arrow

पहिराले गुल्मीमा ४२ घरपरिवार विस्थापित

logo
प्रकाशित २०७७ असार ८ सोमबार
pahiro1.JPG


गुल्मी । पहिराका कारण गुल्मीमा ४२ घरपरिवार विस्थापित भएका छन् । लगातारको वर्षाले जिल्ला सदरमुकामसहित ४२ घरका २०८ जना विस्थापित बनेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।  

पहिराको जोखिम बढ्दै जान थालेपछि मानिस यतिबेला स्थानीय विद्यालय, आफन्त र छिमेकीका घर तथा गोठमा आश्रय लिन बाध्य बनेका छन् । पहिराले विस्थापित हुनेमा रेसुङ्गा नगरपालिका– ७ बेदुखर्कका १४ घरधुरीका ६४ जना, रेसुङ्गा– ९ बूढीचौरका दुई घरधुरीका ६५ जना, इस्मा गाउँपालिका–४ रातामाटाका ११ घरधुरीका ६२ जना, कालीगण्डकी गाउँपालिका– ५ फोक्सिङ्गका तीन घरधुरीका १४ जना र मुसिकोट नगरपालिका– १ तल्लो पौँदीका दुई घरधुरीका तीन व्यक्ति पहिराका कारण विस्थापित बनेका हुन् । 

पहिराको जोखिमका कारण विस्थापित बनेकामध्ये इस्मा गाउँपालिका– ४ रातामाटाका ११ घरपरिवारले स्थानीय जनशक्ति प्राथमिक विद्यालयमा आश्रय लिएका छन् भने अन्य विस्थापित परिवार भने आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका प्रहरी निरीक्षक रावलले बताए । 

अव्यवस्थितरुपमा सडक निर्माण, सडक निर्माण गर्दा निर्माण व्यवसायीको लापरवाही, सडक छेउछाउमा अलपत्र अवस्थामा राखिएका निर्माण सामग्री र उचित स्थानमा ढल र नालीको व्यवस्थापन नहुनु तथा निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्नु जस्ता समस्याले आएको पहिराले विस्थापित हुनुपरेको पीडितले गुनासो गरेका छन् ।  

पहिराले रिडी–रुद्रवेणी–बामीटक्सार सडक अवरुद्ध
अविरल वर्षाका कारण पहिरो गएपछि रिडी–रुद्रवेणी–बामीटक्सार सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–२ को साँघुरे, सत्यवती गाउँपालिका– ४ को नादेवा खोला, वडा नं ५ को बाँदरे भिर र वडा नं ६ को डहरे खोलालगायतका स्थानमा पहिरो खसेपछि सोमबार अपराह्न सडक अवरुद्ध बनेको हो ।

गत सातादेखि लगातार परेको वर्षाका कारण उक्त सडक खण्डका धेरै भागमा पहिरो जाने र सडक अवरुद्ध हुने गरेका कारण दैनिक चार पटकसम्म डोजरमार्फत पहिरो हटाउने काम भइरहेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए । रिडीहुँदै बाग्लुङको ढोरपाटन नगरपालिकासम्म पुग्ने उक्त सडक जिल्लामा सबैभन्दा धेरै सवारीसाधन सञ्चालन हुने गर्दछन् । 

त्यसैगरी सोमबार बिहानदेखि अवरुद्ध बनेको तम्घास–रिडी सडक सञ्चालनमा आएको छ । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्रको खनियाँरुख नजिकै सडक माथिबाट खसेको पहिरो हटाएपछि अवरुद्ध सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले बताए । वर्षाका कारण पहिरो खसेसँगै सडक भत्किएपछि जिल्लाका दुई दर्जनभन्दा बढी ग्रामीण सडक पनि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ