arrow

प्रधानन्यायाधीश र केही न्यायाधीशको निष्ठामाथि प्रश्न, कर्तव्य निभाउन जिम्मेवार निकायलाई आग्रह

logo
प्रकाशित २०७७ साउन १८ आइतबार
supreme-court-chief-justice.jpg

काठमाडौं । श्रीमतीका हत्यारा सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जनप्रसाद कोइरालालाई छुटाउने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र सवारी ज्यान मुद्दामा मातहतको अदालतको थुनछेक आदेशबाट थुनामा रहेका पृथ्वी मल्ललाई छाड्न न्यायाधीश सपना प्रधान मल्लले गरेको आदेशको चर्को विरोध भइरहेको छ । 

उक्त क्रममा पूर्व न्यायाधीश फोरम नेपालले प्रेस विज्ञप्ति जारी गर्दै यी दुई घटनामा न्यायालयले गरेको गलत निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

आदेशको राजनीतिक दलका नेताहरु, कानुन व्यवसायीहरु, संचार जगत् एवं आम नेपालीबाट तीव्र आलोचना तथा सडक प्रदर्शन भएको भन्दै फोरमले सम्बन्धित जिम्मेवार संवैधानिक निकायलाई आफ्नो संवैधानिक कर्तव्य निर्वाह गर्न आग्रह गरेको हो । 

फोरमले अदालत र न्यायाधीशको मान सम्मान र मर्यादाको मुल्यांकनको आधार अदालतप्रतिको जनआस्था हो भन्दै यो जनआस्था अभिवृद्धिले मात्र न्यायपालिकाको विश्वसनीयता बढ्ने उल्लेख गरेको छ । 

फोरमले सचेत गराउँदै भनेको छ, ‘तर न्यायको उच्च आशनमा बस्ने व्यक्तिहरुको कारण न्यायका याचकले न्याय पाउन नसकेको अनुभूति गर्नुपर्यो भने यसबाट न्यायालय प्रतिको श्रद्धा र विश्वास मात्र घट्दैन सम्पूर्ण न्यायकर्मीहरुको शिर निहुरिन्छ ।’

फोरमले अगाडि भनेको छ, ‘प्रधानन्यायाधीशको कार्यक्षमता, संस्थाप्रतिको निष्ठा, इमानदारिता र न्याय सम्पादनको पृष्ठभूमिको आधारमा सिङ्गो न्यायपालिकाको मूल्यांकन हुने गर्दछ । तर अहिले न्यायपालिकाको समग्र नेतृत्व गर्ने प्रधानन्यायाधीश र सर्वोच्च अदालतको केही न्यायाधीशहरुको कार्यक्षमता र निष्ठा उपर नै प्रश्न उठेकाले न्यायपालिकाको विश्वसनियता जोगाउन वैधानिक प्रक्रियाद्धारा समस्याको सम्वोधन गर्न जिम्मेवार संवैधानिक नियकाले आफ्नो संवैधानिक कर्तव्य निर्वाह गर्नका लागि ध्यानाकर्षण गराएका छौं ।’

पूर्व न्यायाधीश फोरमले रञ्जन कोइरालाको मुद्दामा पुनरावलोकनको अनुपति प्रदान भैसकेको परिप्रेक्ष्यमा ढिला नगरी सिघ्र सुनुवाईको अपेक्षासमेत गरिएको जनाएको छ । 

फोरमले न्यायिक विवेकको प्रयोग न्यायिक आत्मसंयमताका साथ न्यायको मर्म र भावना अनुरुप न्यायसम्मत तरिकाबाट हुनुपर्नेमा समेत जोड दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ