arrow

महन्थ र राजेन्द्रलाई पूर्व राजपाका पदाधिकारीहरूको चेतावनीः गल्ती सच्च्याउ,नभए राजपा व्युँझाउछौ

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २८ बुधबार
surendra-jha.jpg

काठमाडौं। तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालका केही पदाधिकारीहरूले पूर्व राजपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोलाई गल्ती सच्च्याउन चेतावनी दिदै  गल्ती नसच्च्याए राजपालाई व्युँझाउने धम्की दिएका छन्।  पुरानो राजपा ब्युँझाउने अभियानमा तत्कालिन राजपाका केही नेताहरूले प्रक्रिया आरम्भ गरेका छन्।

आइतबार नवगठित जनता समाजवादी पार्टीले निर्वाचन अयाोगमा बुझाएको केन्द्रीय सदस्यहरूको नामावलीसँग उनीहरुको आक्रोश हो । आयोगमा राजपाको तर्फबाट २४ जना र समाजवादीको तर्फबाट २२ जनाको नाम बुझाइएको छ । राजपाबाट बुझाइएको नामावलीसँग पूर्व राजपाका धेरैजसो पदाधिकारी तथा नेताहरू असन्तुष्ट छन् । यी मध्ये केही नेताहरूले पुरानो राजपा ब्युँझाउने प्रक्रिया अघि बढाएका छन् । 

तत्कालिन राजपाका महासचिव राजीव झाले ठाकुर र महतोले गम्भिर गल्ती गरेको बताउदै गल्ती नसच्च्याए राजपा ब्युँझाउने बताएका छन् । राजपा ब्युँझिएमा यसको सबै जिम्मेवारी ठाकुर र महतोले लिनुपर्ने उनको भनाइ छ । ‘ठाकुर र महतोजीले एकलौटी र मनोमानी किसिमबाट निर्वाचन आयोगमा केन्द्रीय सदस्यहरुको नाम बुझाउनु भएको छ । अब हामीसँग दुई वटा विकल्प छन,’ झाले भने, ‘ पहिलो बिकल्पमा ठाकुर र महतोजीले गल्ती सच्च्याउनु पर्छ । नभए दोश्रो बिकल्पमा हामीले राजपा ब्युझाउँछौ ।’

तत्कालिन राजपाका सचिव राहुल यादवले पुरानो राजपालाई निरन्तता दिने प्रक्रियामा आफूहरु लागिसकेको बताए। ‘राजपा यथावत छ । यसलाई निरन्तरता दिन हामीले प्रक्रिया सूरु गरिसकेका छौ’ यादवले भने, ‘हामीले राजपालाई निरन्नरता दिएनौ भने राजपाका अधिकांश कार्यकर्ता उहाँहरू(ठाकुर, महतो लगायतका नेताहरू)ले गठन गरेको जनता समाजवादी पार्टीमा नगइ अर्को पार्टीमा प्रवेश गर्नुहुन्छ ।’ देशभरका कार्यकर्ताको चाहना र माग अनुसार राजपालाई निरन्तरता दिने अभियानमा आफूहरु लागेको उनको भनाइ छ। 

यसैगरी, पुरानो राजपाका सहमहामन्त्री तथा ठाकुरसँग निकट डा. सुरेन्द्र झाले सामाजिक सञ्जालमा लेखेका छन, ‘पुरानो पार्टीको कोटा पद्धतिबाट छनौटमा परेकाहरु छन, मण्डले, झोले, खबरीलाल, नातेदार, मालदार, भ्रष्ट्राचारी एबम कमिशन खानेहरुको उल्लेख्य संख्यामा व्याप्त छ ।’

ठाकुरले तत्कालिन राजपाको तर्फबाट आयोगमा बुझाएको केन्द्रीय सदस्यहरूको नामावलीप्रति लक्षित गर्दै झाले यस्तो आक्रोश पाखेको हुन्। स्रोत भन्छ, तत्कालिन राजपाका असन्तुष्ट पक्षधर नेताहरूले सोमबारदेखि नै सक्रियता देखाएका छन् । मंगलबार उनीहरूको पहिलो बैठक बसेको छ। दोश्रो बैठक बुधबार बसेको छ । यसको अगुवाइ राजकिशोर यादवले गरेका छन् । यस अभियानलाई अनिल झाले साथ दिएका छन् भने महेन्द्र यादवले संरक्षण गरेका छन् ।

आयोगमा बुझाइएको कागजमा यादव र झाले हस्ताक्षर गरेका छैनन् । तत्कालिन राजपाको विधानमा राजपाको सबै निर्णयमा अध्यक्ष मण्डलका ६ वटै सदस्यहरूको सहमति हुनुपर्ने अनिवार्य प्रावधान राखिएको छ । आयोगमा बुझाइएको डकुमेण्टमा यादव र झाले हस्ताक्षर नगरे पछि यसमा कानुनी त्रुटी रहेको निष्कर्ष असन्तुष्ट पक्षधर नेताहरूको रहेको छ । यसकोलागि कानुनवीद्हरूसँग परामर्श गरी पुरानो राजपालाई कानुनी रुपमै निरन्तरता दिने अभियानमा आफूहरु लागेको राहुलले जनाए । 

आयोगमा तत्कालिन राजपाबाट बुझाएको २४ जनाको नामावलीमा राजकिशोर र झाका एक जना पनि मान्छे परेका छैनन् । जबकि, ठाकुर र महतोले ८/८ जना आफू निकट व्यक्तिको नाम केन्द्रीय सदस्यमा राखेका छन् । महेन्द्र र शरतसिंहलाई २/२ जना नाम राख्ने सुविधा दिइएको छ । 

आयोगमा नाम पठाउँदा आफूहरु अपमानित भएको महशुस यादव र झाले गरेका छन् । त्यसो त, यादव र झा सुरुदेखि राजपा र समाजवादीवीचको एकीकरण प्रक्रियासँग असन्तुष्ट हुँदै आएका छन् । वैशाख १० गते राती राजपा र समाजवादीवीच एकीकरण गरी जनता समाजवादी गठन गर्ने सहमति पत्रमा उनीहरुले हस्ताक्षर गरेका थिएनन् । उनीहरू एकीकरण प्रक्रियाका कुनै पनि बैठकमा सहभागी भएनन्।

समाजवादीसँग पार्टी एकीकरण गर्ने राजपाको माइन्युटिङमा भने उनीहरूले हस्ताक्षर गरेका छन् । माइन्युटिङमा गरिएको हस्ताक्षरले मान्यता पाउने ठाकुर, महतो निकट नेताहरुले दावी गरेका छन् । तर यादव र झा निकट नेताहरु भने निर्वाचन आयोगमा बुझाइएको नामावलीमा २ जना अध्यक्षको  हस्ताक्षर नभएकोले पार्टी एकीकरणमा कानुनी त्रुटी रहेको दाबी गर्दै आएका छन् । 

अहिले पुरानो राजपाको ६ अध्यक्षमध्ये एकीकरण र एकीकरणको विपक्षमा ३÷३ जना बाँडिएका छन् । एकीकरणको पक्षमा ठाकुर,महतो र भण्डारी उभिएका छन् । भण्डारीले तत्कालिन समाजवादीसँग एकीकरण गरी आफूहरुले ऐतिहासिक निर्णय गरेको बताए । गत आइतबार नवगठित जनता समाजवादी पार्टीका नेताहरुले २ अध्यक्ष, ३ पदाधिकारी तथा ५१ सदस्यीय कार्यसमिति सदस्यहरूको नाम बुझाएका थिए। नव गठित कार्यसमितिमा नअटाएको पुराना समाजवादीका पार्टीका केही नेताहरू पनि पार्टी नेतृत्वसँग आक्रोशित भएका छन् । उनीहरूले पनि आफूमाथि अन्याय भएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ