arrow

भोटेकोशीको बाढीले हाइड्रो डुबानमा, अर्बौंको क्षति

logo
प्रकाशित २०७७ असार २५ बिहिबार
12bishe-badhi.jpg

मेलम्ची । बुधबार राति सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले मध्यभोटेकोशी जलविद्युत् आयोजना क्षेत्र डुबानमा परेको छ । निर्माणाधीन १०२ मेगावाटको सो हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ । एक जना चिनियाँ प्राविधिक बेपत्ता भएको आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी दिए । 

आयोजनाका लागि आवश्यक उपकरण राख्ने गरिएको भण्डार केन्द्रसमेत बाढीले क्षतिग्रस्त पारेको छ । उनले भने, “आयोजनाका लागि तीन वटा  टर्बाइन रनर, जीआइएस र जिटी ९जेनेरेटर ट्रान्सफर्मर० बाहेक सबै उपकरण ल्याएर त्यहाँ राखिएको थियो । ती सबै बाढीले बगाएको अनुमान छ । ”

बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले आयोजनामा व्यापक क्षति भएको बताए । “ड्याममा क्षति भएको छ । पावर हाउसमा पहिरो गएको छ । आयोजनाका सामान राखेको गोदाम केही बगाएको छ भने केही पुरिएको छ”, उनले भने । मध्यभोटेकोशी आयोजनामा पुरिएका सामान क्रेनले निकाल्ने काम भइरहेको उनले जानकारी दिए । 

सभामुमख प्रभावित क्षेत्रमा
सभामुख अग्निप्रसाद सापकोटा बाह्रबीसेको बाढी प्रभावित क्षेत्रमा पुग्नुभएको छ ।   यसैगरी वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल र आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेल पनि घटनास्थल पुग्नुभएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । 

चार घाइतेलाई काठमाडौँ लगियो 
बाह्रबीसे बाढीमा परी घाइते भएका चार जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ । बाढीमा परी घाइते भएका सविता बस्नेत र सुवेश तामाङलाई कैलाश एयरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । घाइते फुर्वा तामाङ र अर्का १० दिने शिशुलाई माउन्टेन एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँको ह्याम्स अस्पताल लगिएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ