arrow

मिलेन ओली- दाहाल विवाद, फेरी सर्‍यो स्थायी कमिटी बैठक

logo
प्रकाशित २०७७ साउन २ शुक्रबार
oli-prachanda.gif.gif

काठमाडौँ । शुक्रबारका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक यही साउन ४ गतेका लागि सरेको छ । आन्तरिक विवादमा सहमति खोज्न शीर्ष नेताहरुको छलफल भइरहेकाले यसअघि पनि बैठक पटक पटक सर्दै आएको छ । 

नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले शुक्रबार बिहान ११ बजेका लागि तोकिएको बैठक शुक्रबारै अपराह्न ३ बजे बस्ने भनिएकामा पुनः सरेर आइतबार ३ बजे बस्ने तय भएको जानकारी दिए । पार्टी र सरकारको समन्वय, शक्तिको बाँडफाँट, एकताका बाँकी काम, एमसिसी सम्झौता अनुमोदन आदि कार्यसूची स्थायी कमिटीमा राखिएको छ । 

आन्तरिक विवाद मिलाउन शीर्ष नेताको छलफल चलिरहेकाले बैठक पटकपटक सर्दै आएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल र अन्य नेताहरुबीच विभिन्न चरणमा छलफल चल्दै आएको छ  भने पार्टी एकता जोगाउन दोस्रो तहका नेता र अन्य कार्यकर्ताले दबाब दिँदै आएका छन् । स्थायी कमिटीको बैठक गत असार १० गतेदेखि शुरु भएको थियो ।

यसअघि गत असार २६ गते डाकिएको बैठक देशभर भइरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लामा जनधनको ठूलो क्षतिसमेत भइसकेका अवस्थामा सम्पूर्ण पार्टी पङ्क्तिलाई उद्धार एवं राहतमा लाग्न निर्देशन दिँदै शुक्रबारसम्मका लागि बैठक स्थगन गरिएको सूचना पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटमार्फत दिएका थिए । 

यही असार १० गतेदेखि चालु स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेता भित्रभित्र लागेको भन्ने प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेको विषयले प्रवेश पाएपछि नेताहरुबीचको दूरी बढेको हो । 

यी नयाँ विषयले पूर्वानिर्धारित कार्यसूची प्रभावित हुँदै आएका छन् । साथै यही असार १८ गते सरकारले सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य गराएको विषय पनि नेकपामा विवादित बनेको छ । संसद् नभएको स्थितिमा राजनीनितक दलसम्बन्धी खारेज भएको अध्यादेश पुनः ब्यूँतने संशय पैदा हुँदा हाल त्यस्तो योजना नरहेको प्रधानमन्त्री ओलीले बताएका छन् । अध्यक्ष दाहालले पनि राष्ट्रपतिसँगको भेटमा परामर्शबिना कुनै अध्यादेश जारी नगर्न आग्रह गर्दै आएका छन्। 

यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफूले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेबापत सरकार हटाउन भारतीय पक्ष र देशभित्रैबाट पहल भएपनि नक्सा छापेबापत सरकार परिवर्तन हुने नेपालको राष्ट्रियता त्यति कमजोर नभएको अभिव्यक्ति दिएका थिए । 

स्थायी कमिटीमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसीसीलगायत कार्यसूची छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ