arrow

हत्याबारे सबैभन्दा पहिले प्रहरीलाई खबर गर्ने वडाध्यक्ष पक्राउ, कांग्रेसद्वारा प्रदर्शन

logo
प्रकाशित २०७७ असार १० बुधबार
congress-birod1.jpg

सर्लाही । सर्लाहीको रामनगर घटनापछि वडाध्यक्ष रामनरेश महतोलाई प्रहरीले हिरासतमा लिएको विरोधमा नेपाली कांग्रेसले बुधबार सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरेको छ । रामनगर गाउँपालिका–४, का ६० वर्षीय रामजल यादवलाई गत आइतवार अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

सो घटना लगत्तै प्रहरीले वडाध्यक्ष महतोलाई नियन्त्रणमा लिएको थियो । आफ्ना पार्टीका नेता समेत रहेका वडाध्यक्ष महतोलाई प्रहरीले सत्तापक्षको दबाबमा नियन्त्रणमा लिएर कारवाही अगाडि बढाएको भन्दै कांग्रेसले विरोध जनाएको हो ।

 विरोध प्रदर्शनमा सर्लाही क्षेत्र नम्वर ४ का प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंह, कांग्रेसका जिल्ला सभापति समेत रहेका प्रतिनिधि सभाकै सदस्य नागेन्द्र कुमार राय, प्रदेश सभा सदस्य वीरेन्द्र सिंह लगायतको उपस्थिति थियो । 

हत्याको घटनाबारे सबैभन्दा पहिले प्रहरीलाई खबर गर्ने वडाध्यक्षलाई नियन्त्रणमा लिएर फसाउने काम भएको आरोप कांग्रेसले लगाएको छ । मृतक रामजलका छोराले वडाध्यक्ष यादवकै संलग्नतामा घटना भएको भन्दै वडाध्यक्ष लगायत विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष यादवलाई अनुसन्धानका लागि भन्दै प्रहरीले घटना लगत्तै जिल्ला प्रहरी कार्यालय मलंगवा ल्याई हिरासतमा राखेको छ ।

 यसअघि सत्तारुढ नेकपा सर्लाहीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै वडाध्यक्ष महतो र आफ्ना पार्टीका कार्यकर्ता रामजलबीच बाटो ग्राबेलको विषयमा विवाद भएपछि हत्याको घटना भएको भन्दै घटनाको छानबिन गर्न माग गरेको थियो । 

हरेक कुरालाई राजनीतिक विषय बनाइने क्षेत्र नम्वर ४ मा पछिल्लो पटक रामनगरमा भएको हत्याको घटनालाई पनि राजनीतिक रंग दिइँदा विवाद बढ्दै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ