहस्यमय भएको भन्दै छानविन चुस्त वनाउन माग

logo
नारायण वली,
प्रकाशित २०७७ जेठ २८ बुधबार
rupandehi-murder.jpg

रुपन्देही । रुपन्देहीमा सोमवार (राती) एक पशु फर्ममा विभत्स सामुहिक हत्या भयो । पाँच जनाको ज्यान जाने गरी भएको घटना निकै कारुनिक तवरमा घटेपनि घटनाको घट्नुको ठोस कारण भने अझैसम्म खुल्न सकेको छैन् । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न–१० मैनहवा स्थित गंगा पशुपंक्षी फार्ममा कार्यरत कामदार ३ जना र अन्य २ जना फार्ममा कार्यरत नभएका व्यक्ति गरी ५ जनाको सामुहिक हत्या भएको अवस्थामा मंगलवार (हिजो) विहान फार्मका सञ्चालकले देखेपछि प्रहरीलाई खवर गरेको र तत्काल घटना स्थल पुगेको प्रहरीले सोही फार्मका कार्यरत अर्का एकजनालाई लुकेर वसेको अवस्थामा नियन्त्रण लिएको थियो ।

नियन्त्रण लिने क्रममा उनी वेहोस अवस्थामा फेला परेको उक्त फार्मका सञ्चालक कृष्ण वहादुर पुनले वताए । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको लकडाउनमा सामुहिक हत्या घटना घट्नु सामान्य कुरा नभएको वताउँदै, मृतकका आफन्तहरुले घटनास्थलबाट प्रहरीलाई शव उठाउन दिएका थिएनन् ।

उनीहरुले फार्ममा यसरी भएको विभत्स घटनाको सत्यतथ्य छानविन तथा अभियुक्तलाई हत्यारा घोषणा गरी कानुनी कारवाही गर्न माग राख्दै, एम्वुलेन्सलाई रोकेका थिए । तर सोही क्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख लगायतको टोलीले मृतका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्ने आश्वासन दिएपछि घटना स्थलबाट शव उठेपनि  मंगलवार (हिजो) मृतकका आफन्तहरुले क्षतिपुर्ति नभएसम्म कुनैपनि हालतमा शव नवुझ्ने अडान लिएका छन् । साथै मृतक आशिष चौधरीका वुवालाई चौधरीले भने, आफ्नो छोरा लगायतको हत्या गर्नेलाई कारवाही र क्षतिपुर्ति नपाएसम्म शव नवुझ्ने वताए ।
 
जसका कारण हत्या गरिएकाहरुको पोष्टमार्टम हुन सकेको छैन् । क्षतिपूर्तिको माग गर्दै पिडित पक्षले पोष्टमार्टम गर्नका लागि स्वीकृति नदिएपछि विभत्स रुपमा सामुहिक हत्या गरिएका ५ जनाको शवलाई बुटवल स्थित लुम्विनी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।

प्रारम्भिक रुपमा मंगलवार प्रहरीले नियन्त्रणमा लिएको सोही फार्ममा करिव डेढ महिना देखि कार्यरत सुर्खेतको लेकवेशी नगरपालिका वडा न–५ नेटा स्थायी घर भई हाल मैनहवामा बस्दै आएका ३२ वर्षिय झसेन्द्र बहादुर सिंजालीले घटना आफुले घटाएको भनी वताए पनि तर के कारणले घटाईएको हो भन्ने वारे अझै खुल्न नसकेको र अनुसन्धान भैरहेको रुपन्देही प्रहरी प्रमुख एंव प्रहरी उपरिक्षक हेम कुमार थापाले जनाएका छन् ।

छानविनका लागि तीन सदस्यीय समिति गठन  गरेको छ ।  प्रदेश नं. ५ प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरिक्षक (एसएसपी) राज कुमार बैदवारको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । समितिले मंगलवारबाट नै अनुसन्धान थालेको छ ।

यो पनि पढ्नुस् :

रुपन्देहीको तिलोत्तमा–१० मैनहवास्थित गंगादेवी पशु कृषि फार्मका सञ्चालक कृष्णबहादुर पुन हरेक बिहान ५ बजे फर्ममा आइपुग्दा मूल गेट खुला हुन्थ्यो । बत्ती बलेको हुन्थ्यो । कामदारहरु उठेर काम शुरु गरिरहेका हुन्थे तर आज बिहान  फार्ममा पुग्दा त्यहाँ सुनसान थियो । गेट खुलेको थिएन न त बत्ती नै बलेको थियो । 

कृष्णबहादुरले जानकी मुसहरलाई चिच्याएर बोलाए तर उनी उठिनन् । गेटसँगै जोडिएको टहरोमा सुतिरहेका जानकीका कान्छो छोरा १० वर्षीय अर्जुन मुसहर उठे । कृष्णबहादुरले सुतिरहेका सबैलाई उठाउन बालक अर्जुनलाई अह्राए । गर्मीका कारण बालकका बुवाआमा पाँच जना गेटदेखि ५० मिटर पर फर्मभित्रै सुतेका थिए । बालक अर्जुनले आँखा मिच्दै फर्मभित्रै पुगेर पापा–मम्मी र अंकलहरुलाई पालैपालो बोलाए तर कोही उठेनन् । रगत लत्पतिएको देखेपछि उनले कृष्णबहादुरलाई खबर गरे । 

कृष्णबहादुर गेट नाघेर दौडिँदै आउँदा जानकी र माधव मुसहरसहित सँगै सुतेका पोषराज मुसहर,  करण चौधरी र आशिष चौधरी पनि रगताम्य भएर ढलेका थिए । “भुइँ रगताम्य थियो, सबै अचेत थिए, म आत्तिदै बाहिर आएर प्रहरीलाई फोन गरे”, सञ्चालक पुनले भने ,“केही समयमै प्रहरी आयो र उनीहरुको हत्या भएको भन्ने थाहा पाएँ”, सञ्चालक कृष्णबहादुरका अनुसार मारिएका पाँचै जना मेहेनती कामदार थिए । 
  
अलग्गै कोठामा सुतेका मुसहर दम्पत्तिका छोरा र बहिनी उठेर रुन थाले । रुवावासी भएपछि गाउँभरी हल्ला फैलियो । एकैछिनमा स्थानीय बासिन्दाको फार्ममा भिड लाग्यो । “हामी आउँदा पाँचै जनाको शव एकै ठाउँमा थियो, सबैको टाउकोमा गम्भीर चोट लागेको थियो”, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशब ज्ञवालीले भने, “सबैलाई कोदालोले टाउकोमा प्रहार गरेको देखियो ।”

सञ्चालक कृष्णबहादुरले फोन गरेलगत्तै इलाका प्रहरी कार्यालय मंगलापुरको टोली घटनास्थलमा आएको थियो । त्यसलगत्तै इलाका प्रहरी कार्यालय बुटवल र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाकाअनुसार फार्ममा सैनामैना मुर्गियाका ४१ वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षका करण चौधरी र आशिष चौधरीको सामूहिक हत्या गरिएको थियो । मुसहर तीनैजना फार्मका कामदार भए पनि करण र आशिष भने कामदार होइनन् । 

प्रहरीकाअनुसार हत्या गरिएका पाँचै जनाको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । हत्या अभियोगमा घटनास्थलबाटै सुर्खेतको साविक नेटा गाविस–३ का ३२ वर्षीय  झसेन्द्रबहादुर सिञ्जालीलाई प्रहरीले पक्राउ गरेको छ । उनी सोही फर्मका कामदार हुन् । 

फर्मभित्रै पराल राख्ने ठाउँमा भेटिएका उनी पक्राउ परेपछि बेहोस भएका थिए । उनलाई उपचारका लागि तत्कालै अस्पताल लगिएको थियो । अस्पतालमा उनले आफूलाई दुःख दिएका कारण फरुवाले हानेर हत्या गरेको बताएका थिए । “हत्याको अभियोगमा उनलाई पक्राउ गरेका हौँ, सोधपुछ गर्ने काम भइरहेको छ”, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक थापाले भने, “उनी मानसिक असन्तुलनको अवस्थामा रहेकाले सबै जानकारी लिन समय लाग्ने देखिएको छ ।”

घटनापछि कान्छी बजार शोकमा छ । स्थानीय त्रसित छन् । स्थानीयवासी तथा मृतकका आफन्तले घटनाको सत्यतथ्य छानविन गर्न माग गरेका छन् । उनीहरुले दोषीमाथि कारवाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै केहीवेर नारावाजी समेत गरे । मृतक आशिषका आफन्त सरोज चौधरी भन्छन्, “हत्यामा संलग्नलाई कडा कारबाही हुनुपर्छ, आखिर उनीहरुको कसुर के थियो किन हत्या गरियो ? उनले प्रश्न गरे” घटनास्थल बुटवल–भैरहवा सडक खण्डको मंगलापुर देखि नौ किलोमिटर पूर्वमा पर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ