arrow

राष्ट्रपति मर्माहत, उपराष्ट्रपतिबाट चिन्ता व्यक्त

logo
प्रकाशित २०७७ असार २५ बिहिबार
president_bhandari.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको बाह्रबीसेमा बाढीबाट दुई जनाको मृत्यु र धेरै मानिस बेपत्ता भएकामा आफू मर्माहत भएको बताएकी छन् । 

बिहिबार अपराह्न ट्विट गरी राष्ट्रपतिले बाढीले घर र भौतिक संरचनामा क्षति पुर्‍याएकामा दुःख व्यक्त गर्नाका साथै पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायको ध्यान आकृष्ट गरेकी छन्।

साथै उपराष्ट्रपति नन्दबहादुर पुनले भिषण वर्षाका कारण बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

उपराष्ट्रपतिले बिहिबार विज्ञप्तिमार्फत बाढी–पहिरोमा परेर ज्यान गुमाउनुभएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

उपराष्ट्रपतिले बाढी–पहिरोमा धेरै जना मानिस बेपत्ता भएकोमा उनहरुको अवस्थाको बारेमा गहिरो चिन्ता व्यक्त गर्दै बेपत्ताको खोजी र उद्धारमा राज्य संयन्त्रले आफ्नो कामलाई अझै प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् । बाढी–पहिरोका कारण विस्थापित भएकाका लागि उचित राहत र घाइतेको गुणस्तरीय स्वास्थ्य उपचारका लागि उनले सरकारको ध्यानाकर्षण गराए ।

उपराष्ट्रपतिले देशले विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) को सामना गरिरहँदा वर्षा शुरु भएकाले सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउन र व्यवस्थित पूर्वतयारी गर्न सबै पक्षलाई आग्रह गरेका छन् । उनले विगत केही दिनयता देशका विभिन्न भागमा बाढी–पहिरोका कारण ज्यान गुमाउनुभएकाप्रति पनि श्रद्धाञ्जलि व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ