arrow

सुदूरपश्चिम : कैलालीमा सबैभन्दा बढी संक्रमित, सातको मृत्यु

logo
प्रकाशित २०७७ असार २५ बिहिबार
covid-test-corona.jpg

धनगढी । सुदूरपश्चिम प्रदेशमा बुधबार थप ६७ जनमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि प्रदेशमा कूल संक्रमित तीन हजार ७१७ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सेती प्रादेशिक अस्पतालमा गरिएको नमूना परीक्षणमा कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बैतडी, दार्चुला र डोटी जिल्लाका गरी थप ६७ जनामा कोरोना भइरसको संक्रमण भएको पुष्टि भएको बताए ।

प्रदेशको राजधानी जिल्ला कैलालीमा सबैभन्दा बढी ९८६ संक्रमित पुगेका छन् । योसँगै कैलाली जिल्ला देशभरमै सम्भतः सबैभन्दा बढी कोरोना संक्रमित जिल्लाका रूपमा देखिएको छ । यसैगरी बुधबारसम्म कञ्चनपुरमा ४४०, डोटीमा ५३३, डडेलधुरामा २६९, बाजुरामा ४४४, बैतडीमा २९७, बझाङमा १४३, अछाममा ५८७ र दार्चुलामा १८ संक्रमित पुगेका छन् । बुधबार मात्रै अछामबाट ५५ डिस्चार्ज भई घर फर्किएका छन् । यो समेत गरेर प्रदेशमा हालसम्म ९९३ डिस्चार्ज भई घर फर्किसकेका छन् ।

कोभिड–१९को संक्रमणका कारण सुदूरपश्चिम प्रदेशमा हालसम्म सात जनाको मृत्यु भएको छ । पछिल्ला केही दिनयता प्रदेशमा संक्रमित हुनेको सङ्ख्या दैनिक घट्दै गएको देखिएको छ । समाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार असार १९ गते सबैभन्दा बढी ४८४ जनामा र असार १८ गते ३३३ जनामा संक्रमण देखिएको पुष्टि भएकामा त्यसयताका दिनमा संक्रमित फेला पर्ने सङ्ख्या घट्दै गएको छ ।
 
जबकि असार २० देखि २४ गतेसम्मको चार दिनको अवधिमा जम्मा ३०४ मा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । संक्रमित हुनेमध्ये सबैभन्दा बढी २० देखि २९ वर्ष उमेरका युवायुवती एक हजार २६९ पुगेका छन् । यस्तै नौ वर्षसम्मका १६९ बालबालिक संक्रमित भएका छन् । यद्यपि कोरोना संक्रमणको जोखिम अझै यथावत रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रदेशमा पहिलोपटक गएको चैत १४ गते पहिलो कोरोना संक्रमित भेटिएका थिए । वैशाख महिना शुरु हुँदासम्म पाँच संक्रमित फेला परेकामा त्यसपछि झण्डै एक महिनासम्म नयाँ संक्रमणको दर स्थिर देखिएको थियो । हालसम्म पिसीआर पद्धतिबाट २४ हजार ८८४ को स्वाबको नमूना जाँच भइसकेकामा एक हजार २०३ नमूनाको नतिजा आउन बाँकी छ । यस्तै आरडिटी पद्धतिबाट हालसम्म एक लाख १७ हजार १६८ नमूनाको जाँच भइसकेको छ । बन्दबन्दी खुकुलो पारिएसँगै सर्वसाधारणको चहलपहल र भीडभाड बढ्दै जाँदा रोगको जोखिम पनि बढ्ने देखिएको कतिपयको बुझाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ