arrow

कोरोना : रोकिएन संक्रमण, थपिए ६ सय बढि संक्रमित

logo
प्रकाशित २०७७ असार १० बुधबार
corona-brefing-mohp.jpg

काठमाडौँ । नेपालमा कोभिड १९ का संक्रमित ह्वत्तै बढेको छ । पछिल्लो समय दैनिक पाँच सय भन्दा बढिका दरले थपिएदै गएको छ । मंगलबार ५३८ जनामा देखिएको संक्रमण बुधबार बढेर थप ६२९ जना पुगेको छ।

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बुधबार यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५१९ पुरुष र ११० महिला गरी कुल ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । 

यो सँगै संक्रमितको सङ्ख्या १० हजार ७२८ पुगेको छ । तीमध्ये एक हजार ९४ महिला र नौ हजार ६३४ पुरुष छन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण मंगलबार ५३८ जनामा देखिएको थियो । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४४८ पुरुष र महिला ९० जनामा संक्रमण देखिएका थिए । 

त्यस्तै सोमबार ५३५ जनामा संक्रमण देखिएको थियो ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ११४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये आठ महिला र १०६ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या दुई हजार १२४ पुगेको छ । तीमध्ये दुई हजार ३५ पुरुष र १८९ महिला छन् । 

बुधबार डिस्चार्ज हुनेमा जलेश्वर अस्पताल महोत्तरीबाट एक महिला र १८ पुरुष, कोभिड–१९ अस्पताल सपही जनकपुरबाट २० पुरुष, सिन्धुली अस्पताल सिन्धुलीबाट तीन पुरुष रहेका छन् । यस्तै चितवनस्थित भरतपुर अस्पतालबाट नवलपरासी (पूर्व)का एक पुरुष र नवलपरासी (पश्चिम)का दुई पुरुष, चितवनका पाँच महिला र १३ पुरुष, कपिलवस्तुका एक महिला रहेका छन् । 

यसैगरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका चार पुरुष, मोरङका १८ पुरुष, सुनसरीका एक महिला र चार पुरुष तथा तेह्रथुमका एक पुरुष रहेका छन् । डिस्चार्ज हुनेमा दमौली अस्पताल तनहुँका एक पुरुष, धौलागिरि अस्पतला बाग्लुङका चार पुरुष, गोरखा अस्पताल गोरखाबाट एक पुरुष, जिपी कोइराला शुक्लागण्डकीबाट छ पुरुष र कालिका अस्पताल स्याङ्जाबाट १० पुरुष रहेका छन् । 

मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म दुई हजार ३३८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये १९७ महिला र दुई हजार १४१ पुरुष छन् । पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट छ हजार ८२८ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घन्टामा १२ हजार ११२ जनाको परीक्षण भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । उनका अनुसार ७८ हजार ६३९ जना क्वारेन्टिनमा र आठ हजार ३६६ जना आइसोलेशनमा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ