arrow

नेकपालाई चिनियाँ प्रशिक्षण कस्तो थियो देखिदैछः सिटौला

‘कांग्रेस यही नीतिले चल्ने कि बदल्ने ?’

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २६ शुक्रबार
krishna-sitaula.JPG

काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चिनियाँ कम्युनिष्ट पार्टीले नेकपाका नेताहरुलाई दिएको प्रशिक्षण के थियो र कस्तो भयो भन्ने देखिन थालेको बताएका छन्। 

गणेशमान सिंह तथा शहिद स्मृती शान्ति प्रतिष्ठानले शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा सिटौलाले चिनियाँ राष्ट्रपतिको भ्रमण र त्यसपछि नेपालका कम्युनिष्ट पार्टीका नेताहरुलाई दिइएको प्रशिक्षणपछि मुलुकको आन्तरिक र बाह्य अवस्था बिग्रदै गएको बताए। 

‘चिनियाँ राष्ट्रपति नेपाल भ्रमणपछि नेकपाका नेताहरुलाई भएको प्रशिक्षण कस्तो भयो भन्ने अहिलेको अवस्थाले देखाउँदै छ, सरकार चिनियाँ शैलीमा पुरै राज्य सत्ता कब्जा गर्ने शैलीमा हिड्दैछ, नेपालको बाह्य अवस्था र आन्तरिक अवस्था दुबै कमजोर अवस्थामा पुग्यो,’ सिटौलाले भने । 

सिटौलाले नेकपामा देखिएको सत्ताको झगडा मिलाउन चिनियाँ पक्षबाट भइरहेको दौडधुपले समेत त्यो देखाएको बताए । 

‘प्रशिक्षण त भयो, कताकता डगमगाउँछन कि भनेर बेला बेला दौडधुप पनि भइरहेकै छ, सत्ताको झगडा मिलाउन खुल्लमखुल्ला चीन खुलिरहेकै छ,’ सिटौलाले थपे । उनले पञ्चशिलमा आधारित असंलग्न परराष्ट्र नीतिलाई छोडेर कुनै एक छिमेकी मुलुकतर्फ ढल्कने नेकपा सरकारको नीतिका कारण नेपालको मित्रराष्ट्रहरुसँग सम्बन्ध बिग्रदै गएको बताए।

सिटौलाले सरकार पुरै राज्य संयन्त्रलाई क्याप्चर गर्ने दिशाबाट अघि बढिरहेको समेत बताए। ‘प्रधानन्यायाधिशलाई बोलाएर यसो गर भन्ने, लोकसेवाका प्रमुखलाई बोलाएर यसो गर भन्ने, तर्साउने, संवैधानिक व्यवस्थालाई कमजोर बनाएर पुरै राज्य क्याप्चर गर्न खोज्ने, संविधानलाई सिलसिलेवार ढंगले कमजोर बनाउने काम भइरहेको छ ?,’ सिटौलाले भने । 

सिटौलाले कांग्रेसलाई सरकारमा जान हतारो नभएको भन्दै प्रतिपक्षमा नै बसेर आगामी निर्वाचनम भाग लिने समेत स्पष्ट पारे । ‘कांग्रेस सत्तामा जान्छ कि भन्ने कतिलाई लागेको होला, कांग्रेसलाई त्यो हतारो छैन, आगामी निर्वाचनमा कांग्रेस प्रतिपक्षमा नै बसेर सहभागी हुन्छ।’

उनले कांग्रेसको नीति तथा सिद्धान्त यहि कायम राख्ने कि बदल्ने भन्नेमा भने बहस आवश्यक भएको बताए । जनताले कम्युनिष्टको विकल्प खोजेको भन्दै त्यो विकल्प कांग्रेस हुने वा नहुने भने अबको कांग्रेसको बाटोले देखाउने उनको भनाइ छ । 

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष समेत रहेका नेता भीमसेनदास प्रधानले आगामी महाधिवेशनपछि कांग्रेस कस्तो बन्ने भन्ने कांग्रेसकै हातमा रहेको बताए । 

कार्यक्रममा तिर्थराम डंगोलले कांग्रेसमा विगतदेखि नै परिवारबाद हावी भएका कारण कांग्रेसको छवी खस्कदै गएको बताए । 

प्राध्यापक कपिल श्रेष्ठले चीनले नेपाललाई तिव्वत बनाउने वा नेपालीलाई उईगर बनाउने दिशाबाट अघि बढिरहेको भन्दै कांग्रेसले शशक्त भूमिका देखाउनु पर्ने बताए। 

लेखक श्रीकृष्ण अनिरुद्र गौतमले कांग्रेसको नेतृत्व जस्तै पार्टी भएकाले नेतृत्व नबदलेसम्म पार्टी नबदलिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ