arrow

४१ घटनामा १६ जनाको मृत्यु

logo
प्रकाशित २०७७ साउन ९ शुक्रबार
dead2.jpg


गोदावरी । सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपद्बाट पछिल्लो एक महिनामा १६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयमा रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो एक महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो, चट्याङ, सर्पदंशलगायतका ४१ घटनामा १६ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिमका नौमध्ये सात जिल्लामा भएका विपद्का ४१ घटनामा १६ को मृत्यु भएको छ भने १८ घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार यो हप्ताको मङ्गलबार दार्चुलामा विपद्का घटनामा थप दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

सुदूरपश्चिममा पछिल्लो एक महिनाको अवधिमा पहिराबाट सबैभन्दा बढी जनधनको क्षति भएको जनाइएको छ । यो अवधिमा सुदूरपश्चिम प्रदेशमा भएका पहिराका २५ घटनामा ११ को मृत्यु भएको छ । पहिराका कारण एक अझै बेपत्ता रहेका छन् भने आठ घाइते भएका छन् ।

प्रदेशमा बाढीका छ घटनामा धनमालको निकै क्षति हुनुका साथै ६७ परिवार विस्थापित भएका छन् । बाढीबाट अहिलेसम्म मानवीय क्षति भने भएको छैन । विपद्का घटनमा सबैभन्दा बढी मानवीय क्षति बझाङमा भएको छ । पछिल्लो एक महिनाको अवधिमा बझाङमा पहिरो र बाढीका कारण सात जनाको मृत्यु भइसकेको छ ।

विपद्बाट बझाङमा तीन पुरुष र चार महिलासहित सातको मृत्यु भएको छ । पहिराका कारण एक अझै बेपत्ता छन् । पहिराबाट एक घाइते भएका छन् । बाढी तथा पहिराबाट ३४ परिवार विस्थापित भएका छन् भने १७ घरमा पूर्ण क्षति पुगेको जनाइएको छ ।

केन्द्रका अनुसार बाढी, पहिरो, चट्याङ, सर्पदंशलगायतका विपद्का सबैभन्दा बढी घटना दार्चुलामा भएका छन् । पछिल्लो एक महिनाको अवधिमा दार्चुलामा विपद्का विभिन्न १० घटना भएका छन् । ती घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको छ भने दुई पुरुष र तीन महिला गरी पाँच घाइते भएका छन । बाढी र पहिरोका घटनामा दार्चुलामा छ घरमा पूर्णरूपमा क्षति पुगेको छ भने दुई घरमा आंशिक क्षति पुगेको छ । बाढी तथा पहिरोबाट दार्चुलामा नौ परिवार विस्थापित भएका छन् ।

बाजुरामा विपद्का आठ घटनामा एक महिला र एक पुरुष गरी दुईको मृत्यु भएको छ । बाढी तथा पहिराबाट बाजुरामा २० परिवार प्रभावित भएको जनाइएको छ । पछिल्लो एक महिनामा डोटीमा आठ विपद्का घटना भएका छन् । बैतडीमा तीन, कञ्चनपुरमा दुई र कैलालीमा दुई विपद्का घटना भए पनि मानवीय क्षति भने भएको छैन । कैलालीमा बाढीबाट १४ घरपरिवार र कञ्चनपुरमा दुई घर प्रभावित भएको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ