arrow

यस्तो देखियो खण्डग्रास सूर्यग्रहण

logo
प्रकाशित २०७७ असार ७ आइतबार
solar-eclips1.jpg


काठमाडौँ । आषाढ कृष्ण औँसीका दिन आइतबार बिहान १०:५० बजेदेखि अपराह्न २:२३ बजेसम्म खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्यो । बिहान १०:५० बजे स्पर्श भएको सूर्यग्रहण मध्याह्न १२:३८ बजे मध्य र अपराह्न २:२३ बजे मोक्ष प्राप्त गरेको हो । नेपालबाट तीन घण्टा ३३ मिनेटसम्म सूर्यग्रहण देखिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । 
 
ग्रहणका बेलामा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिने शास्त्रीय मान्यताअनुसार राजधानीमा गोकर्णेश्वरको उत्तरवाहिनी, बेत्रावतीको उत्तरगया, देवघाट, त्रिवेणीधाम, रिडीलगायत स्थानमा मानिस पुगेका थिए । कोरोनाको डरका कारण भौतिक दूरी कायम गरी स्नान गरेको दृश्य देखिन्थ्यो । कतिले भने घरमै स्नान गरेका छन् । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ । 
 
ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । शास्त्रीय मान्यताअनुसार शनिबार राति १०:५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको थियो । वैज्ञानिक मतअनुसार भने ग्रहणअघि र ग्रहणका बेलामा पनि खान हुँदैन भन्ने कुनै आधार नभएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिएको थियो । काठमाडौँबाट भने ८८ प्रतिशतसम्म देखिएको खगोलविद् एवं नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सहप्राध्यापक जयन्त आचार्यले बताए ।
 
आइतबारको ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देखिएको पनि उनले बताए ।  
 
सूर्यग्रहण हेर्न चाहनेलाई तक्षशिला एष्ट्रोनोमिकल क्लबले सामाखुसीस्थित कलेजको छतबाट नि:शुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको जनाएको थियो । यहाँ सुरक्षितरुपमा ग्रहण हेर्न मानिस आएका थिए । सोसाइटीले पनि युट्युब च्यानलबाट ग्रहण प्रत्यक्ष प्रसारण गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ