arrow

मुग्लिन सडकको पहिरो हटाउन दिनभर लाग्ने

logo
प्रकाशित २०७७ साउन ५ सोमबार
mugling-narayangadh.jpg

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलोमा सोमबार बिहान खसेको पहिरो थप समस्या नभएमा पन्छाउन दिनभर लाग्ने भएको छ । सो ठाउँमा माथिबाट बिजुलीका दुई खम्बासहित ठूलो पहिरो खसेको छ । 

इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो ठाउँ नारायणगढबाट ३१ दशमलव ५ किलोमिटर दूरीमा पर्छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इञ्जिनीयर  कृष्णराज अधिकारीका अनुसार पहिराले करिब ६० मिटर क्षेत्र ढाकेको छ । पहिरो पन्छाउनका लागि मुग्लिनतर्फबाट एउटा लोडर तथा नारायणगढ तर्फबाट एउटा लोडर र एउटा व्याकहु परिचालन गरिएको छ । 

भाडामा पाइएमा मुग्लिनतर्फबाट एउटा व्याकहु प्रयोग गर्नका लागि खोजी भइरहेको उनले जानकारी दिए । थप वर्षा नभएमा दिनभरमा पहिरो सफा गरिसकिने जनाइएको छ । पानी परिरहेको र पहिरो खसिरहेकाले काम गर्न कठिन भएको छ । सो सडकमा अन्य पहिरो खस्न सक्ने ठाउँमा नियन्त्रणको काम भइसके पनि त्यस स्थलमा काम गर्न शुरु गरेलगत्तै पहिरो खस्न थालेको हो । 

अधिकारीका अनुसार सो सडक र पृथ्वी राजमार्गका ठाउँठाउँमा साना पहिरो खसिरहेका छन् । डिभिजन सडक कार्यालयले नौबीसेमा एउटा लोडर तथा गजुरीमा एउटा लोडर र एउटा व्याकहु तयारी अवस्थामा राखेको छ ।  पहिरो खस्ने ठाउँमा तत्काल परिचालन गरेर सडक सफा गर्ने काम भइरहेको उनले बताए । यस क्षेत्रमा दुई दिनयता निरन्तर वर्षा भइरहेको छ । सडक अवरुद्ध हुँदा अत्यावश्यक कामका लागि हिँडेका यात्रु, बिरामी र सामग्री बोकेका ट्रक बाटामा रोकिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ