arrow

नेपाल भारत सम्वन्ध चिसिदा गोर्खा सैनिकहरु चिन्तित, सम्वन्धलाई अझ बलियो बनाउन आह्वान

सामाजिक सुरक्षा भत्ता काटिएका गोर्खा सैनिकहरुको सडकमा उत्रने चेतावनी, सामाजिक सम्मान खोसेको गुनासो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन ६ मंगलबार
gurkha-gorkha-army.jpg

काठमाडौं । संयुक्त भूपू सैनिक एवम प्रहरी कल्याणकारी महासंघले कोरोना महामारीलाई देखाउँदै आफ्नो भत्ता काटिएकोमा आपत्ति जनाएको छ । महासंघले सदियौं पुरानो नेपाल-भारतको मैत्री सम्बन्धलाई अझै बलियो बनाउन अनुरोध गरेका छन्। दुई मुलुकबीचको नाता दुई छिमेकी देशको आधारमा मात्र नभएर धार्मिक, सांस्कृतिक तथा पारम्परिक सभ्यता, भौगोलिक समानता र निर्भरतामा आधारित भएको जनाएको छ । 

महासंघले एक विज्ञप्ती जारी गर्दै भनेको छ, "हाम्रो सम्बन्ध जनस्तरसँग जोडिएको छ । हामी भारतीय भूपू सैनिकहरुको लागि दुबै देश बन्दनीय छन् । त्यसकारण यो सदियौं पुरानो सम्बन्धलाई अझै बलियो बनाउन नेपाल सरकारसँग अनुरोध गर्न चाहन्छौं । कोभिड-१९ महामारीकै समयमा पुरानो सीमा विवादलाई लिएर दुई देशबिच जो तिक्तता देखा परेको छ यसले यस महासंघमा आबद्ध एक लाख पचास हजार भूपू सैनिक तथा ५० हजार सेवारत भारतीय सैनिक र उनका परिवारहरु निकै चिन्तित रहेको अवगत गराउन चाहन्छौं ।"

दुवै देशबीच मित्रता कायम गरी अमनचयन र विकास देख्‍न चाहेको महासंघले विज्ञप्तीमा भनेको छ। विज्ञप्तीमा थप भनिएको छ, "कालापानी, लिम्पियाधुरा सीमा विवाद धेरै पहिला समाधान हुनुपर्ने किनकि सुगौली सन्धि सम्पन्न भएको पनि २०० वर्ष भन्दा धेरै भइसक्यो । जे होस अझैपनि दुई पक्षीय वार्ताबाट यो विवादलाई समाधान गर्न हाम्रो महासंघले सरकारसँग अनुरोध गर्दछ ।" उत्तरी छिमेकी राष्ट्र चीनले पनि नेपालको भूमि कब्जा गरेको भन्‍ने आएकोले चीनसँग पनि यो विषयलाई उठाएर हाम्रो धर्ती नेपाललाई हस्तान्तरण गर्ने वातावरण दुई पक्षीय वार्ताबाटै बनाउन आवश्यक भएको महासंघले जनाएको छ । 

भत्ता काटिएकोमा आपत्ति
भारतीय र ब्रिटीश भूपू सैनिकहरुलाई लक्षित गरी तिनीहरुलाई सामाजिक सुरक्षाबाट वञ्चित गरिएकोमा महासंघले घोर आपत्ती जनाएको छ। महासंघले सरकार आफैले भन्ने गरेको समृद्ध नेपाल सुखी नेपालीको ठिक विपरीत दिशातिर लागेको र न्यून आय आर्जन हुनेको स्तर उन्नति हुने खाले कुनै योजना नल्याएको आरोप लगाएको छ । विज्ञप्तीमा जनप्रतिनिधि र तीनै तहका पदाधिकारीहरुको सेवा सुविधा घुमाउरो पाराले वृद्धि गरी गरिब जनताको घाँटी रेटेको सरकारले दलाल र भ्रष्ट प्रवृत्तिमा अंकुश नलगाए महासंघ मुकदर्शक बनेर नबस्‍ने चेतावनी दिइएको छ। सरकारलाई आफ्नो निर्णयमा पुन: विचार गरि यथास्थितिमै सामाजिक सुरक्षा भत्ताको नीति कायम राख्‍न महासंघले अनुरोध गरेको छ। 

आफूहरुको मागको सुनुवाई नभए पूर्व सैनिकहरु सडकमा देखिने अवस्था श्रृजना हुने चेतावनीसमेत महासंघले दिएको छ । विज्ञप्तिमा भनिएको छ, "हामी पूर्व सैनिकहरुलाई सरकारले निवृत्तभरण दिन परेको छैन । त्यो जुन देशको सेवा गर्‍यो त्यहि देशले दिरहेको छ । हाम्रो निवृत्तभरणमार्फत देशमा एक दिनमा करिब २० करोडको रकम भित्रिएको छ । सेवाको समयमा हाम्रो बेतन पनि देशमा भित्रिने गर्‍यो   हामीले विदेशको सेवा गरेपनि आफ्नो देशको अर्थव्यवस्थामा बल पुऱ्याउने योगदान गर्दै आइरहेको  छौं । आज देशले वृद्ध अवस्थामा पाउने सामाजिक सुरक्षा भत्ता जो कि निम्‍न मात्र छ, बाट हामीलाई वन्चित गराउँदा हामीले सामाजिक भत्ता भन्दा पनि सामाजिक सम्मानबाट नै वञ्चित भएको महसुस गरिरहेका छौं ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ