arrow

कहाँबाट कतिखेर देखिन्छ सूर्यग्रहण?

logo
प्रकाशित २०७७ असार २ मंगलबार
solar-eclips.jpg

पूर्णप्रसाद मिश्र, काठमाडौं । असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।ग्रहणले बिहान १०:५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२:३८ बजे मध्य र अपराह्न २:२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष ,प्रा डा रामचन्द्र गौतमले  जानकारी दिए । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट ग्रहण देखिने उनले बताए । 

 शास्त्रीय मान्यता अनुसार असार ६ गते राति १०:५० देखि बाल, वृद्ध र बिरामी बाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ ।  ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी र सो सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नु हुने र नहुने अन्य कामलाई ग्रन्थमा उल्लेख गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् समेत रहेका गौतमले बताए । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । यसै विश्वास अनुसार असार ६ गते राति १०:५० बजेदेखि भोजन गर्नु हुँदैन ।  असार ७ गतेको सूर्यग्रहण मृगशिरा र आद्र्रा नक्षत्र एवं मिथुन राशिका मानिसलाई अति कष्ट हुने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए । 

 सूर्यग्रहणको फल राशि अनुसार फरक छ । मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।  मेष, सिंह, कन्या र मकर राशिकाले मात्र सुरक्षित विधि अपनाएर ग्रहण हेर्नुहुन्छ । अरु आठ राशि भएका मानिसले भने सूर्यग्रहण हेर्नुहुँदैन भन्ने मान्यता छ । यस वर्ष नेपालबाट देखिने असार ७ गतेको सूर्यग्रहण मात्र रहेको समितिले जनाएको छ । 

कुन प्रदेशबाट कतिखेर देखिन्छ सूर्यग्रहण ?
 खगोल विज्ञानका क्षेत्रमा काम गरिरहेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सङ्घीय राजधानी सहित सातै प्रदेशका राजधानीबाट सूर्यग्रहण देखिने समय समेत सार्वजनिक गरेको छ । काठमाडौँबाट बिहान १०:५३:५८ मा शुरु, १२:४१:०२ मा मध्य र १४:२४:३५ मा अन्त्य हुने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

 प्रदेश नं. १ को विराटनगरबाट बिहान १०:५८:४५ शुरु, मध्याह्न १२:४७:०४ मा मध्य र अपराह्न १४:२९:२९ मा अन्त्य हुने छ । यसैगरी प्रदेश नं. २ को जनकपुरबाट बिहान १०:५५:०१ शुरु, मध्याह्न १२:४२:५० मा मध्य र अपराह्न १४:३६:२० मा अन्त्य हुनेछ । वाग्मती प्रदेशको हेटौँडाबाट बिहान १०:५२:५२ मा शुरु, मध्याह्न १२:३९:५८ मा मध्य र अपराह्न १४:२३:५५ मा अन्त्य हुने सोसाइटीले जनाएको छ । गण्डकी प्रदेशको राजधानी पोखराबाट बिहान १०:५०:४५ मा शुरु, मध्याह्न १२:४१:५९ मा मध्य र अपराह्न १४:२१:१४ मा अन्त्य हुने छ । प्रदेश नं. ५ को बुटवलबाट बिहान १०:४८:५० मा शुरु, मध्याह्न १२:३५:०६ मध्य र अपराह्न १४:२०:०२ मा अन्त्य हुने जनाइएको छ । 

 कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरबाट बिहान १०:४५:२४ मा शुरु, मध्याह्न १२:३०:१८ मध्य र अपराह्न १४:१५:४२ मा अन्त्य हुने छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट बिहान १०:४२:४६ मा शुरु, मध्याह्न १२:२६:५२ मा मध्य र अपराह्न १४:१२:४२ मा अन्त्य हुने अध्यक्ष भट्टराईले बताए । 
वैज्ञानिक मूल्य मान्यता अनुसार सुरक्षित तरीकाले सबैले ग्रहण हेर्न सकिने पनि सोसाइटीले जनाएको छ । प्रदेश नं. १ बाट सन् १९६५ नोभेम्बर २३ तारिखका दिन बिहान खग्रास (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण लागेको थियो । अब खग्रास सूर्यग्रहण सन् २०६४ फेब्रुअरी १७ मा प्रदेश नं. १ कै दक्षिणपूर्वी भूभागबाट देखिने उनले सुनाउनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ