arrow

कोरोना रोकथाम गर्न संघीय र प्रदेश सरकार असंवेदनशील भएको कांग्रेसको आरोप

logo
प्रकाशित २०७७ असार २ मंगलबार
janakpur-congress2.jpg

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाले प्रहरी हिरासतमा मृत्यु भएको शम्भु सदा घटनाको उच्चस्तरीय छानबिन समिति गठन गरीदोषीलाई कारबाही गर्न माग गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै कांग्रेसले यस्तो माग गरेको हो । २८ जेष्ठमा धनुषास्थित ईलाका प्रहरी कार्यालयको हिरासतमा शम्भु मृतअवस्थामा भेटिएका थिए ।

यसका साथै कांग्रेसले धनुषाको जटही नाकामा मृत्यु भएका वीरेन्द्र गुरमैता यादवको परिवारलाई पनि उचित क्षतिपूर्ति उपलब्ध गराउन पार्टीका जिल्ला सभापति महेश शंकर गिरीले बुझाएको ज्ञापन पत्रमा सरकारसँग माग गरिएको छ । 

सरकार कोरोना नियन्त्रण तथा रोकथामका साथै गरिब तथा विपन्न परिवारलाई उचित राहत पुर्‍याउन असफल भइसकेको कांग्रेसले आरोप लगाएको छ । मापदण्डविपरितका अव्यवस्थित क्वारेन्टाइनहरु कोरोना संक्रमण विस्तारको केन्द्र बन्दै गएको भन्दै क्वारेन्टाइनभित्र देखिएका बेथितिहरु तत्काल सुधार गर्न उसले सरकारसँग माग गरेको छ । ८३ औं दिनपछि लकडाउन केही खुकुलो भएपनि स्वास्थ्य सामग्रीको अपर्याप्ताका कारण पीसीआर परीक्षण सुस्त गतिमा भइरहेको कांग्रेसले आरोप लगाएको छ ।

सरकारको उदासीनता र असंवेदनशीलताका कारण भारतलगायत विश्वका अन्य देशहरुमा अपलपत्र परेका नेपाली नागरिकहरु स्वदेश फर्किने वातावरण बन्न नसकेको भन्दै तत्काल उनीहरुलाई उद्धार गरी स्वदेश ल्याउन कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । यता, नेपाली कांग्रेस प्रदेश २ संसदीय दलले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउँदै कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै तत्काल आइसोलेसन र क्वारेन्टाइनको संख्या वृद्धि गर्न ध्यानाकर्षण गराएको छ ।

संसदीय दलका नेता रामसरोज यादवले बुझाएको ज्ञापन पत्रमा ‘क्वारेन्टाइनहरुमा खानेपानी, चर्पी, स्वास्थ्यकर्मीका साथै खानेकुराको अभावले क्वारेन्टाइनहरु कोरोना नियन्त्रणको स्थानमा महामारी फैलाउने थलो बनेको छ’ भनिएको छ । कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी र पत्रकारहरुकालागि सरकारले कुनै योजना बनाउन नसकेको भन्दै कांग्रेसले तत्काल ठोस योजना बनाउन माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ