arrow

पास बोकी यात्रु ओसार्ने बसका चालक पक्राउ

logo
प्रकाशित २०७७ असार ९ मंगलबार
driver.jpg

काठमाडौँ । सवारी पास दुरूपयोग गरी यात्रु ओसारपसार गर्ने दुई जना चालकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले पास दुरूपयोग गर्ने दुई चालकलाई पक्राउ गरी कारवाही थालेको छ । 

पक्राउ पर्नेमा नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख २२८५ नम्बरको बसका चालक बाँके कोहलपुर नगरपालिका–२ का ३७ वर्षीय सूर्यकिरण कर्माचार्य र कैलालीबाट काठमाडौँ आउँदै गरेको ना६ख १३४० नम्बरको बसका चालक कैलाली गोदावरी–१ का ३१ वर्षीय लोकबहादुर खत्री रहेका छन् । 

कर्माचार्यले भारतबाट आएका नेपालीलाई विभिन्न जिल्लामा पुर्‍याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पास बोकी रुपेडिया नाकाबाट तीन जना यात्रु तथा नेपालगञ्जबाट चार जना यात्रु ल्याएको फेला परेको छ । उनले उनीहरुबाट रु २१ हजार असुलेको पाइएको छ । 

खत्रीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय काठमाडौँबाट कृषि तथा पशुपक्षीजन्य कार्य गर्न जारी भएको पास बोकी कैलालीबाट १२ जना यात्रु ल्याएको पाइएको छ । उनले रु १८ हजार भाडा लिएको पाइएको छ । 

सरकारले कोभिड–१९ रोकथामका लागि सङ्क्रामक रोग २०२० को दफा २ अन्तर्गत एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्न अनिवार्य रुपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सवारी पास लागू गरेको छ । 

सोही सन्दर्भमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको २०७७ जेठ २८ गतेको निर्णय नं १ (ड) मा यात्रुवाहक सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने व्यवस्थासमेत गरेकामा ती चालकहरुले भाडा असुल गरी यात्रु ओसारपसार गरी कोभिड–१९ रोगको जोखिमलाई बेवास्ता गरेको पाइएको छ ।

 उनीहरुविरुद्ध सङ्क्रामक रोग ऐन, २०२० मा उल्लेखित कानूनी व्यवस्थाको उल्लङ्घन गरेकाले आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ