arrow

कोरोनाको ‘हटस्पट’ बन्दै काठमाडौं, लकडाउन नाम मात्रको

logo
बाबु नेपाली,
प्रकाशित २०७७ असार १९ शुक्रबार
corona-lockdown-hamrakura.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले देशका सबै भागलाई आफ्नो कब्जामा लिएको भए पनि सरकारले यसलाई बेवास्ता गर्दै आइरहेको पाइएको छ । चैत ११ गते पहिलो पटक लकडाउन गर्दा नेपालमा जम्मा दुई जना कोरोना भाइरसका संक्रमित रहेका थिए । 

त्यतिबेला विश्व र छिमेकी राष्ट्र भारतमा बढेका संक्रमित देखेर नेपालले ठूलो ‘लकडाउन’ को योजना सुनायो । र त्यसको पालनामा कडाइ गर्यो । तर अहिले दिनानुदिन पाँच सयको हाराहारीमा संक्रमित थपिँदासमेत कुनै विशेष योजना ल्याएको छैन । 

चैत ११ भन्दा निकै खुलेआम भएको छ । खुकुलो भएको छ । सार्वजनिक यातायातका नाममा गाडीहरु चलेका छैनन् । फिल्महल खुलेका छैनन् । मल खुलेका छैनन् । शैक्षिक संस्था खुलेका छैनन् । त्यसबाहेक सबै खुलेका छन् । 

जोर विजोर भने पनि पहुँच र विभिन्न शक्तिको आडमा सबै खुलेका छन् । निजी गाडी सबै खुलेपछि त्यसले अझै बेथिति निम्त्याएको छ । ट्याक्सी चलेका छन् । ट्याक्सीमा जोर बिजोर पनि छैन । नाममात्रको लकडाउन भएको छ । 

निजी सवारी साधनले दोब्बर बढी भाडा असुलेर सार्वजनिक यातायातमा जस्तै मान्छे कोचेर आउने जाने गरिरहेका छन् । स्थानीय प्रशासनले पास बनाइदिन्छ । त्यही पासले कोरोना वसारपसार गरिरहेको छ । 

सरकारले कर असुल्ने नाममा रक्सी पसल पनि खुलेका छन् । रेस्टुरेन्ट बार पनि खुलेका छन् । यसले कोरोनाको संक्रमण फैलाउन निकै मलजल गरेको छ । 

काठमाडौं हटस्पट बन्ने खतरा 
पछिल्लो समय काठमाडौं उपत्यकामा दिनहुँ कोरोनाका संक्रमित थपिएका छन् । सुरुआतमा सनसिटीमा बेलायतबाट आएका दुई जनामा कोरोना संक्रमण देखिएपछि एकाएक आत्तिएको काठमाडौं अहिले शान्त छ । 

दिनहुँ संक्रमित देखिँदा समेत पनि स्थानीय निकायले केही गरेका छैनन् । कुनै समय भने अताल्लिएर आफ्नो क्षेत्रमा शिल गर्दै आएका थिए । अहिले केही छैन । संक्रमित थपिने थपियोस् । मर्ने मरोस् । कसैलाई मतलब छैन । 

काठमाडौं उपत्यकामा बिहीबार मात्रै ३२ जना नयाँ संक्रमित थपिएका छन् । गएको माघ १० गते नेपालमा कोरोनाको पहिलो संक्रमित पुष्टि भएको थियो । 

त्यसको तीन महिनासम्म काठमाडौंमा संक्रमित नै थिएनन् । विदेशबाट आएकामा मात्र संक्रमण देखिएको थियो । तर अहिलेको स्थिति फरक छ । दिनहुँ संक्रमित देखिँदै जाँदा अब काठमाडौं उपत्यका नयाँ ‘हटस्पट’ बन्ने हो कि भन्ने चिन्ता बढेको छ । 

यसअघि हटस्पट बन्ने खतरा भएका जिल्लाहरुमा संक्रमित घट्दै गइरहेका छन् । तर उपत्यकामा बढ्दै गइरहेका छन् । जनसंख्या हेर्दा पनि यहाँको स्थिति भयावह हुन सक्ने निश्चित छ । 

असार १५ गते उपत्यकामा आठ जनामा संक्रमण देखिँदा १६ गते नयाँ १७ जना संक्रमित थपिए । १८ गते ३२ जना देखिनुले दिनहुँ संक्रमण बढ्न सक्ने अवस्था देखाएको छ ।

विज्ञहरु पनि उपत्यका नयाँ हटस्पट बन्ने खतराबाट टाढा नरहेको बताउँछन् । तर सरकारको योजना भने केही पनि देखिँदैन । 

उपत्यकामा झन् लापरवाही बढ्दो छ । भीडभाड बढ्दो छ । हिँड्न छुट छ । जमघट गर्न छुट छ । चाहे २० जनाभन्दा बढी नै भेला किन नहोउन् । 

कार्यालयमा कर्मचारीको भीड छ । सेवाग्राही स्थानमा सेवाग्राहीको भीड छ । पार्टी कार्यालयमा नेताहरुको भीड छ । 

सडकमा आन्दोलनकारीको भीड छ । तिनीहरुलाई धपाउन सुरक्षाकर्मीको भीड छ । आखिर भीड बाहेक केही छैन । तरकारी बजारमा तरकारी किन्नेको भीड छ । चिया पसल खुलेकै छन् । चिया खानेको भीड छ । मासु पसल खुलेकै छन् । मासु किन्नेको भीड छ । भीडबिहीन काठमाडौं उपत्यका पाउन मुस्किल छ । 

समुदायस्तरमै संक्रमण 
कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा नै गइसकेका आधारहरु फेलापरिसकेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । ‘लकडाउन’ खुकुलो भएसंगै त्यसले जोखिम यसै पनि बढाएको छ । तर सतर्कता नअपनाउँदा संक्रमण तीव्र गतिमा फैलनसक्ने विज्ञहरु बताउँछन् । 

सरकारले लकडाउन लगाउँदा जसरी चैतभर मानिसहरु सजक थिए अहिले बेमतलवी हुन थालेका छन् । घरको गेटबाट बाहिर ननिस्कनेहरु अहिले बिना मास्क नै बाहिर चोकचोकमा लखरलखर हिँड्न थालेका छन् । 

यस्तो लाग्छ कि शहरबजारको चलहपहलले नेपालमा कोरोना नै छैन । पहिले प्रहरीदेखि स्वास्थ्य मन्त्रालयले गाडी लिएर सावधानी अपनाउनका लागि गरेका माइकिङ र प्रचारप्रसार अहिले सुनिँदैनन् । मन्त्रालयले हरेक दिन अपरान्ह ४ः१५ बजे प्रेस ब्रिफिङ गरी ‘वन वे कम्युनिकेशन’ को शैलीमा संक्रमित यति, मर्ने यति र अस्पतालबाट डिस्चार्ज हुने यति भन्ने बाहेक केही गरेको छैन । 

समुदाय स्तरमै संक्रमण फैलँदासमेत संयन्त्र प्रयोग गर्न नसक्नु दुर्भाग्य नै हो । 

अहिले संक्रमण फैलिएको ६ महिनापछि आएर अमेरिकामा तीव्र गतिमा संक्रमण बढेको छ । अमेरिकीले गरेको लापरबाही र बिना मास्क हिँड्ने गर्दा फैलिएको महामारीले भारतलाई पनि समातेको छ । अमेरिका, ब्रजिल र भारतमा बिहीबार (असार १८ गते) सबैभन्दा बढी संक्रमित बढेका छन् । 

नेपालमा एकैदिन झण्डै सात सय जना संक्रमित बढेका छन् । संक्रमितको तुलनामा निको हुने कम छन् । यसबाट पनि सचेत हुनुपर्ने हो । तर सरकार कहाँ छ ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ