arrow

मुलुकसामु दोहोरो चुनौती : कोरोना कहरसँगै मनसुनजन्य विपद्

logo
नारायण ढुङ्गाना,
प्रकाशित २०७७ असार ७ आइतबार
corona-virus.jpg

काठमाडौं। विश्व्यापी कोभिड–१९ को महामारीले इतिहासमै पहिलो पटक जटिल परिस्थितिसँग जुधिरहेको मुलुकसामु मनसुन सक्रिय भएसँगै बहुविपद्को सामना गर्नुपर्ने चुनौती खडा भएको छ । यस चुनौतीकाबीच सम्भावित जनधनको क्षति रोक्न युद्धस्तरकै तयारीमा जुट्नुपर्ने आवश्यकता महसुस गरिएको छ । 

मुलुकको ध्यान कोभिड–१९ मा रहेको वर्तमान अवस्थामा मनसुनजन्य विपद्लाई कमजोर आँकलन गर्न नहुनेमा विज्ञको जोड छ । यो वर्ष दोहोरो विपद्सँग जुध्नुपर्ने अवस्था रहेकाले तालमेल मिलाएर अघि बढ्न नसके ठूलो क्षति बेहोर्नुपर्ने सम्भावना जीवित छ । विपद् जोखिम व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटा एकातर्फ कोरोनाबाट उत्पन्न विपद्को सामना गरिरहँदा भौतिक दूरी व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ, यही बेलामा मनसुनजन्य विपद्को समय थपिएपछि मुलुकसामु बहुप्रकोपविरुद्ध लड्नुपर्ने अवस्था रहेको बताउनुहुन्छ । 

कोभिड–१९ का कारण मुलुकले ठूलो आर्थिक क्षति बेहोरिरहेको छ । यो अवधिमा २२ जनाको मृत्युसमेत भइसकेको छ । नौ हजार बढी सङ्क्रमित भेटिइसकेका छन् । अहिले पनि मुलुक बन्दाबन्दीबाट मुक्त भइसकेको छैन । राज्य संयन्त्र कोरोना नियन्त्रणमा सक्रिय छ । त्यस चुनौतीकाबीच वार्षिक तथ्याङ्क हेर्दा मनसुनजन्य विपद्को अवस्था पनि डरलाग्दो छ ।

गृह मन्त्रालयको नेपाल विपद् प्रतिवेदन २०१९ का अनुसार मनसुनजन्य प्रकोपका कारण वार्षिक झण्डै एक हजारले ज्यान गुमाउने गरेका छन् । झण्डै सात अर्बको क्षति भएको विवरणमा उल्लेख छ । उक्त प्रतिवेदनमा तीन हजार ६३९ घाइते हुने गरेको अभिलेख छ । जलप्रकोपका कारण हुने मृत्युका हिसाबले नेपाल दक्षिण एशियामा नै सबैभन्दा उच्च जोखिम भएको मुलुकमा पर्छ ।

भूकम्प र जलप्रकोपबाट बढी क्षति पुग्ने देशमध्ये नेपाल विश्वमा क्रमशः एघारौँ र तीसौँ स्थानमा छ । जलवायु परिवर्तनको जोखिमका दृष्टिले नेपाल चौथोमा पर्छ । प्राप्त तथ्याङ्कमा नेपालमा ७० देखि ८० प्रतिशत जनसङ्ख्या कुनै न कुनै विपद्को जोखिममा छन् । वार्षिक तीन लाख ३५ हजार जनसङ्ख्या प्रत्यक्ष प्रभावित हुने र तीमध्ये ५० प्रतिशत बालबालिका प्रभावित हुने गरेको छन् । विविध जटिलता र जोखिमका कारण मनसुनजन्य विपद् रोक्न र आएको विपद्बाट क्षति कम गर्न आवश्यक तयारीमा चुक्न हुँदैन । 

विपद् जोखिम व्यवस्थापन विज्ञ डा देवकोटाले दोहोरो विपद्को अवस्थामा तराई क्षेत्रमा थप चुनौती रहेको बताउनुभयो । “कोभिड–१९ को सङ्क्रमण तराईमा बढी छ, डुबानको समस्या पनि तराईमा छ । तराईका क्वारेन्टिन डुबानका प¥यो भने अवस्था झन नाजुक हुनसक्छ, त्यसतर्फ बेलैमा ध्यान दिनुपर्छ”, उहाँले थप्नुभयो ।

कोरोनाको व्यवस्थापन र मनसुनजन्य विपद्को व्यवस्थापन अलग अलगरुपमा गर्न सकिएन भने थप समस्या हुनेछ । राहत र उद्धारमा खटिने सुरक्षाकर्मी होस् या अन्य निकायका प्रतिनिधि अलगअलगरुपमा खटिन सके समुदायमा हुने सङ्क्रमण रोक्न सकिनेतर्फ डा देवकोटाले ध्यानाकर्षण गराउनुभएको छ ।

यही असार ५ मा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, २०७७ पास गरी कोभिड–१९ सँगै मनसुनजन्य विपद्बाट जनधनको क्षति रोक्न आवश्यक तयारी थालेको छ । गृहमन्त्री रामबहादुर थापा यसपालि दोहोरो विपद्को सामना गर्नुपर्ने चुनौती रहेको उल्लेख गर्दै भन्नुहुन्छ, “मनसुनजन्य विपद्सँगै कोभिड–१९ को विपद् पनि छ, त्यसलाई रोक्न र क्षति न्यूनीकरण गर्ने जिम्मेवारी हामीहरूको छ, यसमा हाम्रो भूमिका बढाउनु जरुरी छ ।” 

मन्त्रालयले यो वर्ष औसतमा विपद् आउँछ भन्ने आँकलन गरे पनि ठूलै विपद् आउँछ भन्ने ढङ्गले तयारी गरेर भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता महशुस गरेको छ । बहुप्रकोपका बेला केन्द्र, प्रदेश र स्थानीय तहले भरपुर तयारीमा जुट्नुपर्ने आवश्यकता छ । मनसुनजन्य विपद्को तयारीमा फितलो हुन नहुने विज्ञको जोड छ । विगतमा मनसुनजन्य विपद्का घटनामा स्थानीय तहको भूमिकामा प्रश्न खडा भएको थियो । कोभिड–१९ को सङ्क्रमण रोक्न स्थानीय तहले खेलेको भूमिकाको उच्च प्रशंसा हुँदै आएको छ । त्यो मनोबललाई मनसुनजन्य विपद्मा समेत परिचालन गर्नुसके विगतको दाह हट्ने छ ।

मुलुकमा पहिरो, बाढी र डुबान एकैपटक आउँछ । अहिले कोरोनाको कहरले आक्रान्त पारेको वर्तमान समयमा अग्रपङ्क्तिमा बसेर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सङ्क्रमणको सामना गरिरहेका छन् । जसका कारण विगतका वर्षमा जस्तो तयारीमा सुरक्षा निकाय जुटन सकिरहेको छैन । यद्यपि सुरक्षा निकायले मनसुनजन्य विपद्को तयारी पनि सँगसँगै लगेको बताएको छ । नेपाल प्रहरीका प्रवक्ता नीरजबहादुर शाही भन्नुहुन्छ, “कोभिड–१९ मा खटिने प्रहरी र मनसुनजन्य विपद्का खटिने प्रहरी अलगअलग हुन्छ, आवश्यक तयारीमा नेपाल प्रहरी छ ।” 

मनसुनजन्य विपद्बाट क्षति रोक्ने उपाए भनेको पूर्वतयारी प्रमुख उपाय हो । भरपर्दाे सूचना सङ्कलन, सम्भावित जोखिम र क्षतिको आँकलन, समयमै आवश्यक सूचना प्रवाह र त्यसबाट उत्पन्न हुने परिस्थितिको सामनाका लागि गर्नुपर्ने तयारी चुस्त बनाउन सकिएन भने विपद्बाट ठूलो धनजनको क्षति हुने सम्भावना हुन्छ । भूकम्प, रोगजन्य महामारी, सुक्खाग्रस्त समय भनेको बेलाबेलामा आउने घटना हो त्यसको पनि समय परिस्थिति बुझेर अवश्यक तयारी र सचेतनाका कार्यक्रम नियमित हुनुपर्छ । हरेक वर्ष दोहोरिने बाढी, पहिरो, डुबान र आगलागीबाट क्षति रोक्न उच्च तयारी आवश्यक छ । 

वर्तमान अवस्थामा कोभिड–१९ बाट सिर्जित विपद्को सामना गरिरहेको नेपालका लागि मनसुनजन्य विपद्को तयारी गर्नु थप चुनौतीपूर्ण छ । मनसुनजन्य प्रकोपबाट हुने क्षति ठूलो छ । मुलुकमा पूर्वतयारी, विपद्पछिको उद्धार र राहतका योजनासहितको तयारी गरिए पनि अपूरो हुने गरेको सर्वसाधारणकै गुनासो छ । प्रकोपबाट क्षति कम गर्न सुरक्षा संवेदनशीलतालाई ख्याल गरी आवश्यकमात्रामा सुरक्षाकर्मीको तयारी जरुरी छ । सुरक्षाकर्मीलाई तालिम प्राप्त गराएर उन्नत कलाशैलीको विकास गर्नुपर्ने आवश्यकता छ । त्यसलाई अझै उन्नत बनाउने आवश्यकता रहेको विपद्विज्ञको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ