arrow

कर्णाली कोरोनाको ‘रेड जोन’ : दैलेख ‘इपिसेन्टर’,औसतमा दैनिक ४६ जना संक्रमित

logo
शुरबहादुर सिंह,
प्रकाशित २०७७ जेठ ३२ आइतबार
swab-test-mugu.gif

सुर्खेत । कर्णालीमा कोरोना संक्रमितको सङ्ख्या बढ्ने क्रम रोकिएको छैन । नेपाल सरकारले चैत्र ११ गतेबाट लकडाउन गरेदेखि यही जेठ ४ गतेसम्म ‘हरित जोन’का रुपमा परिचित कर्णाली ‘रेड जोन’मा परिणत भएको छ । यसमा दैलेख नै कोरोना संक्रमणको ‘इपिसेन्टर’ बनेको छ ।

जेठ ५ गते दैलेख आठबीस नगरपालिकाका ३५ वर्षीय युवा कोरोना संक्रमण देखिएयता यो संक्रमण अङ्कगणितीय अनुपातमा बढिरहेको छ । आजको दिनसम्म कर्णालीमा कोरोना संक्रमितको कूल सङ्ख्या ९६७ पुगेको छ । एक्काइस दिनमा ९६७ जनामा फैलिएको कोरोना संक्रमण औसतमा दैनिक ४६ जना संक्रमित भएको पाइन्छ । त्यसमा दैलेखमा मात्र ५३८ जना कूल संक्रमित सङ्ख्याको (५६ प्रतिशत) मा यो रोगको संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

महाशाखा प्रमुख तिवारीका अनुसार सुर्खेतमा २१२, सल्यानमा १३७, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, डोल्पामा एकजनामा कोरोना पुष्टि भएको छ । रुकुमपश्चिमबाहेक कर्णालीका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ । यसबाट कर्णालीमा डोल्पा, दैलेख र सुर्खेतका तीनजनाको ज्यान गएको छ । यो संक्रमणबाट सबैभन्दा बढी प्रभावित दैलेखमा दिनहुँ ३०–५० को सङ्ख्यामा संक्रमित थपिने गरेको उनले बताए ।

भारतबाट शनिबारसम्म ४२ हजार ४३२ नागरिक कर्णाली भित्रिएका छन् । त्यसमा १४ हजार १८ नागरिक दैलेखका मात्रै भएको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिए । उनका अनुसार सुर्खेतका ११ हजार ५३०, कालीकोटका पाँच हजार १५८, जाजरकोटका तीन हजार ७७१, सल्यानका तीन हजार २८२, रुकुमपश्चिमका एक ६४३, मुगुका एक हजार ३९७, जुम्लाका एक हजार ३५७ र हुम्लाका २७५ नागरिकले कर्णाली प्रवेश गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले दैलेख भित्रिने नागरिकहरुको अत्यधिक चाप र नमूना स्वाब सङ्कलन गरी पठाएकाको आरटी पिसिआर रिपोर्ट निकै ढिलो आएका कारण दैलेखमा तीव्र रुपमा संक्रमण फैलिएको बताए । पछिल्लो समयमा सङ्घ, प्रदेश र स्थानीय सरकारहरु पनि दैलेखको समस्यामा केन्द्रित भएर लागेको प्रजिअ कट्टेलको भनाइ छ । 

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता जोशी (भण्डारी)ले प्रदेश सरकारबाट दैलेखका लागि स्वास्थ्य जनशक्ति, स्वास्थ्य सुरक्षा सामग्री थप गरिएको बताए । “कर्णालीभरिका जिल्लाहरु मध्य दैलेखमा नै स्वास्थ्य सेवा केन्द्रित गरिएका छ”, निर्देशक जोशीले भने, “अब त्यहाँ जतिसक्दो चाँडै आरटी मेशिन सञ्चालनमा ल्याउने तयारी पनि भइरहेको छ ।”

दैलख क्षेत्र १ (क)बाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीले भारतबाट आउने कर्णालीका नागरिकहरुको यकिन र त्यही अनुसारको व्यवस्थापनको पूर्वतयारी गर्न नसक्दा प्रदेशले अनपेक्षितरुपमा संक्रमण फैलिएको बताए । “नागरिकहरु भारतबाट आउने क्रम रोकिएको छैन,” सदस्य रेग्मीले भने, “यो व्यवस्थापनमा सरकार गम्भीर भएर लाग्नुपर्दछ, अन्यथा त्यसले विकराल रुप लिन सक्छ ।” सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार आज पनि दैलेखमा ३७ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । 

त्यस्तै, सुर्खेतका १५ जनामा कोरोना पुष्टि भएको छ । कर्णालीमा तीनजनाबाहेक सबै भारतबाट आएका व्यक्तिहरुमा मात्र कोरोना संक्रमण भएको पाइएको छ । यसरी दैनिक संक्रमितहरुको सङ्ख्या वृद्धि हुँदै जाँदा प्रदेश तथा स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रण ल्याउन निकै सकस हुँदै गएको छ ।

यता कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोरोना सम्पर्क व्यक्ति डा के.एन पौडेलले अधिकांश संक्रमतिहरुमा कोरोना संक्रमण नदेखिएको बताए । उच्च मनोबल राख्न, खानपिन, सरसफाइ र व्यायाममा ध्यान दिन सके कोरोनालाई जोसुकैले सजिलै जित्न सक्ने भन्दै सम्पर्क व्यक्ति डा पौडेलले यसबाट कसैलाई नआत्तिन सुझाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ