arrow

दिउँसो २ बजे जातिय हत्या र विभेदविरुद्ध सडक धर्ना

logo
प्रकाशित २०७७ असार ५ शुक्रबार
104489657_285997772451895_4.jpg

काठमाडौं । रुकुम नरसंहार लगायत देशभरिका जातिय हत्या एवं विभेदविरुद्ध सडक धर्ना हुँदैछ । 

संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा माइतीघरबाट र्याली सुरु भई नयाँ बानेश्वर पुगेर सडक धर्नामा परिणत हुने बताइएको छ । 

यसैबीच, रुकुम –पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनाको छानबिनका लागि सरकारले गठन गरेको संसदीय समितिले जिल्लाका सरोकार पक्षसँग भेटघाट तथा छलफल गरेको छ ।

घटनाको छानबिनका लागि सदरमुकाम मुसीकोट पुगेको टोलीले जिल्लाका राजनीतिक दल, अधिकारकर्मी, पत्रकारलगायतसँग बिहीबार छलफल गरेको हो । 

समितिले गत जेठ १० गते छ जनाको मृत्यु भएको सोती घटनाका सम्भावित कारण, त्यसले उब्जाएको परिस्थितिलगायत घटनासंँग सम्बन्धित समसामयिक विषयवस्तुमा जिल्लास्थित सरोकार भएकाहरुको विचार एवं राय बुझ्नाका साथै सल्लाहसुझावसमेत लिएको छ । 

सरोकार पक्षले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि चाल्नुपर्ने कदमका बारेमा सुझाव दिएको थियो भने  समितिले  यस्ता घटना हुन नदिनका लागि सरकारलाई आवश्यक सुझाव दिनुपर्नेमा जोड दिएको थियो । 

प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको संयोजकत्वमा रहेको समितिका सबै सदस्य सम्मिलित टोली जाजरकोट हुँदै घटनास्थल सोती गाउँ पुगेर सदरमुकाम मुसीकोट पुगेको हो । 

टोलीले जाजरकोटमा पीडित परिवारसंँग भेट गर्नाका साथै त्यहाँका सुरक्षा निकायलगायत सरोकार पक्षसँग पनि छलफल गरेको थियो ।

त्यसपछि टोलीले घटनास्थल सोती गाउँमा पुगेर घटनाको स्थलगत अवलोकन तथा स्थानीयवासीसंँग घटनाका बारेमा जानकारी लिएको थियो । 

सोती घटनाको छानबिनका लागि प्रतिनिभिसभाले सांसद  पौडेलको संयोजकत्वमा नौ सदस्यीय विशेष छानबिन समिति गठन गरेको छ ।

समितिका सदस्य एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिसुन्के, प्रकाश रसाइली, विमला विक, महेश्वरजङ्ग गहतराज, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादवलगायतको टोली घटनाको छानबिनका क्रममा रुकुम पश्चिममा छ । 

यसअघि घटनाको छानबिनका लागि गठित गृह मन्त्रालयको टोलीले घटनाको स्थलगत छानबिन गरी काठमाडौंँ फर्केर सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । 

सोतीमा भएको घटनामा जाजरकोटको भेरी नगरपालिकाका पाँच र  चौरजहारी नगरपालिकाका एक गरी ६ युवाको ज्यान गएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा ३४ जनाविरुद्ध रुकुम अदालतमा मुद्दा परेको छ । 

तीमध्ये दुई नाबालकसहित २९ जना पक्राउ परेका छन् भने पाँच जना  फरार छन् ।  बिहीबार प्रतिवादीको बयान सकिएपछि शुक्रबारदेखि अदालतमा उनीहरुको थुनछेक बहस शुरु हुँदै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ