arrow

बालविवाह गर्ने फेरियो शैली

logo
रमेशकुमार वली
प्रकाशित २०७७ साउन १६ शुक्रबार
Child-marriage.jpeg

सल्यान । सल्यानमा प्रहरीले बालविवाह न्यूनीकरण गर्नका लागि अभियान शुरु गरेपछि बालविवाह गर्नेले विवाहको शैली नै परिवर्तन गर्न थालेका छन् । केटा पक्षका परिवारले पक्राउ पर्ने डरले दुलाहादुलहीलाई विवाहको धार्मिक कार्यबिना नै भित्र्याउन थालेका छन्  ।

यही साउन १२ गतेका दिन बालविवाह गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेपछि पक्राउ पर्ने डरले धार्मिक कार्यबिना नै विवाह गरेको रहस्य खुलेको हो । गएको माघ १ गतेका दिन बनगाड कुपिण्डे नगरपालिका–१२ कि १९ वर्षीया पुष्पा खड्का र कपुरकोट गाउँपालिका–५ रिम निवासी १७ वर्षीय सोवाराम रोकाबीच फरक शैलीमा विवाह भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । 

बालविवाह नै हो भन्ने थाहा पाएका सोवाराम रोकाका आमाबुबाले धार्मिक कार्य नै नगरी घरमा बालिकालाई बुहारीका रुपमा भित्र्याएको बताएका छन् । गाउँघरमा सबैलाई खबर गरेपछि बालविवाह भएको थाहा हुने र प्रहरीले पक्राउ गर्ने डरले नै धार्मिक विधिअनुसार विवाह नगरेको हुनसक्ने प्रहरीको दाबी छ । विवाह गरेको चार महिनापछि गाडी रिजर्भ गरेर माइती जाने क्रममा अस्थायी प्रहरी पोष्ट रिमले सोधपुछ गर्दा बालविवाह गरेको खुलेपछि दुलाहाका बाबु दयाराम रोका र आमा केवली रोकासहित चार जनालाई पक्राउ गरेर बालविवाहसम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ । 

जिल्लामा प्रहरीले बालविवाह न्यूनीकरणका लागि अभियान तीव्र पारेपछि बालविवाहका घटना बाहिर नआउनुमा विवाहको शैलीसमेत फरक हुन थालेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । “हामीले स्थानीय तहसँग मिलेर बालविवाह न्यूनीकरणका लागि जिल्लाभरि अभियान नै सञ्चालन गरेका छौँ, तर अहिले प्रहरीले पक्राउ गर्ने डरले धार्मिक विधिअनुसार विवाह नगरेर फरक शैलीमा विवाह गर्ने गरेको सूचना प्राप्त हुन थालेको छ”, खतिवडाले भन्नुभयो ।

प्रहरीले बालविवाहमा संलग्नलाई मात्र हैन जिल्लामा हुने सबै प्रकारका विवाह हुनुभन्दा अगावै छापिने निमन्त्रणा कार्ड छाप्नुभन्दा पहिले नै अनिवार्यरुपमा जन्मदर्ताको प्रतिलिपी राखेर मात्रै छाप्ने गरी जिल्लामा रहेका छापाखानालाई लिखित कागज गराइसकेको छ । यतिमात्र हैन विवाह गराउन जाने पण्डित तथा ज्योतिषीलाई समेत विवाह हुनुपूर्व नै केटाकेटीको जन्मदर्ता ल्याएपछि मात्रै विवाह गराउने गरी जिल्ला प्रहरी कार्यालयमै लिखित सहीछाप गराइसकेको प्रहरीले जनाएको छ । 

अहिल समुदायस्तरबाट नै बालविवाह गरेको सूचना प्राप्त हुने भएकाले पनि भोजभतेर गरेर विवाह गर्न छोडेको प्रहरी नायब उपरीक्षक खतिवडाको भनाइ छ । “हामीले जिल्लाका करिब ४७ हजार घरधुरीमा महत्वपूर्ण टेलिफोनसहितका स्टिकर टाँसेका छौँ अहिले धेरैजसो अपराधका सूचना स्थानीय समुदायबाट नै आइरहेको छ बालविवाह हुन लागेको भए पनि हामीलाई तुरुन्तै सूचना आउँछ”, खतिवडाले भन्नुभयो ।

जिल्लामा बालविवाह न्यूनीकरणका लागि स्थानीय तहसमेत एकजुट भएकोले पनि न्यूनीकरण हुँदै गएको प्रहरीको भनाइ छ । बालविवाह गर्दा बालिकाको स्वास्थ्य अवस्था जोखिममा पर्ने मात्र हैन यसले जिल्लामा सम्बन्ध विच्छेदका घटनामा समेत वृद्धि गर्ने कारक तत्वका रुपमा हेरिएको छ । 

जिल्लाका १० वटै स्थानीय तहको दरिलो साथ पाएको प्रहरीले जिल्लामा हुने बालविवाहलगायतका अन्य आपराधिक घटनामा समेत उल्लेखनीय सफलता हासिल गरेको छ । प्रहरीले एक हप्ताको अवधिमा जिल्ला अदालत सल्यानबाट कैद सजाय सुनाइएका र अदालतको सम्पर्कमा नआएका ५५ जनालाई पक्राउ गरी अदालतमा बुझाएको छ । यसमध्ये १६ जना कैद भुक्तानका लागि कारागार चलान भएका छन् भने ३७ जनालाई जरिवाना बुझाएर तारेखमा छोडिएको जिल्ला अदालत सल्यानले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ