arrow

संक्रमण दर लाग्यो ओरालो, चार जिल्ला कोरोनामुक्त

logo
प्रकाशित २०७७ असार २३ मंगलबार
covid-test-positive-corona.jpg

काठमाडौँ । नेपालमा कोरोना संक्रमण मुक्त भएर घर फर्कनेको सङ्ख्या बढ्दै गएको छ ।  हालसम्म कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या सात हजार ४९९ जना रहेका छन् । यो कूल संक्रमितको ४६.३८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कूल संक्रमितको सङ्ख्या १६ हजार १६८ को आधारमा निको हुनेको दर ४६.३८ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ६८८ जना डिस्चार्ज भएको उनले बताए । आइसोलेशनमा रहनेको सङ्ख्या आठ हजार ६३४ रहेको छ । २५ हजार ७२७ जना मुलुकभरका क्वारेन्टिनमा रहेको उनले जानकारी दिए । 

संक्रमण दर ओरालो
पछिल्ला पाँच दिनमा कूल परीक्षणको तुलनामा संक्रमित हुनेको प्रतिशत निरन्तर घटिरहेको उनले बताए । कोरोना संक्रमण भएर आइसोलेशनमा बसिरहेकाको सङ्ख्या पनि घट्दो रहेको उनको भनाइ छ । यही असार १९ गते नयाँ पोजेटिभको सङ्ख्या ७४० (१६.५ प्रतिशत), २० गते २३२ (५.७ प्रतिशत), २१ गते २९३ (६.२ प्रतिशत), २२ गते १८० (३.८२ प्रतिशत) र आज २०४ अर्थात् ३.३ प्रतिशत नयाँ संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ । 

यस्तै आइसोलेशनमा उपचाररत संक्रमितको सङ्ख्या पनि घट्दै गएको छ । यही असार १९ गते आइसोलेशनमा कूल नौ हजार ८४ संक्रमित उपचारत रहेकामा २० गते नौ हजार ४२, २१ गते नौ हजार २०३, २२ गते नौ हजार ११८ र २३ गते आठ हजार ६३४ जना उपचारका क्रममा रहेका छन् । प्रदेश २ मा महोत्तरी र रौतहट, प्रदेश ५ पाल्पा र सुदूरपश्चिम प्रदेशमा अछाम, कैलाली र बाजुरमा अहिले पनि ५०० भन्दा बढी संक्रमित आइसोलेशनमा उपचाररत रहेको उनले जानकारी दिए । 

पिसिआर परीक्षणमध्ये कूल संक्रमणको दर ६.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यस्तै कोरोना पोजेटिभमध्ये मृत्युदर ०.२ प्रतिशत र जम्मा मृत्युप्रति दश लाख (पोजेटिभ)मा १.२ प्रतिशत रहेको छ । हालसम्म कोरोना संक्रमणबाट ३५ जनाले ज्यान गुमाएका छन् । 

कूल ७७ जिल्ला नै कोरोना प्रभावित भएकामा पछिल्लो समय चार जिल्ला ‘कोरोना फ्री’ भएका छन् । प्रदेश १ को तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्ला जिल्लामा कोरोनाको ‘एक्टिभ केस’ नरहेको प्रवक्ता डा गौतमले बताए । “चारवटा जिल्लामा अहिले कुनै पनि कोरोना संक्रमित बिरामीहरु हुनुहुन्न,” उनले भने । 

कर्णालीमा आइसोलेशन रित्तिँदै
कर्णाली प्रदेशमा कोरोना जितेर घर फर्कने क्रम दिन प्रतिदिन बढ्दै गएपछि आइसोलेशन केन्द्र रित्तिँदै गएको प्रवक्ता गौतमले जानकारी दिए । आइतबार पुष्टि भएको नौजनासहित कूल संक्रमितको सङ्ख्या एक हजार ४९८ पुगेको छ । एक हजार ३१ जनाले कोरोना जितेर घर फर्किएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कोरोनाको इपिसेन्टर बनेको दैलेखमा मात्रै ७०३ जनाले कोरोना जितेर ‘डिस्चार्ज’ भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ