arrow

सार्वजनिक सवारी साधन चल्न दिइने

logo
प्रकाशित २०७७ असार २५ बिहिबार
yatayat4.jpg

काठमाडौं । सरकारले छोटो दूरीमा सार्वजनिक यातायात सञ्चालनमा ल्याउन दिने भएको छ । कोरोना संक्रमण फैलनसक्ने भन्दै गत चैत ११ गतेदेखि बन्द भएको सार्वजनिक सवारी साधन आंशिक रुपमा सञ्चालन गर्न दिने निर्णय भएको हो । 

 यही असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी साधन चल्न दिने निर्णय गरेको सरकारका प्रवक्ता  डा युवराज खतिवडाले जानकारी दिए । कोरोनाको संक्रमण हुने जोखिमलाई न्यून गर्दै सम्पूर्ण सुरक्षाका मापदण्ड पूरा गरेर सवारी साधनमा ५० प्रतिशत मात्रै यात्रु राखेर सञ्चालन गर्न दिइने भएको छ । काठमाडौँ उपत्यकाभित्र र बाहिरको हकमा सम्बन्धित जिल्लामा मात्रै सार्वजनिक सवारी साधन चल्न सक्नेछन् ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले सार्वजनिक यातायात सञ्चालनका लागि तयारी गर्नुपर्ने भएकाले केही दिन लाग्नसक्ने तर ट्याक्सीका हकमा भने तत्कालैबाट चल्नसक्ने जानकारी दिए । 

विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को संक्रमण सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को गत जेठ २८ गते र असार १५ गतेको निर्णयानुसार संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी भएको आदेशमा केही हेरफेर गरिएको अर्थमन्त्री डा  खतिवडाले जानकारी दिए  । सोही व्यवस्थाबमोजिम काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभर मात्र सञ्चालन हुने यात्रुवाहक सवारी साधनका हकमा सो व्यवस्था लागू हुनेछ । 

काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोर–बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सवारी साधन सञ्चालन हुन सक्नेछ । निजी सवारी साधनमा चालकबाहेक थप दुई जनासम्म र परिवारभित्रका पाँच वर्षसम्मका बालबालिका मात्र सवार हुने र जोर–बिजोर प्रणाली भने कायम रहनेछ । जोर–बिजोर प्रणाली मोटर साइकलका हकमा समेत लागू हुनेछ । 

काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाका हकमा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन हुने यात्रुवाहक सवारी सार्वजनिक यातायात सञ्चालन हुन पाउनेछन् । सरकारको निर्णयानुसार चालकसहित सिट क्षमताको ५० प्रतिशत यात्रु रहन पाउनेछन् । यस्तै एक पङ्क्तिको सिटमा सामाजिक दूरी कायम हुनेगरी एक जनामात्रै राख्ने, सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, सवारी साधनमा यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ । यस्तै चालक तथा सहचालकले समेत अनिवार्यरुपमा मास्क, भाइजर र पञ्जा लगाउने र सवारी साधनलाई दैनिक निसंक्रमण गराउनुपर्नेछ । 

सरकारले तोकेअनुसार आगामी साउन ६ गतेसम्मका लागि मात्रै ट्याक्सीबाहेक अन्य सवारी साधनका हकमा तोकिएको भाडा दरको ५० प्रतशितसम्म थप भाडा लिन पाइनेछ । 

यस्तै उद्योग, प्रतिष्ठान र निजी सेवाप्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधनले पनि सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्नेछ । सबै यात्रु्ले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, स्यानिटाइजरको व्यवस्था गर्ने तथा सवारी साधनलाई दैनिक निसंक्रमण गराउनु पर्नेछ । 

यातायात व्यवसायीले लकडाउनका कारण आफूहरु मर्कामा परेको भन्दै तत्काल सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिन माग गर्दै आएका थिए । कास्कीमा त बैंक तथा वित्तीय संस्थाले किस्ता तिर्न ताकेता गरेको भन्दै सवारी साधनको चाबी नै बुझाएका थिए । यस्तै ट्याक्सी चालक तथा व्यवसायीले पनि आफूहरु मारमा परेको भन्दै आफ्नो सवारी साधन सञ्चालन गर्न माग गर्दै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ