arrow

पहिचानमा आधारित संघीय गठबन्धनद्वारा ओली सरकार विरुद्ध आन्दोलन घोषणा

रेशम चौधरी छुटाउनेदेखि संविधान जलाउनेसम्मको कार्यक्रम

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २७ शनिबार
pahichan-andolan-resham.jpg

काठमाडौं । पहिचानमा आधारित संघीय गठबन्धनले पहिचान विरोधी संविधान संशोधन गराउन तथा राजनीतिक बिद्रोहलाई अपराधिक घटना बनाई रेशम चौधरीसहित ११ जनालाई जेलमा राखिएको भन्दै उनीहरुलाई मुक्त गराउन आन्दोलनको घोषणा गरेको छ । शनिबार काठमाडौंको अनामनगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गरी सो गठबन्धनले आफ्ना मागहरु सरकारद्वारा संवोधन गर्न आनाकानी गरेकाले असोज ३ गते संविधान जलाउने र अझै अटेर गरे कडारुपले अघि बढ्ने चेतावनीसमेत दिएका छ।

गठबन्धनमा आबद्ध खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आर के खम्बुले नेपाली जनता र आदिवासी तथा जनजातिहरुको चाहना विपरित जारी गरिएको संविधान यथासक्य संशोधन गर्न माग गरे । अध्यक्ष खम्बुले २०७२ साल भदौ ७ गते कैलाली टिकापुरमा घटेको घटना आपराधिक नभई आदिवासीहरुको बिद्रोह भएको बताउँदै भने,“कम्युनिष्ट मुकुण्डो ओडेका तानाशाहहरुले आफूलाई नसच्याए अन्त्य हुनेछौ।”

त्यसैगरी थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले सांसद रेशम चौधरीसहितका ११ जनालाई अझै पनि सरकारले अपराधी बनाएर कैदमा राखेकोले उनीहरुलाई निसर्त रिहाई गर्नुपर्ने बताए। कोरोना जस्तो महासंकटमा पनि भ्रष्ट, तस्कर र दलालहरुले लुटको स्वर्ग बनाउन छुट दिएको आरोप लगाउँदै उनले केपी ओली नेतृत्वको वर्तमान सरकार असफल भएको बताए।

गठबन्धनका वक्ताहरुले दश वर्षे जनयुद्ध र जनआन्दोलनबाट नयाँ संविधान बने पनि उल्टै संविधानको कार्यान्वयनको नाममा जनविरोधी ऐन, कानून बनाएर सदियौंदेखि उत्पीडनमा पारिएका जाती, वर्ग, लिङग, क्षेत्रका जनभावनालाई उपेक्षा गरिएको आरोप लागाउँदै यसको संशोधन गर्नु पर्ने धारणा राखे ।

पत्रकार सम्मेलनमा उनिहरुले राज्यको पुनरसंरचना गर्दा प्रदेशको नामाङ्कन तथा सीमाङ्कन पहिचान र सामर्थ्यका आधारहलाई टेकेर बन्नुपर्नेमा जनभावना विपरित सात प्रदेश लादिएको भन्दै आक्रोश व्यक्त गरे। अब राज्यपुनर्संरचना गर्दा पहिचान सहित एघार प्रदेश बन्नाउन आन्दोलन गर्ने बताए ।

प्रेस वक्तव्यमा भनिएको छ ‘वर्तमान केपी ओली नेतृत्वको सरकार राष्ट्रिय गौरवका योजना, विकास निर्माण, पूर्वाधार तथा जनहितकारी कार्य गर्न छोडेर सत्ता पद कुर्सी लोलुपतामा राजनीतिक फोहरी खेलका गेम्लर, खोक्रो आडम्बरी क्रान्तिकारी राष्ट्रवादको ठूलठूला हावादारी गफ दिदै जनमतलाई अबमुल्यन गर्दै भ्रष्टाचारीहरुको संरक्षक बन्दैछन् । सरकारले निर्मला हत्याकाण्ड, ३३ किलो सुनकाण्ड, होली वाइन, वाइडबडी बिमान खरिद प्रकरण, एनसेल लाभान्स कर छली काण्ड, बुढी गण्डकी (गेजुवा), मेलम्ची (सिएमसी) काण्ड, ललिता निवास काण्ड, गुठी विधेयक, यती होल्डिङ कम्पनीलाई गोकर्ण रिसोर्टको जग्गा लिज काण्ड, एमसिसी, सेक्युरिटी प्रेस खरिद टेप काण्ड आदि काण्डै काण्डको इतिहास रच्दैछन्। सरकारले यी विभिन्न काण्डमा संलग्न तथा सरोकार राख्ने आफ्ना भ्रष्ट मन्त्री, सांसद, नेतालाई संरक्षण गर्ने अशोभनीय एवं निन्दनीय कार्यहरु गर्दै आइरहेकोले यसको औचित्य समाप्त हुँदैछ।’

पत्रकार सम्मेलनमा पहिचानमा आधारित संघीय गठबन्धमा आवद्ध नेपाः राष्ट्रिय पार्टी केन्द्रीय समिति अध्यक्ष डा. विजय प्रकाश सैजु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च केन्द्रीय समिति अध्यक्ष कुमार लिङ्देन (मिराक), नेपाल लोकतान्त्रिक पार्टी केन्द्रीय समिति अध्यक्ष भानुराम थारु, खसान राष्ट्रिय संघर्ष समिति केन्द्रीय समिति संयोजक प्रेम बहादुर खाती, तराई मधेश राष्ट्रिय परिषद् केन्द्रीय समिति संयोजक सरोज राय, नेपाल राष्ट्रिय परिषद् केन्द्रीय समिति संयोजक अशोक मर्हजन, मगरात संघर्ष समिति केन्द्रीय समिति संयोजक राम मगर लगायतले सरकारले आफ्ना मागहरु पुरा नगरे दशै, तिहार तथा छठपछि कडा आन्दोलनमा जाने बताए।  गठवन्धनले प्रचारात्मक कार्यक्रमदेखि टिकापुरा घटना भएको दिन भदौ ७ गतेलाई देशव्यापी आदिवासी बिद्रोहका दिनकारुपमा मनाउने र असोज ३ गते संविधान जलाउनेसम्मको दुई महिने कार्यक्रम घोषणा गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ