arrow

कोरोनाबाट देश र जनतालाई सुरक्षित गर्न सरकार असफल : कांग्रेस रुपन्देही

logo
प्रकाशित २०७७ असार २ मंगलबार
congress-rupandehi.jpg

बुटवल । कोभिड–१९ को महामारी नियन्त्रण गर्न र देश र जनतालाई विपद्बाट सुरक्षित राख्न सरकार पूर्ण रुपमा असफल भएको नेपाली कांग्रेस रुपन्देहीले आरोप लगाएको छ ।

प्रमुख प्रतिपक्ष र अन्य सबैको निरन्तर साथ र सुझावका बाबजुद सरकार कोरोना विरुद्धको संघर्षको सक्षम ढंगले नेतृत्व गर्न सरकार असफल भएको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताए । राष्ट्रिय विपद्को अवस्थामा पनि स्वास्थ्य सामाग्री खरीदमा पटकपटक अनियमितता तथा भ्रष्टाचार भएको घटनाले सबै नागरिकलाई स्तब्ध बनाएको र कमिसनको कारणले सामाग्री आपूर्तिमा समेत ढिलो भएको रज्जाकले बताए । सरकारले दश अर्ब खर्च भएको भने पनि सो अनुसार काम नभएको उनले बताए ।

कोरोनाका कारण परिस्थिति विकराल बन्दै गएको भन्दै विभिन्न माग राखी कांग्रेस रुपन्देहीले मंगलबार ज्ञापनपत्र बुझाउँदै नागरिकको जीवनमा आएको आर्थिक संकटलाई कम गर्न सरकार गम्भिर नभएको आरोप लगाएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थमार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेसले सरकारले लकडाउनको ठिक ढंगले पालना नगरेको बताएको छ । पार्टीले सबै स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति गर्नुपर्ने, मापदण्ड अनुसार क्वारेन्टाइनको व्यवस्थापन गरी क्वारेन्टाइन सञ्चालन गर्न स्थानीय सरकारलाई आवश्यक आर्थिक र प्राविधि स्रोत उपलब्ध गराउनुपर्ने, पीसीआर परीक्षण गर्नुपर्नेको दायरा विस्तार गरी क्वारेन्टाइनमा राखिएका सबैलाई पीसीआर विधिबाट परीक्षण गरेपश्चात मात्र घर पठाउने, मृत्यु भएका व्यक्तिको शवको अनिवार्य स्वाब परीक्षण गर्ने र आइसोलेशनमा रहेका व्यक्तिको परीक्षण गरेर मात्र डिस्चार्ज गर्नुपर्ने माग राख्दै सरकारको ध्यानाकर्षण गराउन विशेष ज्ञापनपत्र बुझाइएको कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणले बताए ।

त्यस्तै कोरोना संक्रमणको उपचारका लागि डेडिकेटेड अस्पताललाई आवश्यक उपकरण, सामाग्री, औषधी, स्वास्थ्यकर्मीको सुरक्षा सामाग्री, आइसोलेशन बेड र जनशक्तिको व्यवस्था अविलम्ब गर्नुपर्ने, अन्य रोगका सम्बन्धमा सबै सेवा बिना अवरोध पाउने सुनिश्चितता गर्नुपर्ने, सरकारले कोभिड–१९ नियन्त्रण गर्ने कार्यका लागि १० अर्ब खर्च भएको भनिरहेकोले खर्चको सम्पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने, हालसालै स्वास्थ्य सामाग्री खरीदा अनियमितता भएको विषय सार्वजनिक भएकोले सबै भ्रष्ट्राचार, अनियमितता बारे छानबीन गरी तत्काल सार्वजनिक रुपमा जानकारी गराउनुपर्ने माग राखिएको कांग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले बताए ।

राहतका खाद्य सामाग्रीको गुणस्तर कायम गरी राहत वितरण भनसुन र राजनीतिक आग्रहका आधारमा गरिने काम बन्द हुनुपर्ने, विदेशमा विचल्लीमा परि घर आउन चाहने नेपालीहरुलाई सुरक्षित तवरले मर्यादापूर्वक स्वदेश ल्याउने व्यवस्था गर्नुपर्ने, विदेशमा जीवन गुमाएका नेपालीहरुको शव ल्याउन आवश्यक काम हुनुपर्ने, संसद कोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, राष्ट्रपति शिक्षा कार्यक्रम हटाएर पालिकास्तरमा उत्पादनमुखी रोजगारीको व्यवस्था निर्देशिकासहित पालिकामा पठाउनुपर्ने कांग्रेस रुपन्देहीको माग छ ।

त्यस्तै बीउबिजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदानमार्फत कृषक र कृषि क्षेत्रलाई तत्काल सहयोग पुर्‍याउनुपर्ने, साना, ठूला उद्योग, व्यापार, व्यवस्थाको संरक्षण र तमाम श्रमिक मजदुर उद्यमीहरुको सहयोगलाई उच्च प्राथमिकतामा राखी ठोस राहत प्याकेजको घोषणा गर्नुपर्ने कांग्रेसको माग छ । ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले ज्ञापनपत्रलाई प्रधानमन्त्री कार्यालयमा पठाउने बताए ।

भैरहवास्थित कांग्रेस रुपन्देही जिल्ला पार्टी कार्यालयबाट सुरु भएको र्‍याली बैंकरोड, मिलनचोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेको पार्टीका रुपन्देही कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले बताए । र्‍यालीमा सहभागि नेता कार्यकर्ताहरुले बांच्नेहरुमा हाहाकार, मृत्युपछि पीसीआर, माफ गर्नुहोला तपाईले सम्पर्क गर्न खोज्नु भएको सरकार भ्रष्टाचारमा व्यस्त छ, आरडिटी खारेज गर, पीसीआरको दायरा बढाउ लगायतका नारा लगाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ