arrow

मच्छिन्द्रनाथको रथारोहण बुधबारः हिन्दू र बौद्धको आस्था

logo
सुभानु आचार्य,
प्रकाशित २०७७ असार २३ मंगलबार
machhindranath-ko-jatra.jpeg

 ललितपुर । ‘वर्षा र सहकालका’ देवता रोतो मच्छिन्द्रनाथको रथारोहण बुधबार अपराह्न हुँदै छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरेसँगै हाल पुल्चोकमा धमाधम निर्माण भइरहेको रथमा उहाँलाई विराजमान गराउन लागिएको हो । 

 अपराह्न साढे ४ बजेपछि बुँगद्योलाई रथमा विराजमान गराउने राम्रो साइत रहेको ७० वर्षीय ञ्वाँल सूर्यमान डङ्गोलले बताउनुभयो । उहाँले भन्नुभयो, “आज रथको सबभन्दा माथिल्लो भागमा ‘बाय्मो’ अर्थात ढकन हाल्ने काम समाप्त भएपछि भोलि(बुधबार) भगवान्लाई राथारोहण गराइन्छ ।” रथ निर्माणका अन्य बाँकी काम भने रथ पुल्चोकमा राखिँदाको समयावधिभरमा सकिने कुरो अघि बढेको डंगोलले जानकारी गराउनुभयो । 

पुल्चोकमा रक्तावलोकितेश्वरलाई राखिएको चार दिनमा रथ तान्नुपर्ने युगौँदेखिको परम्परा रहँदा यस वर्ष कोरोना भाइरसको जोखिममा के गर्ने भन्ने विषयमा छलफल अघि बढिरहेको छ । केही दिनअघि गुठी संस्थान कार्यालय ललितपुरले तःबहालस्थित हाल करुणावतार राखिएको पाटीको भित्तामा समेत यही असार २४ गते रथारोहण भनेर सूचना टाँस गरिसकेका आधारमा धमाधम काम भइरहेको पानेजु पूर्णराज शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “मच्छिन्द्रनाथलाई चारचार जना पुजारीले पालैपालो बोकी बाजागाजा, पूजापाठ र नीतिनियमका साथ पुल्चोक ल्याउने चलन छ ।” सो जात्रा अघि बढाउन ललितपुरका विभिन्न सङ्घसंस्थामा आबद्ध व्यक्ति, धार्मिक सङ्घसंस्था र स्थानीय व्यक्तिले विशेष पहल गरिरहेका छन् । 

यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलन थियो । यस वर्ष कोभिड–१९ का कारण यही असार १० गतेदेखि मच्छिन्द्रनाथको रथ निर्माणको काम अघि बढेको छ । यो काठमाडांै उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो । 
किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए । 

 काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ ।  यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउँदै आएका छन् ।  हिन्दूहरु यिनलाई भर्खरै उदाउन लागेको सूर्यनारायणका रुपमा लिन्छन् । महायानी बौद्ध परम्परामा लोकेश्वरलाई अभिताभ बुद्धका रुपमा लिइन्छ । नेवार बौद्ध संस्कृतिमा आर्यावलोकितेश्वरको निकै ठूलो महिमा छ । यसैले करुणामयलाई विभिन्न नामले सम्बोधन गरेका छन् । बौद्ध पुराणमा लोकेश्वरलाई पद्मपाणि बुङ्मलेकिश्वरका रुपमा सम्बोधन गरिएको छ । 

मच्छिन्द्रनाथको वर्ण
रक्तावलोकितेश्वर लोकनाथको वर्ण अरुणावर्ण छ । दुई ठूला ठूला आँखा छन् । दबिएको नाक छ । उचाइ चार फुट लामो छ । पवित्र माटो (मृत्तिका, तेराकोटा) बाट बनेको मूर्ति सुन्दर र भव्य देखिन्छ । शिरमा रत्नमुकुट, निधारमा टीका र  कानमा रत्नजडित गहनाले मूर्ति सुसज्जित भएको छ । घाँटीमा कर्काेटनागको रत्नमाला, हातमा चुरा र बाला र खुट्टामा कल्ली सुशोभित छन । दाहिने हात वरद मुद्रामा छ । बायाँ हातमा कमलको फूल छ । लोकनाथ विराजमान हुने विहार ललितपुरको तःबहाल र बुङ्मतीको मन्दिर दुवै उत्तरतिर फर्केका छन् । यसैले मूर्ति जहिले पनि उत्तरााभिमुख गरी राखिने भएको मुनीन्द्ररत्न बज्राचार्यद्वारा लिखित पुस्तकमा उल्लेख गरिएको छ । 

करुणामयको सबभन्दा माथिल्लो भागलाई ‘बाय्मो’ भनिन्छ । रथको चारैतिर घोडा, सूर्य, शिवको बाहन  गोरु, विष्णुको गरुड, ब्रह्माको राजहंस आदि थरिथरिका मूर्ति हुने ज्ञानबहादुर महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “रथको गजुरमा सबै प्राणीको रक्षा गर्ने श्री लोकेश्वरको षड्क्षरी मन्त्र “ॐ मणि पद्मे हुँ  लेखिएको ध्वजा पनि फरफराएको हुन्छ ।” 

नेपालको सबभन्दा ठूलो जात्रामध्ये करुणामयको रथ तान्नु पनि एक हो । समस्त प्राणीको उद्धारकर्ता करुणामयको जात्रा परापूर्वकालदेखि राजकीय सम्मानका साथ मनाइँदै आएको इतिहास छ । लिच्छविकालीन प्रतापी राजा नरेन्द्रदेवले बुद्धाङ्कित कम्मरपेटी (पटुका) बाँध्ने गरेका थिए । उनले नै लोकनाथलाई नेपाल ल्याई अति श्रद्धाका साथ जात्रा गर्ने प्रथा चलाए । करुणामयको रथको सबैभन्दा माथिल्लो टुप्पा (धकिं बाय्मो)मा  स्वयम्भू भगवान्को मूर्तिलाई विराजमान गराइने रथ निर्माणमा लागिपरेका कालिगढको भनाइ छ । 

भोटोजात्राको कथा 
किंवदन्तीअनुसार काठमाडौँ उपत्यकामा रहेको  टौदहमा एक जोडी नाग दम्पती बस्थ्यो । त्यो नागहरुका राजा कर्काेटक नागको जोडी थियो ।  एक पटक नागिनीको आँखा बिरामी भयो । राजाले नागिनीको आँखा उपचार गराउने वैद्य खोज्ने क्रममा भक्तपुरमा एक जना जान्ने ज्यापू वैद्य रहेको थाहा पाए । कर्कोटक नाग ज्यापू वैद्यलाई खोज्न गए । नागले ज्यापूलाई नागिनीको आँखा दुखेको बिन्ती बिसाए ।  ती ज्यापू वैद्यले नागको अनुरोध स्वीकारे । दुवै टौदह पुगे । वैद्यले नागिनीका आँखामा मलम बनाएर लगाइदिए । उनको आँखा निको भयो । नागनागिनी ज्यादै खुशी भएर ज्यापू वैद्यलाई अनेक पुरस्कार दिए । सो पुरस्कारमा अनेक किसिमका मणि जडेको झलझल झल्कने भोटो पनि थियो । त्यो भोटो लगाएर ज्यापू वैद्य ढल्कँदै हिँड्थे । ज्यापूको त्यति राम्रो भोटो देखेर भूतलाई लोभ लाग्यो । ज्यापूले भोटो फुकालेर आलीमा राखी खेत खन्न थालेपछि भूतले भोटो सुटुक्क चोरेर लग्यो । हस्याङ्फस्याङ गर्दै वैद्य भूतको पछि लागे । उनले भूतलाई समात्न सकेनन् । 

पाटनमा त्यसअघि मच्छिन्द्रनाथको रथ तान्ने मात्र चलन थियो । यस समय मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल ल्याइपुर्‍याउँदा उपत्यकावासी र भूतप्रेतहरु पनि जात्रा हेर्न आउँथे । त्यो भोटो चोर्ने भूत पनि जात्रामा आउँछ कि भनेर ज्यापू त्यहाँ आइपुगे । नभन्दै झल्झली झल्केको भोटो लगाएर भूत जात्रा हेर्न आएको रहेछ । त्यो भूत झिलिक्क देखिएर मिलिक्क हराउँथ्यो । बल्लतल्ल वैद्यले पछाडिबाट भूतका पाखुरामा च्याप्प समाते । उनले भूतसँग आफ्नो भोटो मागे । भूतले  मानेन । दुवैका बीच ठूलो झगडा भयो । राजा गुणकामदेव पनि मच्छिन्द्रनाथको दर्शन गर्न र जात्रा हेर्न त्यहाँ आएका थिए । राजाका भारदारले ती दुवैबीच ठूलो झगडा भएपछि राजाका अगाडि हाजिर गराए । वैद्यले राजासामु “महाराज मलाई कर्काेटक नागले दिएको भोटो यसले चोर्‍यो” भने । भूतले  भोटो मकैैबारीमा आफूले पाएको राजासामु बतायो । गुणकामदेव न्यायी र धर्मात्मा राजा भएकाले दुवैसँग प्रमाण मागी निर्णय नहुञ्जेल त्यो भोटो नासोका रुपमा मच्छिन्द्रनाथको पुजारीलाई राख्न अनुरोध गरेको मानिन्छ । 

प्रमाणका लागि ज्यापू वैद्य टौदह किनारमा पुगेर कर्काेट नागलाई भेटे ।  नागले आफू पनि मान्छेको रुप लिई सेतो लुगा लगाएर मच्छिन्द्रनाथ जात्रामा साक्षी बन्न आउने बताए । “म आउँदा हुरी चल्नेछ । म अरुभन्दा अग्लो पनि देखिने छु”, कर्काेटक नागले भने ।  त्यस समय जावलाखेलमा मच्छिन्द्रनाथको रथ आइपुगेको तीन दिन भएको थियो । ज्यापू भोटो पाउने आश लिएर बेलैमा जावलाखेल आए । 

राजा गुणकामदेव पनि त्यहाँ आए । एक छिन हुरी चल्यो  तर वैद्यले हुलमा अरुभन्दा अग्लो मान्छेलाई ठम्याउन  सकेनन् । राजाले त्यो कसको भोटो हो भनी मच्छिन्द्रनाथ रथका चारै कुनाबाट देखाउने आज्ञा दिए  तर साक्षी प्रमाणहसहित त्यो भोटो लिन कोही पनि अघि सरेनन् भन्ने मान्यता अझसम्म नेपालमा रहिआएको छ । 

तान्त्रिक गुरु बन्धुदत्त बज्राचार्यले रथ निर्माण गर्न अपनाएको विधि अनुसार नै रथ निर्माण गर्ने गरिएको छ । मच्छिन्द्रनाथको रथ शिखराकार भई माथिको गोलाइ सानो हुँदै जान्छ ।  रथमा त्रयोदश भुवनको प्रतीकस्वरुप तेह्र तला राखिन्छ । रथ बत्तीस लक्षणले युक्त  मानिन्छ । रथका चार पाङ्ग्रालाई चार भैरवको प्रतीस्वरुप मानिने ८३ वर्षीय ञ्वाँल आशालाल महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यी चार भैरवहरुमा हयसिद्ध, हयग्रीव, लुप्त संहार (लुइता संहार)  र लुभूको नन्दकुण्ड हुन् ।”

रथको मुनि बीचमा राखिएको लामो काठलाई घःमा भनिन्छ । घःमालाई कर्काेटक नागका रुपमा मानिएको छ । यसको अग्र भागमा हयग्रीव भैरवको मूर्ति स्थापना गरिएको छ । रथ तान्दा कुनै बिघ्नबाधा नहोस् भनेर कर्काेटक नागराजको शिखा विघ्नातक भैरवलाई आह्वान गरिन्छ । रथ तान्दै लैजाँदा दायाँबायाँ नढल्कियोस् भनी मेरुदण्ड सीधा गर्न डोरीले दायाँबायाँ आवश्यकतानुसार तन्काउने गरिन्छ । यसरी तान्ने डोरीलाई थरिथरि नागका रुपमा मानिने सिद्धिबहादुर महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “दायाँ जगलाई वासुकी नाग र बायाँ जगलाई शेषनागका रुपमा मानिन्छ ।” रथमा मच्छिन्द्रनाथको पछाडि रक्तवर्ण बोधिसत्व स्थापना गरिन्छ । यसलाई महादेव वा शिवको प्रतीकका रुपमा मानिने महर्जनले बताउनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ