- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अख्तियारको कारबाहीमा पर्ने डले मालपोत र नापी कार्यालयमा सकेसम्म कर्मचारी जान नचाहेपछि यी दुई कार्यालयमा ठूलो संख्यामा कर्मचारीको अभाव देखिएको छ ।
मालपोत कार्यालयमा कर्मचारीको अभाव हुन थालेपछि भूमि व्यवस्थापन विभागका महानिर्देशक शेषनारायण पौडेलले सामाजिक सञ्जालमा लेखी मालपोतमा सरुवा भइ आउन कर्मचारीहरुलाई आब्हान गरेका छन् । उनले रिक्त कर्मचारीको विवरण पनि खुलाएका छन् । उनले खुलाएको विवरण अनुसार मालपोत कार्यालयमा झण्डै ५ सय दरवन्दी अभाव छ । त्यसमध्ये एक सय एक पदमा शाखा अधिकृतको दरबन्दी खाली छ । ५९ उपसचिव दरबन्दीमा २६ उपसचिव खाली भएको उनले जनाएका छन् ।
पौडेलले फेसबुकमा कर्मचारीलाई सरुवा भइ आउन आब्हान गरेको एक हप्ता नाघिसकेको छ तर अहिलेसम्म मालपोतमा काम गर्न कर्मचारीहरुले त्यती रुचि देखाएका छैनन । दुई वर्ष अघि समायोजन फाराम भर्दा पनि मालपोत रोज्ने कर्मचारीहरु निकै कम थिए ।
फेसबुकमा पौडेलले लेखेका छन, ‘समस्यासँग डराएर होइन, डटेर सामना गरौ, भूमी प्रशासनको सुधारमा योगदान गरौ’ तर पौडेलले भनेजस्तो भूमि प्रशासन सुधारमा योगदान गर्न कर्मचारीले त्यती चासो देखाएनन् ।
नापी कार्यालयमा कार्यरत कर्मचारी नापी सेवाका हुन्छन भने मालपोत कार्यालयमा कार्यरत कर्मचारी प्रशासन सेवाका हुन्छन् । नापी सेवाका कर्मचारीको कार्यथलो नापी कार्यालय मात्रै हुन्छ । उनीहरु नापी कार्यालयभन्दा अन्य कार्यालयमा जान पाउँदैनन । त्यस्तो हुँदा पनि अधिकांश नापी कार्यालयमा कर्मचारीको अभाव हुने गरेको छ ।
मालपोत र नापीमा कर्मचारी आउन नचाहनुमा मुख्य कारण अख्तियारको कारबाही पर्ने डर हो । यसबाहेक जग्गा सम्बन्धी काम गराउन विभिन्न क्षेत्रबाट आउने दबाब पनि अर्को कारण हो,मालपोत कार्यालयका एक कर्मचारी बताउँछन् ।
अहिले मालपोतका मात्रै ३ सय कर्मचारीले अख्तियारले मुद्दा खेपीरहेका छन् । यसैगरी नापीका २ सय कर्मचारीले अख्तियारको मुद्दा खेपेका छन् ।
अख्तियारले मुद्दा दायर गर्ने वित्तिकै ती कर्मचारीको जागिरी निलम्बनमा पर्छ । अदालतले सफाई दिन लामो समय लाग्ने र त्यसबेलासम्म सामाजिक रुपमा पनि उनीहरुको मानमर्दन हुने भएकोले सकेसम्म नापी र मालपोतमा कर्मचारी जान चाहन्नन् ।
त्यसो त, सुरु देखि नै मालपोत र नापी कार्यालयका कर्मचारी अख्तियारको तारो हुने गरेका छन् । ‘मालपोत कार्यालयमा काम गर्ने कर्मचारीलाई विभिन्न किसिमको मनोवैज्ञानिक त्रास सिर्जना गर्ने गरिन्छ । उनीहरूलाई अख्तियारको डर मात्र हुँदैन, कानुन बाहिर गइ काम गराउन विभिन्न किसिमको दबाब दिने गरिन्छ’ भूमि व्यवस्थापन विभागका महानिर्देशक पौडेलले भने,‘त्यसैले मालपोत कार्यालयमा सकेसम्म कर्मचारी आउन चाहदैन्नन् ।’
भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनक जोशीले पनि देशभरका मालपोत र नापी कार्यालयमा ठूलो संख्या कर्मचारीको अभाव भएको बताए । रिक्त दरबन्दीमा पदपूर्ती गर्न संघीय मन्त्रालयललाई पटक पटक आग्रह गरेको पनि उनले सुनाए ।
नापी र मालपोत कार्यालयमा सरुवा भइ जाने कर्मचारीले आफ्नो जागिरलाई जोखिम ठान्ने गर्छन । त्यस्तो जागिरीबाट अवकाश पाए पनि सुख नपाउने उनीहरुको गुनासो छ ।
‘नापी र मालपोतका पुराना पुराना ढड्डा फायल खोज्दा एउटै कागजमा तीनदेखि पाँच जनासम्मले हस्ताक्षर गरेका हुन्छन, त्यसमा एउटाले गल्ती गर्ने वित्तिकै सबैलाई मुछिन्छ । कुन बेला को मुछिन्छ, थाहा हुँदैन,’ मालपोत कार्यालय लगनखेलका एक कर्मचारीको गुनासो छ, ‘त्यसैले मालपोत र नापीमा काम गर्ने कर्मचारीहरुले अवकास पछि पनि सुख पाउँदैनन ।’
अरु कार्यालयमा कार्यरत कर्मचारीले सामान्यतया अवकाश पछि सुख पाउने तर नापी र मालपोत कार्यालयमा कार्यरत कर्मचारीले बाँच्दासम्म अख्तियारको त्रासले छुने उनको गुनासो छ । ‘बाँच्दासम्म अख्तियारको त्रासले छाडदैन’ती कर्मचारी भन्छन् ।
नापी र मालपोतमा कर्मचारी जान नचाहे पनि ती कार्यालयहरुमा हुने भ्रष्ट्राचार रोकिएको छैन । अख्तियारको स्टीङ अप्रेसनहरुमध्ये धेरै अप्रेसनमा नापी र मालपोतका कर्मचारी जोडिएका हुन्छन। यती मात्र नभइ, अख्तियारले सार्वजनिक गर्ने वाार्षिक प्रतिवेदनहरूमा भने मालपोत कार्यालय र नापी कार्यालयमा हुने आर्थिक अनियमितता र भ्रष्ट्राचारको मात्रा घटेको हुँदैन, बरु हरेक वर्ष नापी र मालपोतमा भ्रष्ट्राचार बढेको देखिन्छ ।
नापी कार्यालयमा कार्यरत एक उच्च कर्मचारी भन्छन, मालपोत र नापीका हुने भ्रष्ट्राचारमा विभिन्न राजनीतिक पहुँच पनि जोडिएको हुन्छ, कर्मचारीलाई काम गराउन माथिल्लो निकायबाट दबाब आउछ अनि फस्छन कर्मचारी । पहुँचवाला व्यक्ति र नेता भने सजिलै उम्कन्छन ।’ यस्तो परम्परा अन्त्य हुनुपर्ने उनको भनाइ छ ।