arrow

कनेण्ट आईपिएसबाट गरिने भुक्तानीको सिमा हटाउँन सुझाब

logo
प्रकाशित २०७७ असार ७ आइतबार
connect-ips.jpg

काठमाडौं। सेयर बजारमा अनलाईन कारोबार गर्दा कनेण्ट आईपिएसबाट गरिने भुक्तानीको सिमा हटाईनु पर्ने सुझाव दिएका छन्। आईतबार आगामी मौद्रिक नीतिमा पूँजी बजारका समावेश हुनुपर्ने बिषय आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको वेबिनारमा सहभागी लगानीकर्ताहरुले यस्तो सुझाव दिएका हुन्। त्यस्तै, मार्जिन कर्जाको सिमालाई ८० प्रतिशत राख्नुपर्ने पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताईन्। कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले शेयर कर्जामा असुल्दै आईएको चर्को ब्याजलाई पनि घटाउनुपर्नै माग गरेकी छिन्। “लगानीकर्ताको मागलाई बोर्डले अनिवार्य रुपमा पुरा गर्नुपर्छ,” उनले भनीन्।

संघकी अध्यक्ष पोखरेलले तीन महिना बजार बन्द हुँदा सबै भन्दा बढी लगानीकर्ता पिडित भएको गुनासो गरिन्। नियामक निकायको कमजोरीका कारण बजार खुल्न नसकेको उनको आरोप लगाईन्। सेयर बजारको लागि नीतिगत सुधार आएको छ। तर, कार्यन्वयन हुन नसकेको उनले बताईन्। पूर्ण अनलाइन भएको खण्डमा बजार बन्द गर्न नपर्ने भएपनि यसमा नियामक निकायले ध्यान दिन नसकेको उनले दाबी गरिन।

नेपाल स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले शेयर बजारमा अहिले ग्रहण लागिरहेका बताए। बजारमा लागेको ग्रहण हटाउँने जिम्मेवारी नेपाल राष्ट्र बैंकमा पुगेको बताए। वेबिनारमा बोल्दै अध्यक्ष रानाभाटले लामो समयदेखि बन्द रहेको बजार खुला गर्नका लागि राष्ट्र बैंकले पहलकदमी लिनुपर्ने सुझाव दिए।

बजारका प्रत्यक्ष नियमनकारी निकायहरु राष्ट्र बैंकमा नै निर्भर भएकोले बजार संचालन हुन नसकेको उनको भनाई थियो। उनले बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा प्रवाह गर्ने कर्जाको सीमा बढाउनुपर्न, मार्जिन कलमा सहुलियत दिनुपर्ने लगायतका बिषयमा मौद्रिक नीतिमा समेट्नुपर्ने सुझाव दिए। यस्तै शेयर धितोमा गएको कर्जाको व्याजमा तिर्ने समय थप गर्नुपर्ने र धितोपत्र दलाल व्यवसायीलाई मार्जिन कारोबार प्रवाह गर्ने ऋणको व्याजदर बैंकले प्रवाह गर्ने कर्जाको भन्दा कम हुने व्यवस्था गर्न सुझाव दिए।

त्यस्तै उनले विद्युतीय माध्यमबाट लगानीकर्ता र धितोपत्र दलालबीच रकम पठाउँदा र प्राप्त गर्दा रकमान्तर हुने रकमको सीमालाई हटाउन समेत सुझाव दिएका छन्। अध्यक्ष रानाभाटले अहिले मार्जिन ल्याण्डिङको सेवा प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए। साथै उनले बोण्ड मार्केटलाई सहज रुपमा कारोबार गर्ने व्यवस्था मिलाउनुपर्ने, गैर आवासीय नेपालीहरुलाई पनि दोस्रो बजारमा कारोबार गर्न लागि उपयुक्त वातावरण बनाउनुपर्ने सुझाव दिए।

त्यस्तै शेयर बजारका विश्लेषक एवं लगानीकर्ता प्रकाश तिवारीले नेपालको शेयर बजार सबैभन्दा बढी समय बन्द भएको भनी गिनिज बुकमा नाम लेखाउने अवस्थामा पुगेको बताए। लामो समयसम्म शेयर बजार बन्द भएको प्रति नियामकहरुको आलोचना गर्दै यस्तो धारणा आएको हो। शेयर बजारले पूँजी निमार्ण र तरलता सृजना गर्नुपर्ने भएपनि नेपालमा अझै त्यस्तो हुन नसकेको धारणा राखे। नेपालको पूँजीबजारबाट लिक्विडिटी भन्ने चिज नै हराउने अवस्थामा पुगेको र झण्डै सय दिन बजार बन्द गराएर गिनिज बुकमा नाम लेखाउनु पर्ने अवस्थामा पुगेको भन्दै उनले आलोचना गरे।

नेपालको शेयर बजार सरकार, धितोपत्रबोर्ड, नेप्से लगायतका नियमनकारी निकायहरुबाट नभई पूँजी बजार खोल्ने वा बन्द गर्ने निर्णय केहि सीमित लगानीकर्ताहरुको हातमा पुग्नु बजारको सबैभन्दा कमजोर र दुखद पक्ष भएको उल्लेख गरे। शेयर बजार स्वार्थ समूहको कब्जामा पुगेको उनको भनाई थियो।
२७ वर्षको इतिहासमा नेपालको शेयर बजार अझै दयनिय अवस्थामा रहेको, इक्विटी मार्केटमा मात्रै केन्द्रीत रहेको बताउँदै उनले बोण्ड मार्केट, रियल सेक्टरका कम्पनीहरु भित्रयाउने पहल गर्न नसकेको आरोप लगाए। निक्षेप भन्दा बोण्डमा बढी कर तिर्नुपर्ने अवस्था, डिजिटल पेमेन्ट गेटवेको अभाव, संस्थापक कारोबारको सहज कारोबार हुन नक्सनु लगायतले बजारमा विस्तार हुन नसकेका बताए।

अहिलेको एनएफआरएस प्रणालीले सरकारले कर पाउने, कर्मचारीले बोनस पाउने लगानीकर्ताहरुले लाभांश नपाउने अवस्था आउनसक्ने उनले बताए। त्यस्तै लगानीकर्ता तिवारीले गैर आवासीय नेपालीहरुलाई यतिकै अवस्थामा आउ लगानी गर भन्दैमा आउन सक्ने अवस्था नरहेको उनको भनाई छ। यहि बस्ने लगानीकर्ताहरुले सहज रुपमा लगानीगर्ने र कारोबार गर्ने अवस्था नभइरहेको अवस्थामा बाह्य लगानीकर्तालाई भिर्‍याउछु भन्ने कोरा कल्पना मात्र भएको उनले बताए।

धितोपत्र बोर्डको पूर्व अध्यक्ष सुरविर पौडेलले धितोपत्र बजारलाई राष्ट्र बैंक, सरकारले कम प्राथमिकतामा राखेको बताए। अब वास्तविक क्षेत्रका कम्पनीलाई ल्याउनु पर्ने उनको भनाइ छ। सूचिकृत हुन आउनेलाई कर्जामा सहुलिएर दिने नीति आवश्यक रहेको र यो भएको खण्डमा बजारको विकासमा सघाउ पुग्ने बताए।

राष्ट्र बैंक तथा वित्तीय संस्थाको हितमा मौद्रिक नीति ल्याएको खण्डमा त्यसको प्रभाव बजारमा पर्ने उनको दाबी छ। नियामक निकायको रुपमा धितोपत्र बोर्डले काम गरिरहेको छ। तर, एकै पटक रातारात काम गर्न नसकिने उनले बताए । ऐनमा भएको काम गर्दै जाने हो भने बोर्ड र बजारको विश्वसनियता बढदै जाने उनले बताए।

वेबिनारमा बोल्दै डा.गोपाल प्रसाद भट्टले पूँजी बजारले सबै कामको लागि मौद्रिक नीतिको मुख ताक्नु दुखद भएको बताए। पूँजी बजारको नियामक निकाय भनेको धितो पत्र बोर्ड हो। त्यसैले बोर्ड आफैले बजारको विकासका लागि आवश्यक उपकरण, लगानीकर्ताको सुरक्षा, आवश्यक तरलता व्यवस्थापन लागयतका बिषयमा बोर्डले आफैले व्यवस्थापन गर्न उनले सुझाव दिए। “नेपालमा कर्जा दिने पनि बैंक तथा वित्तिय संस्था, लगानीकर्ताको उपकरण जारी गर्ने पनि बैंक तथा वित्तिय संस्था, मार्कैट सञ्चालन गर्ने पनि वित्तीय संस्था,” उनले भने। बजार विकासमा अन्य नीजि क्षेत्रहरु छन्। जसलाई परिचालन गर्नुपर्ने उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ