arrow

बढ्यो उपत्यकामा संक्रमण, सोमबार मात्रै ५४ संक्रमित

logo
प्रकाशित २०७७ असार २२ सोमबार
corona-test-kit.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण उपत्यकामा बढेको पाइएको छ । उपत्यकामा मानिसहरु भित्रेसँगै संक्रमित बढेको पाइएको हो । अहिले दैनिक उपत्यकामा संक्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । आइतबार ३० जना संक्रमित देखिएका थिए भने सोमबार ५४ जनामा देखिएको छ ।

सोमबार देखिएका १८० जना संक्रमितमध्ये ५४ जना उपत्यकाका रहेका छन् । काठमाडौँमा २४, ललितपुर २० र भक्तपुरमा १० जनामा संक्रमण देखिएको हो । तीमध्ये नेपाल वायु सेवा निगमका तीन पाइलटसहित सात जना पनि रहेका छन् । साउदी अरव, कुवेतबाट मानिस उद्धार गरेर नेपाल ल्याउँदा उनीहरुमा संक्रमण सरेको हुनसक्ने बताइएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा संक्रमित बढेसँगै परीक्षणको दायरा बढाइएको बताए । उनले संक्रमित बढेसँगै उपत्यकाका समुदायमा संक्रमण देखिएको हो वा होइन भन्नका लागि १० ठाउँबाट स्बाव सङ्कलन गरी परीक्षण गरिएको बताए । 

उनका अनुसार तिनकुने र ललितपुरको नख्खुका २२८ जनामा स्बाव सङ्कलन गरी पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको छैन । यस्तै सात ठाउँमा गरिएको परीक्षणका नतिजा आउन वाँकी रहेको उनले जानकारी दिए । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा प्रमुख डा वासुदेव पाण्डेले मानिसहरु उपत्यका प्रवेश गरेसँगै संक्रमणको जोखिम बढेको बताए । उनले भेटिएका संक्रमित एकै ठाउँका नरहेकाले विभिन्न ठाउँबाट प्रवेश गरी उपत्यका आएकामा देखिएको बताए । 

उनका अनुसार ती संक्रमित व्यक्तिहरुमा विभिन्न ठाउँबाट अस्पतालमा उपचार गराउन आएका बढी रहेका छन् । “भेटिएका संक्रमित कपन, चागुनारायण, हरिसिद्धीलगायतसँगै स्वास्थ्यकर्मीसमेत रहेका छन”, उनले भने,  “उनीहरुको कसै न कसैसँग कन्ट्याक्ट भएको हुनसक्दछ, कहाँबाट आएका हुन भन्ने हामीले पत्ता लगाइरहेका छौँ ।”

महाशाखाले ती संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरी लतिलपुरको नख्खु, एकान्तकुना, भक्तपुरका बोडेलगायत क्षेत्रका मानिसको नमूना सङ्कलन गरिएको छ । संक्रमित उपत्यकामा बढ्न थालेपछि लोकल ट्रान्समिसन हो वा होइन भन्नेबारेमा समेत अध्ययन भइरहेको महाशाखा प्रमुख पाण्डेले बताए । 

अहिलेम्म नेपालमा १५ हजार ९६४ जनामा संक्रमण देखिएको छ । तीमध्ये छ हजार ८११ जना निको भई घर फर्किसकेका छन् भने ३५ जनाको संक्रमणकै कारणले मृत्यु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ