arrow

२६ दिनपछि खुल्यो अरनिको राजमार्ग

logo
प्रकाशित २०७७ साउन १८ आइतबार
araniko_rajmarga.JPG

चौतारा । अविरल वर्षाले गत असार २४ गते राति आएको बाढीपहिराले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रबीसे–तातोपानी सडकखण्डमा यातायात सञ्चालन भएको छ ।  छब्बीस दिनदेखि अवरुद्ध सडक व्यवसायी, स्थानीय निकाय, विद्युत् आयोजना तथा सडक डिभिजन कार्यालयको संयुक्त पहलमा मर्मत भएपछि यातायात सञ्चालन भएको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख डिई विजयकुमार महतोले जानकारी दिए ।

क्षतिग्रस्त सडक खुलाउन सडक विभागले खासै तदारुकता नदेखाएपछि मितेरी पुलदेखि भोटेकोशी गाउँपालिका बुलकोटेसम्म व्यावसायीको पहलमा सडक मर्मत गरिएको नेपाल ट्रक कन्टेनर व्यवसायी सङ्घका अध्यक्ष अर्जुन सापकोटाले बताए । 
    
खासाबाट सामान राखेका २०० मालवाहक कन्टेनर चार सातादेखि तातोपानी भन्सार यार्डमा थन्किएको थियो । त्यस्तै राजधानी छुटेका मालवाहक कन्टेनर एक सातादेखि जम्बुमा अलपत्र परेको अध्यक्ष सापकोटाले बताए । दर्जनांै कन्टेनरमा राखिएका स्याउ बाटामै कुहिन थालेको छ भने कपडालगायत सामान समयमै गन्तव्यमा पुर्‍याउन नसकेपछि करोडांैको नोक्सानी व्यहोर्नुपरेको व्यवसायीले गुनासो गरेका छन् । 

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाअन्तर्गत अरनिको राजमार्गको कोठेदेखि तातोपानीको लिपिङसम्मको ३९ किलोमिटर खण्डको दर्जनांै स्थानमा सडक क्षतविक्षत भएको थियो । बाह्रबीसेको खागदल र भोटेकोशी गाउँपालिका–५ बुलकोटेको पक्की पुल बगाएपछि खागदलमा डाइभर्सन गरिएको छ भने जम्बु र बुलकोटेमा ह्युमपाइप राखी अस्थायी रुपमा सडक सञ्चालन गरिएको छ । 

मनसुन सक्रिय रहेकाले लगातार पानी पर्नेक्रम नरोकिएको हुँदा कटान भएको सडकमा भोटेकोशी नदीमा पानीको सतह घटेपछि मात्र पक्की रुपमा सडक निर्माण गर्न सकिने महतोले बताए । पहिराले क्षति पुगेको सडकमाथिबाट दैनिकजसो लेदो माटो खस्ने क्रम नरोकिएको हुँदा पहिरो पन्छाई यातायात चलाउन २४ सै घण्टा स्काभेटर तयारी हालतमा राखिएको डिभिजन सडक कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ