arrow

मिडिया सञ्चालकको अनुहार सडकमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १९ शुक्रबार
media-owner-corona.jpg

काठमाडौं । शुक्रबार बबरमहलको मुल सडकमा राजधानीका सञ्चारकर्मीहरुको हुल जम्मा भयो । उनीहरु कुनै ‘ब्रेकिङ न्युज’को कभरेजका लागि त्यहाँ थिएनन । बरु आफ्नै ‘ब्रेक’ भएको पेशा र मनका लागि उपस्थित थिए । 

पत्रकारहरुको भीडमा देखिएका ब्यानरहरु त्यो हुलको अनुहारभन्दा मर्मस्पर्शी थिए । एउटा व्यानरमा मोटोघाटो मानिस (मिडिया मालिक) कोरोनाको हम्बर समातेर लिखुरे मानिस ( श्रमजीवी पत्रकार)को टाउकोमा बजारीरहेको थियो । ऊ बिचलित भइ उत्तानो परिरहेको थियो । अर्को व्यानरमा लेखिएको छ ‘साहुजीलाई घाटा भो, हाम्रो चुलो बन्द भो, कुन ठूलो भो ?’ यसले मिडिया मालिकप्रति अवर्णनीय व्यंग्य गरिरहेको प्रतित हुन्थ्यो । 

नेपाल पत्रकार महासंघको अगुवाइमा भएको प्रदर्शनमा पत्रकार पेसागत सुरक्षाको माग गर्दै सञ्चासंग सम्बन्धित संस्था नेपाल प्रेस युनियन, प्रेस संगठनलगायत १०औं संस्था र श्रमजीवी पत्रकारहरु आन्दोलनमा सहभागी थिए । 

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले भने, ‘श्रमजीवी पत्रकारको श्रम, पसिना र समर्पणबाट उठेका मिडियाका मालिकले घर, गाडी मात्र होइन हाउजिङ व्यापारदेखि मेडिकल कजेलसम्म सञ्चालन गरे पनि महामारीमा श्रमजीवीले गाँसबासकै समस्या भोग्नुपर्ने अवस्थाको सिर्जना गर्नु निन्दनीय हो ।’

त्यस्तै नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले कोरोना महामारीको मौका पारेर नेपाली मिडिया संचालकले श्रमजीवी पत्रकारलाई समस्यामा मात्रै नपारेर मिडियाकै नैतिक बल खस्काएको जिकिर गरे । उनले भने, ‘हिजोका दिनमा मजदुर, श्रमजीवीको विचल्ली भनेर लेख्ने, फलानाले कर्मचारी हटायो, फलाना अस्पतालले नर्सलाई बेतलबी बस्न दबाब दियो भनेर भन्ने मिडियाले आज आफ्नै पत्रकार प्लास्टिकको झोला बोकेर गाउँ फर्कने दिन आफै सिर्जना गर्दा कुन नैतिकताले पत्रकारिता गर्ने ?’

पछिल्लो समय कान्तिपुर पब्लिकेशनले आफ्ना तीनवटा भगिनी प्रकाशन मात्रै बन्द गरेको छैन दर्जनौ पत्रकार, कर्मचारी मजदूरलाई बेतलबी बस्ने, आधा तलबमा राख्ने र बिदा दिने काम गरेको छ । त्यस्तै आफूलाई नम्बर एक दाबी गरिरहेको नयाँ पत्रिका दैनिकले पनि दर्जनौ पत्रकार, कर्मचारी र मजदूरलाई बेतलबी बस्ने, बिदा गर्ने काम गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकले त झन पत्रकार कटौती गर्न दबाब दिएपछि सम्पादक हरिबहादुर थापालगायतको टिमले राजीनामा गर्ने अवस्था सिर्जन गरेको थियो । 

नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले महामारीको मौका छोपेर मिडिया मालिकहरुले श्रमजीवीमाथि अत्याचार गरिरहेको बताए । उनले भने, ‘ठूला भनिएका मिडियाले महामारीको निहु बनाएर श्रमजीवीमाथि अत्याचार गरिरहेका छन् । ठूला मिडिया हाउसले १४ वर्ष, १९ वर्ष, २९ वर्ष मुनाफा कमाउँदा कहिल्यै श्रमजीवीलाई यति मुनाफा कमायौँ, बाँडेर खाउँ भनेनन, महामारी सुरु भएको एक, दुई महिना नहुँदै त्यही निहु बनाएर जागिरबाट हटाउनु कहाँको न्याय हो ।’ उनले पत्रकारको विचल्लिको अवस्थालाई महासंघले टुलुटुलु हेरेर नबस्ने बताए । 

विभिन्न सञ्चार माध्यममा कार्यरत श्रमजीवी पत्रकारहरूलाई लकडाउनको बहानामा कामबाट निकालिएको र ज्याला नदिएको भन्दै महासंघको नेतृत्वमा विभिन्न पत्रकार संगठन र विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरू आन्दोलनमा उत्रिएका छन । 

श्रमजीवी पत्रकारहरूको पेशागत सुरक्षा गर्न आन्दोलनमा जानु परेको पत्रकार महासंघ अन्तर्गतको श्रमजीवी हित प्रवर्द्धन समितिका सहसंयोजक जन्मदेव जैसीले बताए । उनले भने, ‘कोरोना कहरमा पत्रकारहरूलाई जबर्जस्ती निष्काशन गर्ने, राजीनामा दिन दवाव दिने र काम गर्ने वातावरण नदिने विभिन्न १२ वटा मिडिया हाउसहरूले गरेको अन्यायका बारेमा महासंघमा निवेदन परेको छ । त्यसको अध्ययन गर्दा अन्याय भएको महसुस भएका कारण महासंघ आन्दोलनमा जानुपर्ने बाध्यात्मक स्थिति आएको हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ