arrow

सयबढी सडक बाढीपहिराबाट अवरुद्ध : कुनकुन छैन खुलेको ?

logo
सञ्चिता घिमिरे,
प्रकाशित २०७७ साउन १३ मंगलबार
tinker-road.jpg

काठमाडौं । अविरल वर्षासहित बाढीपहिराका कारण अवरुद्ध भएका कतिपय सडक दुई सातासम्म पनि सञ्चालनमा आउन सकेका छैनन् । विभिन्न स्थानमा सडक र पुल नै बगाएका कारण तत्काल सञ्चालनमा आउन नसकेको हो । 

अरनिको राजमार्गअन्तर्गत जम्बु सडक गत असार २५ देखि अवरुद्ध छ । सो राजमार्गका झण्डै १६ स्थानमा पहिरो गए पनि अहिले हटाइसकिएको छ । जम्बुमा ५० मिटर सडक नै बगाएको छ । 

सो स्थानमा तत्काल आवगमन सञ्चालन गर्न सकिने अवस्था भई नसकेको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले जानकारी दिए । डिभिजन सडक कार्यालय दोलखाले अहिले त्यहाँ तलबाट पर्खाल लगाएर सडक सञ्चालन गर्न सकिन्छ कि भनी प्रयास गरिरहेको छ । उनले भने, “सकेसम्म चाँडो सडक चलाउन प्रयास भइरहेको छ ।”

अरनिको राजमार्गमा अहिले पनि विभिन्न स्थानमा रहेका अवरोध पूर्णरुपमा हटिसकेको छैन । कोठे, लामोसाँघु बाह्बिसे, खुर्सानी बारी, सिरेशे, खग्दोल, चाकु, डाकलाङ्ग, कोप्लुङ्ग, घट्टेखोलागायतका स्थानमा सडक पहिरोका कारण अपरुद्ध रहेकामा हाल एकातर्फबाट सञ्चालन भएको छ । पहिलोपटक असार २५ गते अवरुद्ध भएको सडक हटाउने काम भइरहेपनि समय समयमा पहिरो गइरहेका कारण अवरुद्ध भइरहेको हो । झ्यालेमा पुल नै बगाएको छ । पुल वा सडक नै बगाएका स्थानमा बाहेक अरु स्थानमा पहिरो पन्छाएर सडकको अवरोध हटाउने काम भइरहेको उपमहानिर्देशक अधिकारीले बताए ।

पुल बगाएका र नदीले सडक नै कटान गरेका स्थानमा वर्षा र नदीको बहाव कम नहुँदासम्म सडक सञ्चालन गर्न नसकिने विभागले बताउँदै आएको छ । उनले भने, “हामीले सम्भव भएका स्थानमा दुई तर्फी नै र नभएका स्थानमा एकातर्फी सडक पुनः सञ्चालन गरेका छौँ ।” यस वर्ष वर्षाका कारण सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा असर पुगेको छ । तीमध्ये चार राजमार्गमा बढी क्षति पुगेको छ । 

वर्षा शुरु भएपछि यी सबै राजमार्गमा गरी सयभन्दा बढी सडक बाढीपहिराका कारण अवरुद्ध भएकामा अहिलेसम्म कतिपय स्थानमा खुल्न सकेको छैन । यसअघि अवरुद्ध रहेका नारायणगढ–मुग्लिन सडक र महेन्द्र राजमार्गको नारायणगढ–बुटवल सडकमा पहिरो हटाएपछि हाल सञ्चालनमा रहेको छ । 

अरनिको राजमार्गसँगै बेनी–जोमसोम, साँफेबगर–मार्तडी, गल्छी–त्रिशूलीको तल्लो सडक र महाकाली राजमार्ग पनि अहिले अवरुद्ध छन् । अहिले पनि अवरुद्ध रहेका राजमार्गमा अवरोध खुलाउनका लागि सम्बन्धित सडक डिभिजन कार्यालय लागिपरेका छन् । कतिपय स्थानमा पुल नै बगाउँदा पनि सडक अवरुद्ध भएको छ । बेनी–जोमसोम सडक र साफेँबगर–मार्तडी सडकमा पनि पुल बगाएको छ । सडक र पुल बगाएका स्थानमा पानी कम नहुँदासम्म सञ्चालन गर्न नसकिने हुनसक्छ । 

बेनी–जोमसोम कोरोला सडकमा म्याग्दीको दाना र गलेश्वर, काभ्रेभीर, घोप्टे भीरलगायतका स्थानमा सडक अवरुद्ध छ । सडकमाथिबाट आएको पहिरोले सडक अवरुद्ध गरेको र नदीले बेलिब्रिज बगाएको कारण सो सडक अवरुद्ध रहेको हो । सडक खुलाउनका लागि सो सडक योजना कार्यालयले काम गरिरहेको छ । 

त्यस्तै, साँफेबगर–मार्तडी सडकअन्तर्गत अम्कोट द्वावारी, बल्दे खण्ड, अम्कोट, ताप्रीसेरा घट्टेखोला सडक साउन ४ देखि अवरुद्ध छ । कतिपय खण्ड गत असार २५ देखि अवरुद्ध रहेकामा अझै खुलिसकेको छैन । बूढिगङ्गा नदीको बहावले झण्डै ५०० मिटर सडक क्षतिग्रस्त हुँदा सो सडक अवरुद्ध भएको हो । 

महाकाली राजमार्गको सतबाँझ दार्चुला सडक ६ गतेदेखि अवरुद्ध छ । भारी वर्षाका कारण सडक अवरुद्ध भएको हो । डुम्रे–बेँसीशहर चामे सडक योजनाअन्तर्गत विभिन्न स्थानका सडक अवरुद्ध रहेका छन् । कान्ति राजपथका विभिन्न स्थानमा सडक अवरुद्ध भइरहे पनि योजना कार्यालयले हटाउने काम गरिरहेको छ । 

विभागअन्तर्गत देशभरमा ३३ सडक डिभिजन कार्यालयले वर्षा हुनुभन्दा पहिलेदेखि नै बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा खुलाउन आवश्यक तयारी गरेका थिए । विभाग अन्तर्गत विभिन्न स्थानमा रहेका डिभिजनले राष्ट्रिय राजमार्ग खुलाउने गरेका छन् । प्रदेश राजमार्ग र स्थानीय सडक सम्बन्धित निकायले खुलाइरहेको उपमहानिर्देशक अधिकारीले जानकारी दिए । 

विभागले वर्षा शुरु हुनुपहिले नै १८० स्थानलाई सम्भावित जोखिमको सडकका रूपमा निर्धारण गरेको थियो । ती स्थानमा पहिले नै उपकरण राखिएको र आवश्यक पर्दा प्रयोग भइरहेको विभागले जनाएको छ । उपमहानिर्देशक अधिकारीले भने, “नियमित वर्षा भइरहँदा काम गर्न नसकिए पनि पानी बन्द हुनासाथ पहिरो हटाएर सडक खुलाइन्छ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ