arrow

भरतपुर अस्पतालमा बढ्न थाले बिरामी

logo
प्रकाशित २०७७ असार १७ बुधबार
KA-Bharatpur-Covid-19.jpg


चीतवन । कोभिड–१९ को त्रासका कारण उपचारका लागि आउने बिरामीको सङ्ख्या न्यून रहेको भरतपुर अस्पतालमा क्रमशः बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालले बहिरङ्ग सेवाको टिकट काट्ने समय बढाएसँगै बिरामीको सङ्ख्या बढ्दै गएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गएको आइतबार अस्पतालको बहिरङ्ग सेवामा तीन सय ८९ जना उपचारका लागि आएका थिए । 

त्यस्तै आकस्मिक सेवामा ८२ जना रहेका थिए । अस्पतालमा आइतबार बिरामीको सङ्ख्या बढी हुने गर्दछ । मङ्गलबार बहिरङ्ग सेवामा तीन सय १५ र आकस्मिकमा एक सय ११ उपचारका लागि आएका थिए ।   लकडाउनसँगै बिरामीको सङ्ख्या निकै घटेको थियो । चैतको २६ गते बहिरङ्ग सेवामा ३१ र आकस्मिक सेवामा एक सय ४० जनाले उपचार लिएका थिए । अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या पनि बढेको छ । अस्पतालले यही आइतबारबाट बहिरङ्ग सेवाको टिकट काट्ने समय बिहान ९ देखि १२ बजेसम्म बनाएको छ । यसअघिको भन्दा समय दोब्बर बढेको हो । 

अस्पतालको प्रसूति सेवामा बिरामीको चाप निकै बढेको छ । विभागका प्रमुख डा सुनिलमणि पोख्रेलका अनुसार दैनिक सरदर ३० जना गर्भवतीले अस्पतालमा बच्चा जन्माएका छन् । पूर्ण लकडाउनको समयमा यो सङ्ख्या १५ हाराहारी सम्ममा झरेको थियो । गर्भवती हुनेमध्ये ३० देखि ४० प्रतिशतको शल्यक्रिया गरिन्छ । पोख्रेलले अस्पतालमा कोरोनाको डर मान्नुपर्ने अवस्था नरहेको बताउँदै  सुरक्षित ढङ्गबाट बच्चा जन्माउने काम भइरहेकाले महँगो शुल्क तिरेर निजीमा जानुपर्ने अवस्था छैन भने । बालसघन उपचारकक्षसमेत भएकाले अस्पतालमा बच्चा जन्माउनेको सङ्ख्या बढ्दो रहेको छ । 

पोख्रेलले गत वर्षभरिमा १३ हजार पाँच सय गर्भवतीले अस्पतालमा बच्चा जन्माएको भन्दै यस वर्षको जेठ मसान्तसम्ममा १२ हजार तीन सय जनाले बच्चा जन्माइसकेको बताए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले कोरोनाका बिरामी छुट्टै ठाउँमा अलग बाटो जाने गरी राखिएकाले अन्य बिरामीलाई कुनै समस्या नरहेको बताए । अस्पतालमा बहिरङ्ग टिकट लिने समय बढेको र सरकारी अस्पताल सुरक्षित छ भन्ने सन्देश सबैमा पुगेका कारण बिरामीको सङ्ख्या बढ्दै गएको बताइएको छ ।  

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जिल्लामा सबैभन्दा सुरक्षित अस्पताल भरतपुर अस्पताल भएको भन्दै उपचारका लागि आउने बिरामीलाई कुनै जोखिम नरहेको बताए । “अहिले सबैतिर जोखिम छ”, उनले भने, “अस्पताल आउनैपर्ने बिरामीका लागि सबैभन्दा सुरक्षित भरतपुर अस्पतालमा नै छ ।” विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य मन्त्रालय लगायतको निर्देशिका पूर्ण पालना गरेर उपचार हुने भएकाले सरकारी अस्पताल सुरक्षित रहेको उनको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ