arrow

सङ्घीय निजामती सेवा ऐनको विधेयकप्रति कर्मचारीहरुको गम्भीर ध्यानाकर्षण

मागहरु सम्बोधन नभएमा सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने

logo
प्रकाशित २०७७ असार १४ आइतबार
general-administration-federal-affairs.jpg

काठमाडौं। निजामती सेवाका राजपत्र अनंकित कर्मचारीहरुले प्रस्तावित सङ्घीय निजामती सेवा ऐनको विधेयकप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । जनताको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने सबैभन्दा ठूलो संख्यामा रहेका राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीहरुको भावनाविपरीत  पुर्‍याएको योगदानलाई नजरअन्दाज र अवमूल्यन गर्दै संघीय निजामति सेवा विधेयकको मस्यौदा तयार भएको उनिहरुको भनाइ छ ।

त्यस्तै मनोबल कमजोर बनाउने गरी विद्यमान निजामती सेवा ऐन, २०४९ भन्दा पछि हटेर विधेयकमा राखिएका कतिपय प्रावधान अन्यायपूर्ण, योग्यता प्रणालीको बर्खिलाप रहेको राजपत्र अनंकित कर्मचारीहरुको दावी रहेको छ । प्रस्तुत अवस्थामै विधेयक पारित भएमा राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीहरुको वृत्ति विकासमा गम्भीर असर पर्ने भएकोले सो विधेयकमा सुधार गर्नका लागि आफूहरुले सुझाव दिएको राजपत्र अनंकित कर्मचारीका अगुवा प्रकाश भट्टराईले जानकारी दिएका छन् ।

प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकमा शाखा अधिकृत सरहको पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ३० प्रतिशत बढुवा र २० प्रतिशतमा आन्तरिक प्रतिस्पर्धा को व्यवस्था हुनुपर्ने, तर कुनै पनि साविकको पदबाट अधिकतम १२ बर्षसम्म पनि बढुवा नभएमा स्वतः बढुवा प्रणालीबाट पदपूर्ति गरेर मात्र खुलातर्फ विज्ञापन गर्नुपर्ने,  निजामती सेवामा प्रवेश गरिसकेका कर्मचारीलाई निजामती सेवाको पदपूर्ति हुने कुनै पनि परिक्षामा भाग लिन उमेर हद नलाग्ने र कुनै पनि निजामती कर्मचारीले खुल्ला प्रतिस्पर्धाबाट लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेमा अघिल्लो पदको सेवा अवधिसमेत जोड्न पाउने विद्यमान निजामती सेवा ऐन, 2049 को व्यवस्था कायम हुनुपर्ने राजपत्र अनंकित कर्मचारिहरुको माग छ ।

त्यस्तै सहसचिव र उपसचिवको खुल्ला प्रतिस्पर्धामा सम्बन्धित पदको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता भएको र निजामती सेवाको राजपत्र अनंकित पदमा रहेर ७ र ५ वर्ष काम गरेको भए योग्य हुन पाउनुपर्ने तथा  सबै सेवा/समूहका कर्मचारीहरुलाई सम्बधित सेवा/समूहमा नै बढुवालगायतका वृत्ति विकासको व्यवस्था गर्ने, अर्को सेवा/समूहलाई प्रभाव पर्ने गरी सेवा/समूह परिवर्तन गर्न नपाउने व्यवस्था राख्नुपर्ने उनिहरुको सुझाव छ ।

साथै सबै तहमा श्रेणीगत वा तहगत एउटै व्यवस्था हुनुपर्ने र सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य हुनुपर्ने आफूहरूको माग र सुझाव रहेको उनीहरूको बताएका छन् । राजपत्र अनंकित कर्मचारिहरुले विभिन्न सामाजिक सञ्चाल तथा भर्च्युल माध्यमबाट सरसल्लाह गरेर आफूहरूले माग गरेकाले उल्लेखित मागहरु सम्बोधन नभएमा सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने सो समुहका कर्मचारी अगुवा प्रकाश भट्टराइले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ