arrow

सुरक्षाकर्मी- कर्मचारीमा कोरोना देखिएसँगै संक्रमण समुदायमा फैलिएको आशंका

logo
प्रकाशित २०७७ साउन ४ आइतबार
corona-test-nepalgunj.gif

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकामा शनिबार १० जनामा संक्रमण पुष्टि भएसँगै बर्दियामा कोरोना संक्रमितको सङ्ख्या २२० पुगेको छ । १९२ जना उपचारपछि निको घर फर्किएका छन् । तर शनिबारमात्रै बर्दियाको ठाकुरबाबा नगरपालिकामा स्वास्थ्यकर्मी, सुरक्षाकर्र्मी, कर्मचारी गरी १० जनामा कोरोना संक्रमण थप पुष्टि भएको छ । 

ठाकुरबाबा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्र्मी, सुरक्षाकर्मी र कर्मचारीमा कोरोना देखिएसँगै कोरोना संक्रमण समुदायमा फैलिएको आशंका गरिएको छ । संक्रमण देखिएकामध्ये स्वास्थ्यकर्मी र सुरक्षाकर्र्मी क्वारेन्टिन व्यवस्थापनमा खटिएका थिए ।

नगरपालिका क्षेत्रमा खटिएका १० जनालाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय र नौवटै वडा कार्यालयबाट हुने आकस्मिकबाहेक सबै सेवा तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ । यस्तै नगरपालिकामा हुने सबै किसिमका सभा, बैठक, भेला, गोष्ठी अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए ।
 
अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, बजार क्षेत्रमा ननिस्कन तथा निस्कनै परे अनिवार्य मास्क लगाउन र भौतिक दूरी कायम राख्न नगरपालिकाले अह्वान गरेको बताएको छ । क्वारेन्टिनमा संक्रमण पुष्टि भएका सबै जना नगरपालिका क्षेत्रमा खटिएका हुन् । उनीहरुको पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको हो । संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा झण्डै सम्पर्कमा रहेकाको १०० जनाको पिसिआर परीक्षण गर्नुपर्ने देखिएको छ ।

आज बिहानदेखि नगरपालिका क्षेत्रका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्र्मी र सुरक्षाकर्मीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न शुरू गरिएको छ । नगरपालिकमा संक्रमितको सङ्ख्या २४ योभन्दाअघि नै पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ