arrow

गिरिजाबाबुको जन्मदिन, के गर्दैछ कांग्रेस 

logo
प्रकाशित २०७७ असार १८ बिहिबार
Girija-koirala.jpg.jpeg

काठमाडौं । बिहीबार असार १८ गते शिखर पुरुष गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु) को जन्मोत्सव । १९८१ साल असार १८ गते उनको भारतको बिहारमा जन्म भएको थियो । 

कृष्णप्रसाद कोइरालाका कान्छा छोरा गिरिजाबाबुको २०६६ साल चैत ७ गते काठमाडौंमा निधन भएको थियो । 

चार पटक प्रधानमन्त्री भएका गिरिजाबाबुअघि उनका दाजुहरु मातृकाप्रसाद कोइराला र बीपी कोइराला प्रधानमन्त्री भएका थिए । 

तीन जना नै दाजुभाइ प्रधानमन्त्री भएको विश्वकै इतिहासमा यो पहिलो हो । त्यही इतिहास बोकेका गिरिजाबाबुले २०६२–०६३ को आन्दोलनको नेतृत्व गरेका थिए । 

२४० वर्ष लामो जहाँनियाँ राजसंस्था फाल्ने श्रेय गिरिजाबाबुलाई जान्छ । 

व्यक्तित्व गिरिजाबाबुको 
लामो समयपार्टी नेतृत्व हाँकेका गिरिजाबाबुलाई कांग्रेसमा कार्यकर्ता एकता गर्ने नेताका रुपमा चिनिन्छ । उनलाई कांग्रेसमा बीपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईपछि राखिने भए पनि उनका विचार र हक्की स्वभावले उनी कार्यकर्तामाझ रहिरहे । 

गिरिजाबाबुको अडान चट्टाने हुने गर्दथ्यो । त्यसले कहिलेकाहिं बीपीलाई समेत अप्ठेरो पारे पनि नेतामा हुनुपर्ने निडरपन उनमा रहेकाले बीपी पनि खुशी भएको विभिन्न दस्तावेजले बताउँछन् । 

कांग्रेसका कार्यक्रम
गिरिजाबाबुको जन्मजयन्ती मनाउने क्रममा नेपाली कांग्रेससहितका भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । 

पार्टीले बिहीबार कुनै कार्यक्रम गर्नेछैन । कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको बुधबार निधन भएकाले उक्त शोकमा बिहीबार पार्टी कार्यालय बन्द हुनेछ भने पार्टीको झण्डा आधा झुकाइएको छ । 

तसर्थ बिहीबारका कार्यक्रम शुक्रबारलाई सारिएको छ । देशैभर केही औपचारिक कार्यक्रम हुने कांग्रेस पार्टी कार्यालयले जनाएको छ । 

त्यस्तै विद्यार्थी भ्रातृ संगठन नेविसंघले पनि बिहीबार गर्ने भनेको कार्यक्रम शुक्रबारलाई सारेको छ । नेविसंघ केन्द्रीय समितिले शुक्रबार बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने महामन्त्री बलदेव तिमल्सिनाले बताए । 

 उक्त कार्यक्रमका प्रमुख अतिथि कांग्रेस सभापति शेरबहादुर देउवा हुनेछन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ