arrow

लकडाउन हटेपछि मनिसहरुको भिडभाड, कर्मचारीमा कोरोना !

logo
प्रकाशित २०७७ साउन १३ मंगलबार
covid-test-corona.jpg

नेपालगञ्ज । बाँकेमा क्वारेन्टिइन बसेकाको सङ्ख्या घटेसँगै स्वास्थ्य कार्यालयले समुदायस्तरमा कोभिड–१९ को परीक्षणको दायरा बढाएको छ । स्वास्थ्य कार्यालयले कोरोनाको संक्रमणबाट बढी जोखिममा पर्न सक्ने कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार, मजदूरहरुको परीक्षण गर्न थालेको छ । 

यसरी परीक्षण गर्दा समुदायस्तरमा कोरोना संक्रमण देखिएको पनि छ । दुई दिनअघि नेपालगञ्जको समुदायस्तर र सरकारी तथा गैरसरकारी कार्यालयमा गरिएको परीक्षणमा कर कार्यालय र यातायात व्यवस्था कार्यालयका तीन कर्मचारी, एक मजदूर र एक मिठाइ पसलेमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

“समुदायस्तरमा र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्लामा थप कडाइ गर्न सकिने अवस्था पनि आउन सक्छ” प्रमुख जिल्ला अधिकारी रामबहादुर करुम्बाङले भने । 

लकडाउन हटेसँगै बाँकेमा बजार, यातायात, उद्योग कलकारखाना, सरकारी तथा गैरसरकारी कार्यालय अहिले पूर्णरुपमा खुलेका छन् । सार्वजनिक ठाउँमा मनिसहरुको भिडभाड बढेको छ । यसका कारण कर्मचारी र समुदायस्तरमा कोरोनाको जोखिम बढेको हो । कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार, यहाँस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा सोमबार कर कार्यालय नेपालगञ्जमा कार्यरत २९ वर्षीय एक सुब्बामा पनि कोरोना पुष्टि भएपछि जिल्लाका कर्मचारी क्षेत्रमा जोखिमको अवस्था बढेको छ । 

शनिबार मात्र कर कार्यालयका एक अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको थियो भने आइतबार नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयका एक कर्मचारीमा पनि कोरोना देखिएको थियो । अहिले यी दुवै कार्यालयका सबै कर्मचारीलाई होम क्वारेन्टिनमा राखिएको छ भने कार्यालय बन्द गरिएको छ । सोमबार संक्रमण पुष्टि भएका कर कार्यालयका सुब्बा प्यूठान मल्लरानीका स्थायी बासिन्दा हुन् ।
    
पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेपछि स्वास्थ्य कार्यालयले रणनीतिक योजनासहित परीक्षण प्रणालीलाई थप फराकिलो बनाएको स्रोत व्यक्ति श्रेष्ठले बताए । बाँकेमा अहिलेसम्म एक हजार ७०० पिसिआर परीक्षण गरिएकामा ४०४ जनामा कोरोना पोजेटिभ देखिएको छ । तीमध्ये दुई जनाको मृत्य भएको छ भने ३७२ जना उपचारपछि निको भएर घर फर्केका छन् । जिल्लाका विभिन्न क्वारेन्टिनमा अहिले ३० जनाको उपचार भइरहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ