arrow

'सङ्कटका बेलामा सरकार कुर्सी जोगाउनमा व्यस्त'

आगामी महाधिवेशनले कांग्रेसमा नयाँ सन्देश र नयाँ ऊर्जा थप्ने

logo
प्रकाशित २०७७ असार २३ मंगलबार
sasanka-koirala-nc.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कोरोना भाइरसको सङ्क्रमणका कारण उत्पन्न सङ्कट समाधानका लागि सरकारले कुनै प्रभावकारी नयाँ योजना दिन नसकेको बताएका छन् ।

सामाजिक लोकतन्त्रका लागि ऐक्यबद्धता नेपालले आज आयोजना गरेको विपीको प्रजातान्त्रिक समाजवाद र पार्टीको आगामी महाधिवेशन विषयक कार्यक्रममा उनले सरकारले रेल र पानीजहाजका सपना बाँडेर जनताबाट भोट पाएपनि सङ्कटका बेलामा जनतालाई बचाउने भन्दा कुर्सी जोगाउन लागेको आरोप लगाए ।  

महामन्त्री कोइरालाले कांग्रेसले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवाद गरिब नागरिकलाई कसरी धनी बनाउने भन्ने चिन्तन भएको बताउँदै गरिबलाई धनी बनाएर धनी र गरिबबीचको दूरी कम गर्ने विपी कोइरालाको प्रजातान्त्रिक समाजवादी चिन्तन भएको उल्लेख गरे । कांग्रेसको सङ्गठनलाई एकताबद्ध बनाउन र आम नेता कार्यकर्तामा ऊर्जा थप्नका लागि पनि पार्टीको १४औँ महाधिवेशन आवश्यक भएको बताउँदै उनले महाधिवेशन तोकिएको समयमा नै गर्न केन्द्रीय समिति तयार रहेको अवगत गराए।

उनले महाधिवेशनका लागि नयाँ संरचना अनुसारको पार्टीको साङ्गठनिक समायोजनको काम, क्रियाशील सदस्यता वितरण र नवीकरण सकेपछि महाधिवेशन प्रक्रिया अगाडि बढ्ने बताउँदै आगामी महाधिवेशनले कांग्रेसमा नयाँ सन्देश र नयाँ ऊर्जा थप्ने बताए ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले पार्टीका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानमा विपी कोइरालाले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवादलाई समेटिएको बताए । 

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशी, पूर्वसांसद किरण यादव, नेपाल विद्यार्थी सङ्घका पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाई, पूर्वमहामन्त्रीद्वय मनोजमणि आचार्य र प्रतिमा गौतम लगायतले विपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसको आगामी महाधिवेशनका विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ