arrow

सर्वोच्चमा बढ्यो मुद्दा फछ्र्यौट

logo
प्रकाशित २०७७ साउन २ शुक्रबार
supreme-court-of-nepal.jpeg

काठमाडौँ । सर्वोच्च अदालतमा मुद्दा फछ्र्यौट बढ्दो छ ।  आर्थिक वर्ष २०७५-०७६ को तुलनामा आव २०७६-०७७ मा एक हजार ५६६ थान मुद्दा बढी फछ्र्यौट  भएको शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले जानकारी दिए । 

आर्थिक वर्ष २०७५-०७६ मा नौ हजार १९३ मुद्दा फछ्र्यौट भएकोमा गत आर्थिक वर्षमा १० हजार ७५९ थान मुद्दा फछ्र्यौट भएका छन् । अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरिआएका २३ हजार ९५२ थान र आव २०७६-०७७ मा नयाँ दर्ता भएका ११ हजार १७९ गरी कूल ३५ हजार १३१ मुद्दामध्ये १० हजार ७५९ मुद्दा फछ्र्यौट भएका छन् । 

यसैगरी गत आर्थिक वर्षमा उच्च अदालतमा ९०.३३ प्रतिशत र जिल्ला अदालतको ५८.३७ प्रतिशत मुद्दा फछ्र्यौट भएको मुख्य रजिष्ट्रार निरौलाले बताउनुभयो । उनका अनुसार लकडाउनको अवधिमा बन्दी प्रत्यक्षीकरण र कोभिड–१९ सँग सम्बन्धित एक हजार ८७५ थान मुद्दा दर्ता भएको छ । 

सर्वोच्चमा बन्दाबन्दीको वेला १० हजार ७५३ मुद्दा दर्ता भएकोमा दुई हजार ४१५ मुद्दा फछ्र्यौट भएका छन् । यो बन्दाबन्दीको वेला दर्ता भएका कूल मुद्दामध्ये २२.४५ प्रतिशत  फछ्र्यौट भएको हो । सर्वोच्चले बन्दाबन्दीको बेलामा सूचना प्रविधिको प्रयोग गर्दै १४ वटा उच्च अदालत र मातहतका अदालतमा भर्चुअल रुपमा अदालतको निरीक्षणसमेत गरेको छ । 

मुख्य रजिष्ट्रार निरौलाले भिडियो कन्फरेन्सबाट अदालतमा बहस गर्ने व्यवस्था मिलाउन थालिएको जानकारी दिए । ‘‘विदेशमा पनि भिडियो कन्फरेन्सबाट मुद्दाको बहस हुन थालेका छन्,’’ उनले भने, ‘‘कानून व्यवसायी अदालत नपुग्नुपर्ने र मुद्दा चाँडो किनारा लगाउनका लागि भिडियो कन्फरेन्सबाट मुद्दाको बहस गर्न थालिएको हो ।’’ 

सर्वोच्चमा पाँच वर्ष नाधेका ७२५ मुद्दा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ