arrow

दल दर्ताले तातियो विवाद, नेकपा बैठक अन्योलमा

logo
प्रकाशित २०७७ असार १८ बिहिबार
ncp-sthi-committee.jpg

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच विवाद बढ्दै गएको छ । शीर्ष तहका नेताबीचको विवादका कारण  नेकपा स्थायी कमिटीको बिहिबारका लागि तोकिएको बैठक अन्योलमा परेको छ ।

स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेताहरू भित्रभित्र लागेको भन्ने प्रधानमन्त्री एवं अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदनका विषयले प्रवेश पाएपछि नेताहरुबीचको दूरी बढेको हो । 

बिहिबार बिहान ११ बजेका लागि तोकिएको स्थायी कमिटी बैठकअघि सचिवालय बैठक चलेकाले स्थायी कमिटी बैठक बस्ने÷नबस्ने अन्योलमा आफूहरु परेको स्थायी कमिटीका सदस्य नन्दकुमार प्रसाईँले बताए। 

सरकारको सिफारिसमा बिहिबारै राष्ट्रपतिले सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य गराएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालय बैठकलगत्तै परामर्शका लागि शीतल निवास पुगेका थिए  । 

अध्यक्ष दाहाल त्यहाँबाट फर्केपछि थप छलफल हुने जनाइएको छ । स्थायी कमिटीका अर्का सदस्य केशवप्रसाद बडालले दुई अध्यक्ष आपसमा बसेर सहमतिमा पार्टीलाई एकताबद्ध बनाउनुपर्ने र दुर्घटनामा लान नहुने बताए।

यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले राखेका सरकार हटाउन भारत सक्रिय रहेको, त्यसमा पार्टीका नेताहरूको संलग्नता रहेको तथा दुई दिनअघि निर्वाचन आयोगमा एमाले दल दर्ताका लागि आवेदन परेका सम्बन्धमा स्थायी कमिटीमा छलफल हुँदा पूर्वनिर्धारित कार्यसूची प्रभावित हुँदै आएका थिए ।

बैठकमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसिसीलगायत कार्यसूची राखिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ