arrow

विदेशमा अलपत्र तीन हजार १०८ जनाको उद्धार

logo
प्रकाशित २०७७ असार ७ आइतबार
manmayar-nepali.jpg

काठमाडौँ । कोरोना भाइरसको संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको छ । योसँगै  गत नौ सातामा कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको सङ्ख्या १३० जना पुगेको छ ।  यो साता मृत्यु भएका तीनै जना कतारका भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जनाएको छ ।
 
यसैगरी एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता विभिन्न देशमा १० हजारभन्दा बढी नेपाली कोरोना संक्रमणबाट मुक्त भएका छन् । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यान्मा, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हङकङ, दक्षिण कोरियालगायतका १८ देशमा बस्ने नेपाली कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।
 
समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७९२ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । संयोजक डा सापकोटाका अनुसार यही साता अफ्रिकी मुलुकमा रहेका चार जना नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

नेपालका आठ हजार ६०५ सहित विश्वभरका ३५ देशमा २६ हजार ४०२ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको संयोजक सापकोटाले जानकारी दिए ।
 
कोरोनाको संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीको उद्धार कार्य जारी छ । सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन शुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो । गैरआवासीय नेपाली सङ्घका राष्ट्रिय समिति तथा नेपाल सरकारका कूटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा तीन हजार १०८ जना नेपाली स्वदेश फर्किसकेका छन् ।
     
शुक्रबारसम्म मलेसियाबाट ११८, युएईबाट ३१७, कुवेतबाट  ८९८ जना नेपाली फर्किएका छन् । जापानबाट १३ जना, अफगानिस्तानबाट १८, हङकङबाट सात जना, म्यान्माबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो ।
 
यस्तै बङ्गलादेशबाट २५८ जना, ओमानबाट ३१३, माल्दिभ्सबाट ३०५,  कम्बोडिया र सिङ्गापुरबाट १४६ जना र थाइल्यान्डबाट २४८ जना  नेपाल फर्किएका छन् । यसैगरी कतारबाट ४४, श्रीलङ्काबाट पाँच, साउदी अरबबाट १५३ र दक्षिण कोरियाबाट २२८ जना नेपाल फर्किएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ