- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। 'इनफ इज इनफ' अभियानका ५० जना अभियन्ताले अर्थमन्त्री तथा सचिव विरुद्ध आइतवार अख्तियारमा उजूरी दर्ता गरेका छन् । कोभिड १९ को महामारीबाट नागरिकहरूलाई जोगाउन ठूलो बजेट खर्च गरिए पनि त्यसको अनुगमन नगरि सो कार्यले भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम सो विषय आयोगको क्षेत्राधिकारभित्र पर्ने भएकाले निजहरू माथि अनुसन्धान गरी कारवाही गर्न अभियानकर्मीहरुले उजूरीमा आग्रह गरेका छन् ।
अभियानकर्मीहरूले अर्थ मन्त्रालयमा कोभिड-१९ महामारी व्यवस्थापन, नियन्त्रण तथा रोकथामको लागि उक्त मन्त्रालयले संघीय सरकारका अन्य मन्त्रालय तथा त्यस मातहतका निकायहरू तथा प्रदेश तथा स्थानीय तहका सरकारहरूलाई विभिन्न शीर्षकमा आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा प्रदान गरेका खर्च अख्तियारी/हस्तान्तरण तथा गत आर्थिक वर्षमा ती शीर्षकहरूमा भएको वास्तविक खर्चको विवरण माग गर्दै सूचनाको हकको निवेदन समेत दर्ता गराएका छन् ।
इनफ इज इनफका अभियन्ताहरूसँग सरकारले १२ बुँदे सम्झौता गरेर पनि माग पूरा नगरेकोमा असहमति स्वरुप अभियन्ता ई:,समाइरा श्रेष्ठ र करण गुरुङले वसन्तपुर दरबार क्षेत्रमा २०७७ श्रावण ३ गतेबाट सुरु गरेको सत्याग्रहको आज नवौं दिन भैसकेको अभियन्ता पुकार बमले जनाएका छन् । बम यसअघी ईः सँगै १२ दिनसम्म अनशनमा बसेका थिए।
सरकारले गरेका सम्झौताहरूको पालना गर्न तथा सत्याग्रहीहरूको जीवन रक्षाको लागि सरकारलाई घच्घच्याउन अभियानकर्मीहरुले आम जनसमुदायसँग आग्रह गरेका छन् ।